पश्चिममा बोक्सी प्रथा कायमै

रबिना बोहरा, बागलुङ
गाउँमा कोही बिरामी हुँदा होस् या सोचेको काम सहज तरिकाले गर्न समस्या पर्दा समेत आर्थिक तथा सामाजिक रुपमा कमजोर महिलालाई बोक्सीको आरोप लगाइन्छ । आरोप मात्र होइन, कतिपय स्थानमा यातना समेत दिने गरिएको छ । पुरातन संस्कार, परम्परा तथा रीतिरिवाजका नाममा हुने यस्तो प्रथा नयाँ नयाँ व्यवस्था आए पनि गाउँ समाजमा अझै पनि प्रश्रय दिइरहेको पाइएको छ ।

बागलुङको पश्चिम क्षेत्रमा पनि केही समय अघि मात्रै बोक्सीको आरोपमा यस्तै घटना भयो । बडिगाड गाउँपालिका–२ मा बोक्सीको आरोपमा एक महिला निर्घात कुटिएका थिए । वल्लोपल्लो घरका मानिसहरुले घरायसी झगडाका लागि ती महिलालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धानका क्रममा पाइएको बताएको छ । उनको उपचार पछि अहिले स्वास्थ्य अवस्था सामान्य बनेको छ । सामाजिक अन्धविश्वास र कुरितिका कारण उनी जस्ता कयौँ महिलाले यस्ता आरोप खेप्न बाध्य छन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख तथा बडिगाड गाउँपालिकाका स्थानीय समेत रहनुभएका बिष्णु भुषालले मानिस तथा पशु चौपाया समेत बिरामी हुँदा बोक्सी फुकाउने एवम् झारफुक गर्ने परम्परा रहेको बताउनुहुन्छ । उहाँले विगतको घटनालाई सम्झदै दुई तीन जनाले एक जना महिलालाई बोक्सी भनेर निर्घात कुटपिट गरेकाले उनीहरु कारबाहीको भागिदार रहेको भन्दै यस्ता कुरितीलाई हटाउनुपर्छ भन्ने चेतना अझै कम रहेको उहाँको भनाई छ । ‘बोक्सी लागेको भन्दै मान्छे बिरामी भए, पशु चौपाया बिरामी भए झारफुक गर्ने संस्कार अझै पनि यस ठाउँमा छ, यसलाई जरैबाट हटाउन आवश्यक छ ।’

बडिगाड गाउँपालिका–२ कि ती महिलालाई कुटपिट गर्ने तीन जना व्यक्तिलाई अहिले पुर्पक्षका लागि अदालतले थुनामा समेत राखेको छ । तराई क्षेत्रमा बोक्सी प्रथाका घटना बढी हुने गरेको देखिए पनि पहाडी क्षेत्रमा समेत यो अझै कायमै रहेको पाइएको छ । हरेक वर्ष बोक्सीको आरोपमा यातना पाउने महिलाको संख्या बढ्दै गएको महिला अधिकारकर्मी बताउँछन् ।

पुरातन संस्कार, परम्परा र रितीरिवाजका नाममा हुने यस्ता प्रथालाई अझै पनि न्यूनिकरण गर्न नसकिएको भन्दै पहाडी जिल्लामा बोक्सीको आरोप भोगिरहेका महिलालाई बढी मानसिक यातना दिने गरेको पाइएको महिला अधिकारकर्मी शकुन्तला शर्माको भनाई छ । ‘दिशा पिसाव खुवाउने, कुटपिट गर्ने घटना तराई क्षेत्रमा अल्ली बढी छन्, तर हामीकहाँ आरोप लगाउने, मानसिक यातना दिने, शुभ कार्य तथा राम्रा कार्यमा संलग्न हुन नदिने जस्तो देखिन्छ, यसले कमजोर आर्थिक हैसियतका महिलाहरुलाई ठूलो प्रताडना दिएको छ ।’ शर्माले भन्नुभयो ।

प्रहरी प्रशासनमा ठुला मान्छेको फोन आउँदा कुटपिट गर्ने जस्ता जघन्य अपराधका घटना पनि ढाकछोप र मिलोमतोमा टुंगिने गरेको छ । यस्ता घटनालाई न्युनिकरण गर्नका लागि समाज थप जागरण र सचेतना आवश्यक रहेको छ ।

सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत महिलाहरुको पहुँच बढ्दै गएको भए पनि कयौँ ग्रामिण भेगका आर्थिक रुपमा बिपन्न महिला अमानवीय घटनाको पात्र बन्नुपरेको भन्दै दुःख व्यक्त गर्छन् । बोक्सीको आरोपमा कुटपिट गर्नेलाई १० बर्ष कैद सजाय हुने व्यवस्था छ । मुद्दाहरू प्रहरीले अनुसन्धान गर्ने र सरकारी वकिल मार्फत सिधै अदालत जाने व्यवस्था पनि छ । तर, अपराधमा सम्लग्नलाई कडा कारबाही नहुने गरेको पीडितहरुको गुनासो छ ।

दोषीलाई धरौटीमा छाड्ने मिल्ने बैकल्पिक व्यवस्था भएका कारण पनि यस्ता घटना बारम्बार दोहोरिने गरेको अधिकारकर्मी बताउँछन् । त्यसकारण कडा कानुनी व्यवस्था संगै सामाजिक जागरणमा पनि ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *