बागलुङ–पर्वतः २० झोलुङ्गे पुलले जोडेको अटुट सम्बन्ध

खेमराज गौतम, बागलुङ

बागलुङ झोलुङ्गे पुलको जिल्ला भनेर स्थापित छ । तर, यस्तो परिचय पछिल्लो समय छिमेकी जिल्ला पर्वतले पनि बनाइरहेको छ । पर्वतले पुलको नयाँ परिचय मात्रै होइन, पुलकै सहारामा जिल्लाको पर्यटन, व्यावसाय र समृद्विको अभियानमा पनि उल्लेख्य उभार ल्याएको छ ।

यसमा रोचक पक्ष त यो पनि छ कि यी दुई जिल्लालाई दर्जनौ झोलुङ्गे पुलले जोडेको छ ।
बागलुङ र पर्वत जिल्लाको सिमाना छुट्याउने ठूलो कालीगण्डकी नदी छ । दुई जिल्लाको बीचबाट बगेको पवित्र कालीगण्डकी नदीका कारण दुई जिल्लाको सम्बन्ध भौतिक र भौगोलिक रुपमा सीमा र दुरी छ । दूई जिल्लालाई जोड्ने हाल सम्म एक मात्रै मोटरेवल पुल मालढुङ्गामा छ । त्यो बाहेक बागलुङ र पर्वत जिल्लाको सम्बन्ध जोड्न घण्टौ यात्रा गर्नुपर्ने बाध्यता र सम्बन्ध कायम गर्न झोलुङ्गे पुलले महत्वपूर्ण भूमिका खेलेको छ ।

पुलले यात्राको दुरी मात्रै छोट्याएको छैन । दुई जिल्लाका नागरिक बिच निकट सम्बन्ध स्थापित पनि गरेको छ । पछिल्लो ५० वर्ष यता बागलुङ र पर्वतको सम्बन्ध कालीगण्डकी नदीको तिव्र बहावका बाबजुद २० झोलुङ्गे पुलले यात्रा र सम्बन्धमा सहजता थपेको छ ।

दुई जिल्लाको सम्बन्ध जोड्न बागलुङ नगरपालिका–४ फोस्रे–पर्वतको जलजला गाउँपालिका जोड्ने झोलुङ्गे पुलदेखि बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको बेलबगर–श्रीकाङ झोलुङ्गे पुल सम्म २० झोलुङ्गे पुल छन् ।

कालीगण्डकी माथि बागलुङ र पर्वत जोड्न बागलुङ नगरपालिका–४ फोस्रे र पर्वत जिल्लाको जलजला गाउँपालिका जोड्ने पुल, खनियाघाट झोलुङ्गे पुल, बाङ्गेचौर अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल, नयाँ पुल स्थित झोलुङ्गे पुल, बागलुङ–वलेवा बन्जी पुल, कुस्मा पर्वत यन्त्रिक पुल, गोपाङघाटको पुरानो झोलुङ्गे पुल, कल्लेरी घाटको पुरानो झोलुङ्गे पुल, वलेवाको कैया–कुस्मा जोड्ने ३ सय ४७ मिटर लामो झोलुङ्गे पुल, मोदोवेणी नागबौर झोलुङ्गेपुल, कैया–मुडिकुवा ३०० मिटर लामो झोलुङ्गे पुल, सरङ्गी मुडिकुवा झोलुङ्गे पुल, टाकुरी फलेवास झोलुङ्गे पुल, जैमिनी घाट फलेवास झोलुङ्गे पुल, ठेउलेखोला फलेवास जैमिनी झोलुङ्गे पुल, विनामारे मिरिङ्गी फलेवास झोलुङ्गे पुल, मिरिङ्गे सानो झोलुङ्गे पुल, सुम्सा फलेवास झोलुङ्गे पुल, वेलवगर–कर्नास झोलुङ्गे पुल र छिस्ती–दुर्लाङ झोलुङ्गे छन् ।

पर्वत र बागलुङ जोड्ने गरी यसरी निर्माण गरिएको पुलले दुई जिल्लाको सम्बन्ध, आयात निर्यात, रोजीरोटी लगायतका विषयमा सहज बनेको स्थानीय बताउँछन् । पर्वत जिल्लाको सदरमुकाम कुस्मामा रोजगारी गर्दा त्यही बाँस बस्नु पर्ने समस्या रहेको बागलुङ जिल्लाको दक्षिण क्षेत्र बलेवा, जैमिनीका नागरिक अहिले झोलुङ्गे पुलकै कारण एक, आधा घण्टामा घरमै पुग्ेन गरेका छन् ।

७ वर्ष अघि बागलुङ जिल्लाको बलेवादेखि कस्मा नगरपालिका जोड्ने दुई साना झोलुङ्गे पुल मात्रै थिए । उक्त पुल तर्न तल खोँचमै झर्नुपर्ने थियो । तर, पछिल्लो समय निर्माण भइरहेका लामा र अग्ला झोलुङ्गे पुलले बागलुङ र पर्वत जिल्लालाई नयाँ ढंगले परिचित समेत गराएको बागलुङ बलेवाका भरत बागलुङेले बताउनुभयो । “भौतिक रुपमा नजिकै भएको जिल्ला भए पनि कालिगण्डकीको खोँचका कारण घण्टौ लाग्ने यात्रा झोलुङ्गे पुल, यान्त्रिक पुल तथा बञ्जी पुलले छोटो बनाएको छ” उहाँले भन्नुभयो “पुलले दुरी मात्रै छोटो बनाएको छैन, बागलुङ र पर्वत जिल्लाको बिबिध आयाम सहितको सम्बन्ध विस्तार समेत भइरहेको छ, एक÷दुई घण्टाको यात्रा छोट्याएर १० मिनेटमा ल्याएको छ ।”

दुई जिल्लाको बीचमा कालिगण्डकी माथि बनेका नयाँ पुराना झोलुङ्गे पुलहरुले यात्रा मात्रै छोट्याएको छैन । आर्थिक गतिविधि, पर्यटकीय क्षेत्र स्थापना तथा दुई जिल्ला बीचको जनजीवन सहज पु¥याउने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “पुल, सडक जस्ता विकासका पूर्वाधार जति धेरै भए त्यति राम्रो हो, खोला तर्नकै लागि घण्टौ हिँड्नुपर्ने, कतिले ज्यानै गुमाउनुपर्ने अवस्था थियो” नगर प्रमुख पौडेलले भन्नुभयो “विश्वकै लामो पुल देखी विश्वकै दोस्रो बन्जी पुल जस्ता पूर्वाधारले झनै बागलुङ र पर्वत जिल्लाको सम्बन्धलाई नजिक र प्रगाढ बनाएको छ ।” बागलुङ जिल्ला झोलुङ्गे पुलको जिल्लाको रुपमा समेत परिचित छ । अब यसलाई विश्वको लामो झोलुङ्गे पुल भएको जिल्लाका रुपमा समेत चिनाउनका लागि विश्व रेकर्डको तयारीमा रहेको नगर प्रमुख पौडेलले बताउनुभयो ।

पुलका कारण बागलुङको दक्षिण भेगका जनता अध्ययन, रोजगारी तथा खरिद बिक्रीका लागि पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार जाने गरेका छन् । त्यस्तै कुस्मा नगरपालिका–१ र जलजला गाउँपालिकाका स्थानीय व्यवसाय, रोजगारी तथा अध्ययनका लागि अहिले दैनिक रुपमा बागलुङ बजार आउने गरेका छन् । दुरी मात्रै छोट्टाएको छैन, यसले कृषि उपजको सहज बजारीकरण, ढुवानी खर्चको बचत तथा अध्ययन र रोजगारीका लागि डेरा लिनुपर्ने अवस्थाको अन्त्य भएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो । दक्षिण बागलुङका १६ गाविसले प्रशासनिक बाहेकका सबै गतिविधि पर्वतबाट लिने गरेको उहाँको भनाई छ ।

“पहिलाको तुलनामा धेरै सहज भएको छ, अझै पुलहरु थपिने क्रम जारी छ, दुई वटा जैमिनी र बलेवा देखि र दुई ठूला मोटरेवल पुल समेत निर्माण हुने कुरा छ” शर्माले भन्नुभयो “मूख्य कुरा दुई जिल्लाको आर्थिक गतिविधि चलायमान हुने र कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा निकै ठूलो सहयोग पुगेको छ ।” बागलुङ जिल्लामा हाल सम्म साना ठूला गरेर ५ सय बढी झोलुङ्गे पुल छन् । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिएको बागलुङ अब पर्वतसंग जोडेर लामा र अग्ला पुल भएको जिल्लाका रुपमा चिनिन थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *