टपरी गाँसेर आम्दानी गर्दै महिला

आदर्श अनलाइन, तनहुँ
तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँशी निवासी सीता अधिकारी आजभोलि दिउँसोको समयमा टपरी गाँस्न व्यस्त हुनुहुन्छ । बिहानको घरधन्दा सकेपछि दिउँसोको समय मोबाइल चलाएर र टेलिभिजन हेरेर बित्ने गरेकामा उहाँलाई आजभोलि दिउँसोमा कमै मात्र फुर्सद हुन्छ ।

फुर्सदको समय सदुपयोग गर्दै अधिकारीले टपरी गाँस्न थाल्नुभएको छ । जङ्गल गएर सालको पात टिपेर ल्याउने र टपरी गाँस्ने उहाँको आजभोलि दैनिकी बनेको छ । “पहिला पहिला यत्तिकै दिन बित्ने गरेको थियो, अहिले टपरी गाँस्ने कामले दिउँसो फुर्सद हुँदैन”, उहाँले भन्नुभयो, “समयको सदुपयोगसँगै आम्दानीको माध्यम बनेको छ ।”

नव आदर्श आमा समूहका १४५ जना महिलाले टपरी गाँस्न थालेको अध्यक्ष सावित्रा हड्खलेले जानकारी दिनुभयो । यहाँका महिलाले गाँसेको टपरी व्यास–२ कालिका मार्गमा रहेको ‘माँ अम्बे’ पूजा सामग्री उद्योगले खरीद गर्ने गरेको छ । उक्त उद्योग एक साता अगाडिबाट सञ्चालनमा आएको छ । “घरमै बसेर आम्दानी गर्ने स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “महिलालाई उद्यमी बन्न सहयोग पुग्नुका साथै समयको पनि सदुपयोग भएको छ ।”

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी सभापति कल्पना गौलीले उक्त उद्योग सञ्चालनमा ल्याउनुभएको छ । महिलाले गाँसेको टपरी आफूले खरीद गरेर बजारमा बिक्री गर्ने गौलीले जानकारी दिनुभयो । उहाँका अनुसार आमा समूहले दैनिक एक हजार दुना टपरी उत्पादन गरेको छ ।

हाल बजारमा दुनाटपरीको राम्रो माग भए पनि स्थानीय सरकारका तर्फबाट भने यसमा सहयोग नभएको गौलीको गुनासो छ । “उद्योगमार्फत झण्डै पाँच सय महिलालाई रोजगारी दिने उद्देश्य रहेको छ, छिट्टै नै अगरबत्ती उद्योगसमेत सञ्चालन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *