जेष्ठ नागरिक भन्छन्ः ‘अरु कारण मरिएला, कोरोनाले मरिदैन’


आदर्श अनलाइन, बागलुङ

नेपालमा कोरोनाको महामारी सुरु भए पछि सबै भन्दा जोखिममा जेष्ठ नागरिक थिए । कोभिडको भयावह चलिरहेका बेला जेष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना भाइरस संक्रमणको खतरा रहेको भन्दै विशेष ख्याल गर्न आग्रह गरिएको समाचार दैनिकजसो आउँथ्यो । कोरोना र आफूहरुलाई छिटो सर्ने र ज्यान समेत लिने समाचार सुनेर केही हतास बन्नु भएकी काठेखोला गाउँपालिका–३ निवासी श्याम कुमारी बिश्वकर्मा अहिले ढुक्क हुनुभएको छ ।

उहाँले धौलागिरी अस्पताल बागलुङको खोप केन्द्रमा कोरोना बिरुद्धको खोप लगाए पछि उत्साहित मुद्रामा भन्नुभयो –“हामी जस्ता बुढेसकाल लागेकालाई कोरोनाले चाँडै लान्छ कि भन्ने थियो, खोप लगाए पछि अझै केही वर्ष संसार देख्न पाइन्छ कि भन्ने लागेको छ ।”

खोप लगाए पछि प्रशन्न मुद्रामा बिकले भन्नुभयो “रेडियोमा भर्खरका उमेरका युवाहरु समेत कोरोनाका कारण मृत्यु भएको सुन्दा हामी जस्ता ७५ काटेकालाई के राख्ला भन्ने थियो, अहिले कोरोना बिरुद्धकै खोप आएर लगाइयो पनि, अब कोरोनाबाट बच्ने भइयो भन्ने आश पलाएको छ ।”

बागलुङ नगरपालिका–४ का ७१ वर्षिय खडानन्द उपाध्याय, बागलुङ नगरपालिका–३ का ७५ वर्षिय खिम प्रसाद शिलवाल तथा बागलुङ नगरपालिका–१० भकुण्डे निवासी ७० वर्षिया इन्द्र कुमारी पौडेलको कोरोना खोप अनुभव पनि उस्तै छ । डाँडाँ माथिका घाम जस्ता बनेका उनीहरुले कोरोना खोप लगाउन पाउँदा खुसी भएका मात्रै छैनन्, केही वर्ष अझै बाँच्ने आशा पलाएको बताउँछन् ।

“१० महिना सम्म कोरोनाका विषयमा सुन्दा मरिन्छ कि भन्ने थियो” बागलुङ नगरपालिका–३ का ७५ वर्षिय खिमप्रसाद शिलवालले भन्नुभयो “तर यति छिट्टै सरकारले कोरोना खोप ल्याउला भन्ने लागेकै थिएन, कोरोना खोप लगाए पछि कोरोना लाग्दैन भन्ने आत्मबल उच्च हुँदो रहेछ, अलि वर्ष बाँच्न पाइने भयो भनेर ढुक्क छु ।” शिलवालले खोपको व्यवस्थापनका लागि सरकारलाई धन्यवाद समेत दिनुभयो । उहाँले महामारीको रुपमा रहेको कोरोना खोप लगाउन पाउँदा निकै खुसी भएको बताउनुभयो ।

कोरोनाका कारण मरिन्छ कि भनेर लागेको डर कोरोना खोप लगाएपछि हटेर गएको बागलुङ नगरपालिका–१० भकुण्डे निवासी ७० वर्षिया इन्द्रकुमारी पौडेलले बताउनुभयो । “दीर्घ रोगी र हामी जस्तालाई कोरोनाले छोड्दैन भन्ने सुन्दै आएका कारण घर भन्दा बाहिर जान पनि डर थियो” पौडेलले भन्नुभयो “खोप लगाए पछि केही ढुक्क भयो, अब अरुनै कारणले मरिएला, कोरोनाले चाँहि नमर्ने भइयो ।” पौडेलले आफूजस्ता जेष्ठ नागरिकलाई कोरोना खोपले हदै सम्म राहत मिलेको बताउनुभयो ।

कोरोना खोप भर्खर आउला भन्ने लागेकै थिएन, तर सरकारले जेष्ठ नागरिकलाई छिट्टै कोरोना बिरुद्धको खोपको व्यवस्थापन गरेकोमा खुसी मिलेको बागलुङ नगरपालिका–४ का ७१ वर्षिय खडानन्द उपाध्यायले बताउनुभयो । उहाँले खोप ल्याउने सरकार र खोप लगाउने स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिनुभयो ।

धौलागिरी अस्पतालको कोरोना खोप केन्द्रमा अहिले जेष्ठ नागरिक उत्साहका साथ खोप लगाउन आइरहेका छन् । बागलुङमा अहिले ६२ स्थानबाट कोरोना बिरुद्धको खोप प्रदान गरिएको छ । नेपालमा कोरोना भित्रिएको ११ महिना पुरा पुग्दा खोप अभियान दोस्रो चरणमा पुगेको छ । यही फागुन २३ गतेदेखि ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई सरकारले कारोना खोप लगाइ रहेको छ ।

स्वास्थ्यकर्मी, सफाई तथा महिला स्वास्थ्य स्वयंसेवीकालाई पहिलो चरणमा खोप लगाएको सरकारले कोरोनाको उच्च जोखिममा रहेको जेष्ठ नागरिकलाई कोरोना खोप लगाउन थालेको हो । शनिबार सम्म १२ हजार १३ जना जेष्ठ नागरिकलाई कोरोना खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

अहिलेसम्म जिल्लाका १० पालिका मध्ये ७ पालिकामा खोप अभियान चालिएको र केही दिनमै सबै पालिकामा खोप अभियान पु¥याइने उहाँले जानकारी दिनुभयो । कोरोनाका कारण जेष्ठ नागरिकलाई सामान्य प्रभाव पारे पनि कुनै समस्या नभएको गुरौले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *