काठेखोलाको कान्छो धौलागिरीः जहाँ नौ देशको झण्डा फर्फरायो

आदर्श अनलाइन,बागलुङ

कान्छो धौलागिरी, धौलागिरी हिमालकै सम्मुखमा छ । समुन्द्री सहतदेखि करिव दुई हजार पाँच सय मिटर अग्लो बनको पहाड भएकाले स्थानीयले कान्छो धौलागिरी नामाकरण गरेका छन् । यसअघि यसको खास नाम चाही दारेगौडा धुरी थियो ।

बागलुङको प्रसिद्ध पर्यटकीय स्थल पञ्चकोटदेखि प्राकृतिक भ्यू टावरको रुपमा चर्चित बेलढुगां सम्मको पदमार्गको बीचमा पर्ने काठेखोला गाउँपालिका–२ भीमपोखराको डोहेरीस्थित दाह्रेगौंडा क्षेत्रमा पुग्ने यो डाँडाबाट मनोरम दृश्य देखिन्छ । उच्च भागमा रहेको समथर भागबाट आँखै अगाडि दर्जनौ हिमश्रृंखला, बनजगंल सहित प्रकृतिको हराभरा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी लगायतका दर्जनौ गाउँ बस्ती छर्लगं देख्न सकिन्छ ।

बागलुङ सदरमुकामदेखि करिव २६ किलोमिटर सडक यातायात र त्यस पछि करिव दुई घण्टाको उकालो पैदल यात्रा मार्फत दारेगौडा पुग्न सकिन्छ । पछिल्लो समय पदमार्गका साथै सिधै पनि यस ठाउँमा जानेको संख्या बढ्न थाले पछि स्थानीय युवाहरुले यसको पूर्वाधार निर्माण, प्रचार प्रसार र प्रवद्र्धनमा जोड दिन थालेका छन् । महाशिवरात्रीको अवसर पारेर दारेगौडा अर्थात् कान्छो धौलागिरीको प्रचार प्रसारका लागि सार्क राष्ट्र सहित नौ देशको झण्डा राखेका छन् ।

काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा स्थापित पुष्पाञ्जली ग्रामिण विकास केन्द्रको पहल र वडा नम्बर २ को कार्यालयको सहयोगमा नेपाल सहित भारत, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ, बंगलादेश, अफगानिस्तान र चीनको राष्ट्रिय झण्डा राखिएको पुष्पाञ्जली ग्रामिण विकास केन्द्रका अध्यक्ष बिक्रम शर्माले जानकारी दिनुभयो । यो ठाउँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई राष्ट्रिय झण्डाले पृथक अनूभुति गराएको अध्यक्ष शर्माको भनाई छ । केन्द्रले स्थानीय युवा र सरोकारवालाबीच यस क्षेत्रको सम्भावना र विकासबारे डाँडामै अन्र्तक्रिया समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका पूर्वाधार विकास समितिका संयोजक तथा काठेखोला वडा नम्बर ७ का अध्यक्ष प्रेम लामिछानेले दारेगौडालाई पूर्वाधार विकास गरेर कान्छो धौलागिरीको रुपमा स्थापित गर्न सकेमा उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

‘डाँडापाखामा दृश्यावलोकनका लागि भ्यू टावर गराउने प्रचलन आएको छ,तर यहाँ प्राकृतिक रुपमा उच्च भूभागमा पनि समथर भाग र त्यसबाट देखिने सौन्दर्यता वर्णय गर्न लायक छ,’ लामिछानेले भन्नुभयो, ‘यस क्षेत्रको विकासका लागि स्थानीयले पहल गर्नुपर्छ, यसमा गाउँपालिकाले पनि आवश्यक सहयोग गर्न तयार छ ।’

कार्यक्रममा स्थानीय सामाजिक अगुवा रामप्रसाद शर्मा, पुष्पाञ्जली ग्रामिण विकास केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसी, उपाध्यक्ष राजु गौतम लगायतले बोल्नुभएको थियो ।

यस स्थानबाट अन्नपूर्ण, धौलागिरी, मानापाथी, माछापुच्छे« लगायतका दर्जन बढी हिमश्रृङखलाको अवलोकन गर्न सकिन्छ । डोहेरीसम्म कच्ची सडकले जोडिएको हुँदा जंगल क्षेत्रमा पर्यटन पदमार्ग निर्माण गर्न सके म्याग्दी र बागलुङ जिल्लाको नयाँ गन्तव्यको रुपमा विकास गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *