महाशिवरात्री, संस्कृति र सचेतता

सम्पादकीय
नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो । अर्को अर्थमा भन्दा यो बिबिध संस्कृतिले भरिपूर्ण छ । यहाँका हरेक भुगोलमा पुग्दा भिन्न भिन्न स्वाद र शैलीका चाल चलन, रहनसहन, नाँचगान, भेषभुषा, चाडपर्व मनाउने तौरतरिका छन् । यसर्थ पनि नेपालको विशिष्ट पहिचान विश्व समुदायमा छ । फरक फरक जाती, भाषा, लिंग, धर्म, वर्ग, क्षेत्रका भए पनि अधिक यस्ता संस्कार, चाडपर्व, रितिथिति छ । जसले हामी सबैलाई नेपाली भएकोमा गर्व र गौरव गर्ने अवसर दिन्छ । र हरेक महिना, ऋतु अनुसार मनाइने थरिथरिका चाडपर्वहरुले नेपाली समुदायबिच एकता, भातृत्व, सद्भाव कायम गर्नमा उल्लेखनीय भूमिका छ । यही अनुक्रममा महाशिवरात्री पर्व आज हिन्दुधर्मालम्बीले धुमधामका साथ मनाउँदै छन् ।

शिवरात्री पर्वमा विशेषतः महिला र युवा पुस्ता बढी आकर्षित र समर्पित देखिन्छन् । तर, यो पर्व किन मनाइन्छ ? अझै पनि धेरैमा द्धिविधा र अन्यौल बिद्यमान देखिन्छ । पौराणिक र धार्मिक मान्यता अनुसार तीन कारणले महाशिवरात्री पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह भएको कथन सबैभन्दा धेरै प्रचलित छ । यस दिन भगवान शिवको नाममा व्रत बसी पूजा आरधना गर्नाले भगवान प्रसन्न भइ यदि कसैको विवाहमा बाधा–अड्चन भए त्यो हटेर छिट्टै विवाह हुन्छ भन्ने मान्यता छ । दोस्रो महाशिवरात्रीको दिन नै भगवान शिव आफ्नो शिव लिङ्ग स्वरुपमा प्रकट भएको र उनको भगवान ब्रह्मा र विष्णुले विधिपूर्वक पूजा–अर्चना गरेको कथन छ । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने प्रचलन छ । तेस्रो समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएको कथन छ ।

महाशिवरात्रीमा मुख्यतः महिलाहरु व्रत बस्ने, पुजा आराधना गर्ने चलन हामीकहाँ व्याप्त छ । यसरी आफ्नो आस्था र विश्वासले व्रत बस्नु राम्रो कुरा हो । तर, निराहर व्रत बस्ने कुरा आफ्नै स्वास्थ्यका लागि पनि जोखिम हुन सक्छ । विगतमा कैयन समस्या देखिएका पनि छन् । शिवरात्रीको अर्को विकृत पाटो पनि छ । शिवजीले गाँजा औधी मन पराउने भएकाले प्रसादका रुपमा आजको दिन यो खानु पर्दछ । यसबाट पछिल्लो समय युवा पुस्ता लतमा फस्ने अर्थात गाँजा खान सुरुवात गर्ने दिनका रुपमा पनि यो पर्व र दिन आउने खतरा छ । हाम्रा संस्कृति, चाडवाडमा सबै सकारात्मक पाटा मात्रै छैनन्, कतिपय सुधार, परिष्कृत गर्दै मनाउँदै जानुपर्ने आवश्यकता देखिन्छ । महाशिवरात्रीलाई पनि नितान्त संस्कृतिका रुपमा मनाऔ । कसैले पनि विकृतिलाई प्रश्रय दिने काम नगरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *