सम्पादकीय
नेपाली समाजमा अहिले नकरात्मकता हावी छ । जुनसुकै बिषय, क्षेत्र होस्, त्यहाँ नकरात्मक सोच र प्रवृत्ति भएकाहरुको बिगबिगी छ । सामाजिक सञ्जाल तिनै समूहको कुण्ठाहरुले प्रदुषित छ । समाजका हर क्षेत्रमा यस्तो परिदृश्य देख्दा लाग्छ, अब केही समय यिनैहरुको शासन र साम्राज्य चल्नेछ । किनकी सकरात्मक सोच्ने, सत्य र इमानको बाटो हिँड्नेहरु अल्पमतमा पर्ने अवस्था बिद्यमान देखिन्छ । नकरात्मक सोच्ने, भ्रष्टाचार, अनियमितता, कमिसन लगायतका यावत खराब प्रवृत्ति बदल्छु भन्नेहरु पनि तनावग्रस्त छन् । चौतर्फी दबाब र धम्कीले यस्तो अवस्थामा पुर्याउँछन् की खराब प्रवृत्ति र सोच बदल्न सम्भवै छैन । र समाजका अनेक बिकृति, बिसंगत पक्ष बदल्ने उद्घोष गरेकाहरु अन्ततः आँफै बदलिन्छन् ।
जमाना यस्तो आएको छ की यो समय संर्घष गरेर सफलता गर्नेहरुको वसमा छैन । भाइरल बन्ने बनाउनेहरुको पक्षमा छ । असली चिजको महत्व गौण बन्ने या महत्वहिन जस्तो छ । सस्तो लोकप्रियताका लागि गरिने अनेक हर्कतहरुले बजार लिन्छन् । देश बिदेशमा यस्ता व्यक्ति र समूह देखिन्छ । जो आँफुले केही नगर्ने र गर्न नपर्ने तर, अरुका प्रयासलाई नकरात्मक टिका टिप्पणी मात्र गर्छन् । सरकारलाई त सधैं गाली गरेर सरापी मात्र रहन्छन् । कतै कुनै व्यक्ति र समूहले सम्भावनाको सत्प्रयास गरे प्रारम्भमै त्यसको भविष्यको अनुमान गर्छन् । अनि जाति, पार्टी, क्षेत्र के–के कुन बिषयले फाटो ल्याइदिन्छन् । र त्यो असफलता तर्फ उन्मुख हुन्छ । तर, यस्तो नकरात्मक सोँचका बाबजुद पनि कैयन व्यक्ति र समूहले राज्यको मुख नताकी स्वतस्फुर्त राम्रो उदाहरण पेश गरेका छन् । चाहे म्यागासेसे पुरस्कार बिजेता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र होस् यो हाम्रै बागलुङ बजारको शिरमा अवस्थित सर्वसिद्धिधाम पञ्चकोट होस् । एउटा व्यक्तिको सोच, सिर्जना र नेतृत्वबाट सम्भव भएको छ । स्वामी कमलनयनाचार्यको सोच, तिव्र अडान र भिजनका कारण पञ्चकोट जिल्लाको अभुतपूर्व पूर्वाधार सहितको गन्तव्य बनेको छ ।
यो त प्रतिनिधि उदाहरण मात्र हो । साना ठुलो रुपमा यस्ता स्वस्तफुर्त रुपमा गरिएका कैयन उदाहरणीय प्रयासहरु छन् । जुन आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि छ । सामुहिक स्वार्थ र भावनाले उत्प्रेरित भएका कामहरु कति प्रेरणादायक छन् । सधैं गुनासोको गीत मात्र कति गाइरहने ? कसैले गर्ने आलोचनाको भाषणमा मात्र कति नाँचिरहने, रमाइरहने ? गुनासो मात्र कहन छोडेर थोरै रचनात्मक, सिर्जनशिल हुन सके व्यक्तिको स्वास्थ्य र समाजका लागि पनि कति हितकर सावित हुन्छ होला ? तर, किन किन पछिल्लो समयमा यस्तो सत्प्रयासको सम्भावनालाई अवसरमा अनुवाद गर्न प्रयासरत हुनेहरुको संख्या कमी हुँदैछ । यस्तो सोचका साथ क्रियाशिल भएकाहरु पनि स्खलित भए जस्ता देखिन्छन् । उनीहरुका अनुहारले, व्यवहारले त्यो अभिव्यक्त गरिरहेको आभाष हुन्छ । अब सकिन्छ, सानो ठुलो कुनै काम गर्न हामी पनि सरकारलाई भाकेर नबसौ । आफ्नो तर्फबाट जे जति सकिन्छ, सम्भव छ । त्यति गर्न प्रयासरत रहौं । सकिन्न भने पनि गरिरहेकाहरुलाई संरक्षण र प्रोत्साहित गर्न प्रतिवद्ध बनौं । यसमा समुदाय र राष्ट्रको भलो हुनेछ ।