‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्ध विच्छेद

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा वर्षेनी सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्धा र फैसलाको तथ्यांक अनुसार सम्बन्ध विच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ ।

२०७४ सालमा नयाँ मुलुकी संहिता लागु भए पछि सम्बन्ध विच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुष मध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्ध विच्छेद मुद्धा दर्ता गर्न सक्ने व्यवस्था छ । यसै कारण पनि महिला र पुरुष दुबैले सम्बन्ध विच्छेद गर्ने क्रम बढेको अदालतले जनाएको छ ।

जिल्ला अदालत बागलुङमा चालु आर्थिक वर्ष २०७७/०७८ को ७ महिना सम्म १ सय १६ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । कोरोना भयावहका कारण लामो समय अदालती सेवा बन्द हुँदाका बाबजुद पनि यसवर्ष १ सय १६ सम्बन्ध विच्छेदका मुद्धा परेको उहाँको भनाई छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्ध विच्छेदका १ सय ८६ मुद्धा दर्ता भएका थिए । जस मध्ये यो आर्थिक वर्षमा गत वर्ष सरी आएकोे महिलाबाट दर्ता भएका ३२ र पुरुषबाट दर्ता भएका ४० गरी ७६ सम्बन्ध विच्छेदका घटना मध्ये पुरुषद्वारा दर्ता गरिएका २२ र महिलाबाट दर्ता गरिएका १८ गरी ४० मुद्धा फछ्यौट गरिएको छ । ४० सम्बन्ध विच्छेदका घटनामा अझै फैसला हुन बाँकी छ ।

यो आर्थिक वर्षको फागुन १८ गते सम्म दर्ता भएका सम्बन्ध विच्छेदका १ सय १६ मुद्दा मध्ये महिलाबाट ९४ मुद्दा दर्ता भएका छन् भने पुरुषबाट २२ मुद्दा दर्ता भएका छन् । जसमध्ये महिलाले दर्ता गरेका ६८ मुद्दामा मिलापत्र गरिएको छ भने पुरुषले दर्ता गरेका ८ मुद्दामा मिलापत्र गरिएको छ भने ४० मुद्धा फैसला हुन बाँकी रहेको श्रेस्तेदार भण्डारीको भनाई छ ।

पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्ध विच्छेदका घटना बढ्दै जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभयो ।

‘युवाहरु विवाह गरेर विदेश जान्छन्, श्रीमतीलाई बजारमा बसाउने प्रचलन बढ्दो छ, उनीहरुले शहरमा विलासी जीवन बिताउन चाहन्छन्,सामाजिक सञ्जालका कारण श्रीमान श्रीमतीमा आशंका पैदा हुन्छ, चरित्रको आरोप लाग्छ’ न्यायाधीश न्यौपानेले भन्नुभयो ‘यसरी सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्नेमा महिला मात्रै हुन्थे, अहिले नयाँ व्यवस्था अनुसार पुरुष पनि आएका छन्, यसमा चारित्रिक विषयका साथै रेमिट्यान्सको विषय मुख्य देखिन्छ, विदेशबाट पठाएको पैसा कहाँ गयो ? भनेर सोधखोज गर्दा धेरै जोडीमा विवाद बढेर सम्बन्ध विच्छेदमा पुगेको पाएका छौ ।’ उहाँले विवाह भनेको आपसी बुझाई र सहमति सहितको सम्बन्ध भएकाले पुरुष र महिला दुवै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

यस्तो छ अदालतमा अन्य मुद्धा
जिल्ला अदालतले गरेका काम र उपलब्धीका विषयमा बुधवार पत्रकारसँग अर्धवार्षिक प्रगति समिक्षा गरेको छ ।

अदालत भवनकै हलमा भएको कार्यक्रममा अदालतमा दायर भएका बिभिन्न मुद्धा, फैसला कार्यान्वयनको समग्र विवरण लगायतका विषयमा जानकारी दिइएको थियो ।

चालु आर्थिक वर्षको हालसम्म जिल्ला अदालत बागलुङमा ज्यान मुद्धा सम्बन्धी ८, बहुविवाह ५, जवरजस्ती करणी सम्बन्धी १७, लागु औषध सम्बन्धी ५, चोरी सम्बन्धी ९, आत्महत्या दुरुत्साहन सम्बन्धी २, बाल यौन दुरुपयोग सम्बन्धी २, अपहरण हरीर बन्धक सम्बन्धी २, पशुपंक्षीको कसुर ६, बोक्सी आरोप सम्बन्धी १, विवाह बदर १, बालविवाह १, संगठित ठगी १, हातहतियार सम्बन्धी १०, करारको यथावत परिपालन १, झुठो विवरण पेश गरी नागरिकता लिएको १ र घरेलु हिंसा सम्बन्धी ८ मुद्धा परेको जिल्ला अदालत बागलुङले जनाएको छ ।

यस्ताखाले मुद्दामा जिम्मेवारी सरी आएका ३०३ बाट १२४ फैसला भई १७९ मुद्दा फैसला हुन बाँकी रहेको छ । यो आर्थिक वर्षमा नयाँ दर्ता भएका २९० दर्ता भएका मुद्दाबाट ९७ फैसला भई १९४ बाँकी रहेको छ । अहिले सम्म रहेका ५९३ मुद्दामा २२१ मुद्धा फैसला भएका छन् भने ३७२ मुद्दा बाँकी रहेका छन् ।

२०७४ भदौं १ गतेदेखि मुलकी ऐन २०२० विस्थापित भई नयाँ मुलुकी संहिता (देवानी, फौजदारी) लागु भएको थियो । पहिलो मुलुकी ऐन जारी भएको १ सय ६४ वर्ष पछि नयाँ मुलुकी ऐन आएको हो ।

नयाँ मुलुकी ऐनमा पुरुषलेपनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सक्ने, बैबाहिक बलात्कार मुद्धा लाग्ने भएका छन् । मुलुकी देवानी संहिता ऐन २०७४ को परिछेद ऐन २०७४ को परिछेद ३ दफा ९४ को अवस्था दफा ९६ बमोजिम पुरुष अदालतमा पुगेर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने भनी उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *