अभिनेत्री मिथिला शर्मा पोखरामा सम्मानित

आदर्श अनलाइन, पोखरा
अभिनेत्री तथा लोकप्रिय नृत्य कलाकार मिथिला शर्मा पोखरामा सम्मानित हुनुभएको छ । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित ‘लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार २०७६’बाट उहाँलाई बिहीबार भव्य कार्यक्रमका बीच पोखरामा सम्मान गरिएको हो ।

पुरस्कार राशि १ लाख १ रुपैयाँ नगदको साथमा दोसल्ला र सम्मानपत्र रहेको थियो । शर्मालाई नेपाली नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै यो पुरस्कारद्धारा सम्मान गरिएको हो ।

सम्मान ग्रहण पश्चात बोल्दै अभिनेत्री शर्माले सम्मानले आफू सही बाटोमा हिडेको रहेछु भन्ने आभाष गराएको बताउनुभयो । ‘यस अगाडि पुरस्कृत हुनुभएका व्यक्तिसँग उभिँदा दुई कदम पछाडि सर्नुपर्ने थियो, तर आज मलाई त्यहिँ लहरमा ल्याएर राख्दा मलाई असली बाटोमा हिडेको रहेछु, मैले बाटो विराएको रहेनछु भन्ने आभाष भएको छ’ शर्माले भन्नुभयो ।

निरन्तर यात्रा अगाडि बढाउने र कहिल्यै बाटो नबिराउने उहाँको वाचा छ । सुरुवातका दिनमा दिदीको साथ र पछिल्ला दिनमाजीवनसाथीको हौसलाका कारण समेत आफ्नो कलाकारिता क्षेत्रको यात्रा सहज बनेको उहाँको भनाई थियो ।

सबैको माया र साथले आफू एउटा क्षेत्र, संस्था, व्यक्ति भन्दापनि सबै नेपालको छोरी हुन पाएकोमा खुशी भएको उहाँले सुनाउनुभयो । पोखरासँग आफ्नो बेग्लै माया रहेको उहाँले खुलाउनुभयो ।

‘मलाई क्षेत्र दाइ, चेतन दाइले तिमी पोखरेली चेली भन्नुहुन्छ, त्यो पनि मलाई एकदम गौरव लाग्छ’ उहाँले थप्नुभयो । सिक्ने र सिकाउने क्रमको यात्राबाट आफू कहिल्यै पछि नहट्ने उहाँको वाचा छ । सम्मान गरेको संस्थाको अभियानमा सकेको साथ दिने समेत उहाँले बताउनुभयो । सम्मानको सतप्रतिशत सम्मान राख्दै आफ्नो क्षेत्रमा अगाडि बढ्ने उहाँको प्रतिवद्धता थियो ।

संगीत प्रशिक्षण केन्द्र पोखराका अध्यक्ष गौतम विजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
का पूर्व कुलपति सरुभक्त, कवि तथा संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, केन्द्रका महासचिव एमडि काफ्ले लगायतले बोल्नुभएको थियो ।

प्रत्येक २/२ वर्षमा यो पुरस्कार प्रदान गरिदै आएको छ । केन्द्रका संस्थापक अध्यक्ष स्व.लालबहादुर ढेवाजूको स्मृतिमा धर्मपत्नी चण्डेश्वरी ढेवाजूले २०५५ सालमा एक अक्षयकोष खडा गरी लालबहादुर ढेवाजू स्मृति संगीत पुरस्कार संचालन गर्ने जिम्मेवारी केन्द्रलाई प्रदान गर्नुभएको थियो ।

त्यसपछि, अक्षयकोष दाता चण्डेश्वरीको पनि निधनपछि २०६९ सालमा छोरीहरुले आफ्ना माता–पिताको नामबाट पुरस्कार वितरण गर्दै आउनुभएको हो ।

यस पुरस्कारबाट नेपाली संगीतका शिखर पुरुष स्व. अम्बर गुरुङ, सुप्रसिद्ध गायक तथा संगीतकार दिप श्रेष्ठ, संगीतकार रन्जित गजमेर, स्व.सरोजगोपाल, स्व.कल्याण शेरचन, बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजु, स्व.धनबहादुर गायक तथा श्यामलाल श्रेष्ठ सम्मानित भइसक्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *