‘कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार’

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनु भएको छ ।

बागलुङमा आयोजित कोरोना परीक्षण, उपचार तथा व्यवस्थापन सम्बन्धी सरोकारवालाबीच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख अधिकारीले कोरोनापछि अस्पतालको भौतिक संरचनासँगै स्वास्थ्य सेवामा समेत उल्लेख्य सुधार आएको बताउनुभयो ।

‘कोरोना अगाडी स्वास्थ्य क्षेत्रमा सुस्त गतिमा सुधार हुँदै थियो तर अहिले निकै फड्को मारेको छ, अस्पतालका भवनदेखि, प्रदान गरिने सेवाहरुमा निकै परिवर्तन आएको छ,’ सभामुख अधिकारीले भन्नुभयो ‘पहिले सामान्य औषधी उपचार पाउन नसकेका जनताले अहिले जटिल प्रकृतिका रोगहरुका औषधी समेत प्राप्त गर्न सक्ने भएका छन् ।’

उहाँले गण्डकीमा सबैभन्दा पहिले बागलुङमा कोरोना देखिएको र सफल उपचार भएको भन्दै बागलुङको धौलागिरी अस्पतालमा समेत भौतिक पूर्वाधार र सेवामा परिवर्तन आएको बताउनुभयो । कोरोना महामारीमा धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीले निकै मेहेनत गरेको भन्दै अहिले
अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउन सफल भएको बताउनुभयो ।

सभामुख अधिकारीले तीनै तहका सरकारलाई कुनै पनि विकास गर्न सक्दैन भन्ने छुट नभएको बताउनुभयो । जुनसुकै विकास गर्न जनतासँग सहकार्य र समन्वय गर्नु पर्ने भन्दै जनताको सहयोग बिना विकास असम्भव रहेको उहाँको भनाई छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले अझै पनि बागलुङबाट उपचारका लागि पोखरा जानेहरुको संख्यामा कमी आउन नसकेको बताउनुभयो । जिल्लामा राम्रो स्वास्थ्य उपचारका लागि संरचना र अन्य व्यवस्थापन भइरहे पनि नागरिकहरु पोखरा नै जाने गरेको उहाँको भनाई थियो । जिल्लामा गुणस्तरिय स्वास्थ्य सेवा सहज रुपमा दिन सके उनीहरुलाई पोखरा जानबाट रोक्न सकिने उहाँले बताउनुभयो ।

‘जिल्लाबाट अझै पनि धेरै नागरिक उपचारका लागि पोखरा धाइरहेका छन्, पश्चिम तर्फका पाल्पा बुटवल जाने गरेका छन्, यहाँ पनि स्वास्थ्यमा राम्रो सुधार भएको छ तर विश्वासिलो र सहज रुपमा सेवा नपाएर पोखरा गएका हुन् कि ?’ उहाँले भन्नुभयो ‘सेवा राम्रो हुँदाहुँदै पनि त्यो किसिमको सूचना जनताले थाहा पाउन नसकेर पोखरा पुगेको पनि हुन सक्छ, हामीले यस तर्फ पनि ध्यान दिन जरुरी छ, यहाँको सेवालाई थप व्यवस्थित र गुणस्तरिय बनाउन जरुरी छ ।’

प्रमुख सचेतक शर्माले जिल्ला सदरमुकामा केही स्वास्थ्य क्षेत्रमा परिवर्तन आए पनि विकट गाउँहरुमा अझै पनि सहज स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेको भन्दै त्यता पट्टी पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटा, आशा कोइराला, चन्द्रबहादुर बुढा मगर, धनमाया पोखरेल, रोशन गाहा मगर, सरिता गुरुङ, गण्डकी प्रदेशका सचिव हरिराज पाखरेल, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, उप–सचिव सपना अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापा, माओवादी केन्द्र बागलुङका नेता अनिल गैरे लगायतको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *