विकट गाउँ प्रोवीमा पहिलोपटक बिजुली बल्यो

आदर्श अनलाइन, लमजुङ
जिल्लाकै विकट गाउँमध्ये एक प्रोवीगाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् । गण्डकी प्रदेश सरकार र मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा ३१ घरधुरी रहेको वडा नं २ प्रोवीगाउँमा पहिलोपटक शनिबार पुग्दा यहाँका स्थानीयवासी हर्षित भएका हुन् । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दबाडीले प्रसारण लाइनको उद्घाटन कार्यक्रममा शनिबार गण्डकी प्रदेशले प्रदेशका सबै गाउँठाउँलाई उज्यालो बनाउने उद्देश्यका साथ तीव्रगतिमा काम गरेको बताए ।

यसअघिका सरकारले गर्न नसकेको काम केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार आएपछि विकासले गति पाउन थालेको उनको भनाई छ । जनताको अत्यावश्यकतालाई मध्यनजर गरी विकासको गति बढाएकाले ढिलो चाँडो सबै जनताले विकासको अनुभूति गर्न पाउने भएकाले सबैलाई आशावादी हुन आग्रह गरे । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले नागरिकको आवश्यकता पूरा गर्नका लागि ३ वटै तहको सरकार लागिपरेकाले विकासले गति लिन थालेको बताएका छन् । वर्तमान सरकारका कारण नै यस गाउँका स्थानीयवासीले वर्षौंवर्षदेखिको उज्यालो गाउँ देख्ने सपना पूरा भएको उनको भनाई छ ।

अन्धकारमा जीवनयापन गर्दै आएका यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि धेरै खुसी भएका छन् । यसअघि टुकीको भरमा जीवनयापन गर्नुपर्दा रातिको समयमा गाउँमा कोही दुःख बिमार हुँदा, कुनै कार्यक्रमका बेला र बालबच्चाको पठनपाठनमा समेत समस्या हुँदै आएको स्थानीयवासीको भनाई छ । अबदेखि भने मोबाइल चार्ज गर्न, टिभी, रेडियो बजाउन तथा सुन्नदेखि सूचना प्रवाह गर्नलाई समेत सहज भएको स्थानीयवासी राममाया गुरुङले बताएका छन् ।

गाउँमा बिजुली पु¥याउन २ वर्षअघिबाट काम सुरु गरे पनि विविध कारणले यतिका समय लागेको थियो बताए । यस वडामा ४५ लाख ५० हजारमा राष्ट्रिय बिजुली पुगेको छ । सो रकममध्ये प्रदेश सरकारको ३५ लाख ५० हजार र गाउँपालिकाको १० लाख रहेको बताइएको छ ।

त्यस्तै वडा नं ३ जिम्दोगाउँमा समेत शुक्रबार बिजुली पुगेको छ । तामाङ समुदाय मात्र रहेको यस गाउँमा २९ लाख ५० हजार लागतमा बिजुली पुगेको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार गण्डकी प्रदेश सरकारको उज्यालो प्रदेश कार्यक्रमअन्तर्गतको २० लाख र गाउँपालिकाको साढे ९ लाख रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *