आदर्श अनलाइन, काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी एमालेबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद कोमल वलीले साेही पार्टीका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्धा दायर गर्नु भएको छ ।
सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर एमालेका नेता पन्त विरुद्ध गाली बेइज्जतीको मुद्धा दायर गर्नुभएको हो । नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समय अघि एक कार्यक्रममा असभ्य टिप्पणी गर्नुभएकाे थियाे । सो टिप्पणीको सबैतिर तिव्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको राष्ट्रिय सभा सदस्य वलीेले बताउनुभयो ।
नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले मसँग माफी पनि माग्नुभएको छैन । र यस्ता शब्दहरु प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यसकारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्धा दर्ता गर्दैछु । सम्पूर्ण आमा दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरे । अदालतले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात् गर्नेछु ।
सांसद वलीले आफू माथिल्लो सदनको विधायिका भएको हुनाले आफूले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताउनुभयो ।