शिक्षक संघको जिल्ला र गण्डकी प्रदेशको प्रतिनिधि सभा बागलुङ बजारमा

आदर्श अनलाइन, बागलुङ
नेपाल शिक्षक संघ बागलुङको जिल्ला प्रतिनिधि सभा र गण्डकी प्रदेशको प्रदेश स्तरीय प्रतिनिधि सभा बागलुङ बजारमा हुने भएको छ । नेपाल शिक्षक संघ बागलुङले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन २७ गते जिल्ला र २९ गते गण्डकी प्रदेशको प्रतिनिधि सभा बागलुङमा हुने जानकारी गराएको छ ।

अघिल्लो वर्ष कोरोना कहरका कारण रोकिएको २० औं जिल्ला प्रतिनिधि सभा र यस वर्षको २१ औं प्रतिनिधि सभा संयुक्त गर्ने तयारी गरिएको छ । कोरोना कै कारण रोकिएको गण्डकी प्रदेशको दोस्रो र तेस्रो प्रतिनिधि सभा पनि एकै पटक गर्ने निर्णय गरिएको नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलले जानकारी दिए ।

जिल्ला प्रतिनिधि सभामा जिल्लाका दश वटै स्थानिय तहबाट संघमा आबद्ध शिक्षकहरु सहभागी हुनेछन । हाल सम्म संघमा १५ सय ७४ जना शिक्षकहरु आबद्ध रहेको संघका अध्यक्ष पौडेलले बताए । त्यसैगरी प्रदेश प्रतिनिधिसभामा ११ जिल्लाबाट झण्डै ४ सय शिक्षकहरु सहभागी हुनेछन । प्रदेश प्रतिनिधि सभाको स्थानिय संयोजन नेपाल शिक्षक संघ बागलुङले गर्नेछ ।

जिल्ला प्रतिनिधि सभामा संघमा आबद्ध सेवा निवृत ५५ जना पुर्व शिक्षकलाई दिर्घसेवी सम्मान र अस्थायी सेवामा कार्यरत रही ‘गोल्डेन हेनसेक’ लिने ३५ जना पुर्व शिक्षकहरुलाई सम्मान गरिने शिक्षक संघ बागलुङका सचिव अर्थ लक्ष्मीकान्त पौडेल ‘राजेन्द्र’ले जानकारी दिए । संघले २८ गते महिला शिक्षक प्रशिक्षण कार्यक्रम तय गरेको छ । उक्त प्रशिक्षणमा जिल्लाका झण्डै ३ सय महिला शिक्षकहरु सहभागी हुने शिक्षक संघका उपाध्यक्ष सिता शर्माले बताईन ।

२७ गतेको जिल्ला प्रतिनिधि सभाको उदघाट्न नेपाल शिक्षक संघका संघिय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष एमपि भुषालले गर्ने तय भएको छ भने गण्डकी प्रदेशको प्रतिनिधि सभा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने तय भएको शिक्षक संघले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले कार्यक्रम सफलताको कामना गर्दै कोरोनाको कहरले रोकिएका कार्यक्रम विस्तारै संचालन हुँदा सकरात्मक सन्देश जाने बताए । उनले गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि आउने कार्यक्रमले जिल्लाको पर्यटनको प्रर्वद्धनका निम्ती पनि सहयोग पुग्ने बताए ।

कार्यक्रम नेपाल शिक्षक संघका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षता सचिव अर्थ लक्ष्मीकान्त पौडेल राजेन्द्रको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *