जागरण यात्रा १५ औं वर्षमा समय सापेक्ष सञ्चारः आदर्शको अभिभारा

सम्पादकीय
जागरण एक सूचना वाहक, जागरण एक अभियान, जागरण एक आन्दोलन, जागरण एक संवाहक, जागरण एक खोज, जागरण एक खबरदारी । ‘जागरण’ आफैमा गहन अर्थ र महत्व बोक्ने शव्द हो । यही शव्द मार्फत आदर्श सञ्चार सहकारी संस्थाले आज भन्दा १५ वर्ष अघि धौलागिरीको छापा पत्रकारितामा पृथक सोच, सामाजिक उत्तरदायित्व सहित यात्रा आरम्भ ग¥यो । २०६३ फागुन २० गते नमुना अंक प्रकाशित गरी २३ गते विधिवत रुपमा पहिलो अंक अर्धसाप्ताहिक रुपमा प्रकाशन गरिएको धौलागिरी जागरण २०६५ जेठ १ गते यता निरन्तर दैनिक रुपमा प्रकाशित छ ।

यो प्रकाशन गर्दाका आदर्शका मुख्यतः दुई वटा सुरुवाति सञ्चार आयाम र अभ्यास थिए । एक त पत्रिका मार्फत भिन्न शैली र स्वादमा समाचार दिने । अर्को महत्वपूर्ण विषय कुनै व्यक्ति विशेषमा मात्र निहित नभई संस्थागत रुपमा त्यो पनि धौलागिरीमै पहिलो पटक सञ्चार सहकारीको अवधारणामा पत्रिका प्रकाशन गर्ने । ‘आजको समाचार आजै’ भन्ने उद्घोष सहित सुरुवात भएको धौलागिरी जागरण समयक्रमसंगै बदलिएका पाठकका चाहना, भावना र आवश्यकता अनुसार आफ्नो भूमिकालाई बदल्दै आएको छ । सुरुवातमा प्रकाशन आरम्भ गर्दा नै यसको निरन्तरतामा प्रश्न उठाएर आयु मापन र संशय व्यक्त गर्नेहरुको जमात ठूलै थियो । तर, आज निरन्तर प्रकाशनका १४ वर्ष पुरा भएको छ । त्यो सुरुवाती र लामो समयको संशयलाई आदर्शको कर्मले गलत सावित मात्रै गरेको छैन, भोलीको भविष्य समेत भरोसा योग्य बनाउने सुनिश्चितता गरेको छ ।

समयको अनुक्रमसँगै धौलागिरी जागरण दैनिक आफ्नो समय सापेक्ष भूमिकाबाट कत्ति बिचलित भएन । आफ्ना पाठकलाई सही समयमा सही सूचना र नागरिकको हक अधिकारका लागि पत्रकारिता मार्फत अविछिन्न लागिरह्यो । यसक्रममा आदर्श सञ्चार सहकारीले धौलागिरी जागरण दैनिक मात्रै होइन, सह–प्रकाशनका रुपमा अग्रसर साप्ताहिक, समन्वयी सञ्चार माध्यमका रुपमा धौलागिरी टेलिभिजन र डिजिटल सञ्चार माध्यमका रुपमा पछिल्लो समय लोकप्रियता हासिल गरिरहेको अनलाइनमा आदर्श सञ्चार डट कम सञ्चालित छ । आजको दिनसम्म आइपुग्न धौलागिरी जागरण दैनिकले कैयन अप्ठ्यारा जंघार पार गर्नु परेको छ । सत्य पस्कदा कैयन धाक, धम्की, रवाफहरुको सामना गर्नुपरेको छ । तर, हामी हाम्रा प्रिय पाठक र आम नागरिक प्रतिको सामाजिक उत्तरदायित्व बहन गर्ने भूमिकाबाट कहिल्यै पनि च्यूत भएनौ । समस्या, कठिनाइ, जटिलताहरुलाई अवसरमा अनुवाद गर्दै अघि बढिरह्यौ । अनेकन वाद विवाद, आरोप प्रत्यारोपका घटना र विषयमा पनि पत्रकारिताको सत्य, तथ्य, सन्तुलित भावना, मर्म, मूल्य मान्यतालाई कत्ति मर्न दिएनौ । र त आज एक सञ्चारको सारथीको रुपमा स्थापित छ धौलागिरी जागरण दैनिक र आदर्श सञ्चार ।

धौलागिरी जागरण दैनिक आज जुन परिचय, आयाम, विश्वास र भरोसामा स्थापित छ–यसमा प्रकाशक संस्था आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक, कर्मचारी, आवद्ध शेयर सदस्य, समाचार शाखामा कार्यरत पत्रकार सञ्चारकर्मी, शुभेच्छुकको अभूतपूर्व साथ स्मरणीय छ । जागरणको गर्विलो विगतका जगमा भोलीका दिनमा पनि यो क्षेत्रको सवल र सक्षम सञ्चार गृहका रुपमा आदर्श सञ्चारलाई स्थापित गराउने र धौलागिरी जागरण दैनिकलाई त्यसको मूल आधार बनाएर सञ्चार माध्यम मार्फत समाज रुपान्तरणमा योगदान गर्ने मूल कर्ममा हामी निरन्तर प्रतिवद्ध छौ र रहनेछौ ।

अहिले व्यवस्था मात्र होइन, समय परिवेश पनि बदलिएको छ । व्यवस्था बदलिए पनि अवस्था, पात्र र प्रवृत्तिमा देशमा अपेक्षाकृत परिवर्तन आउन सकेको छैन । जागरणको शुभारम्भमा संविधानसभाको निर्वाचन प्राथकितामा थियो, त्यसपछि संविधान निर्माण यसको मुल ध्येय थियो । २०७० मा दोस्रो पटक संविधानसभाको निर्वाचन मार्फत संविधान जारी भएपछि मुलुकको ध्यान समृद्धितर्फ अगाडि बढ्यो । त्यसपछि नयाँ संघीय अभ्यास आरम्भ भयो । जागरणले संघीयताको सफल कार्यान्वयनका लागि बल पुग्ने र यसका खिलापका कदममा रखबारी गरिरह्यो । पछिल्लो समय कोरोना कहर पछि थिलथिलो बनेको मानिसहरुको दैनिकी,अर्थतन्त्र, भविष्यमा केन्द्रित छ । सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यमा जागरणको भूमिका केन्द्रित छ । जागरणको मुल उद्देश्य नागरिकलाई सुसूचित गर्दै आर्थिक रुपमा सबल र सामाजिक रुपमा सभ्य, सु–सँस्कृत बनाउने हो ।

यस अभियानमा निरन्तर लाग्न फेरि पनि हामीलाई सबैको साथ, सहयोग र रचनात्मक सुझाव जरुर छ । स्थानीय स्रोत, साधन, सम्भावना र अवसरको पहिचान, उत्पादन, संकलन, बजारीकरण र प्रशोधनबाट मात्रै समृद्धि सम्भव छ । स्थानीय स्रोतको परिचालनका लागि श्रम, सीप र पूँजिका लागि राज्य, निजी क्षेत्र र सहकारी क्षेत्रको समन्वय जरुरी छ । जनतालाई स्वरोजगार बनाउनका लागि अर्थतन्त्रका तीन वटै खम्बालाई संगसंगै अगाडि बढाउनका लागि आदर्श सञ्चार र यसले सञ्चालन गरेका सञ्चारमाध्यमको निरन्तरको खोज, खबरदारी, सचेतना र सहकार्य जारी नै रहने छ ।

धौलागिरी जागरण १५ औं वर्ष प्रवेशका अवसरमा यस अभियानमा निरन्तरको साथका लागि हाम्रा प्रिय पाठक, शेयर सदस्य, सञ्चालक, बिज्ञापनदाता, समस्त शुभेच्छुक र अहोरात्र खट्ने आदर्श सञ्चारका सबै पत्रकार, सञ्चारकर्मी र अन्य सहकर्मी सबैलाई हार्दिक आभार ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *