क्रिस्टल ब्याग बनाउन सिक्दै कारागारका महिला कैदी

साधना पन्त, बागलुङ
बागलुङ जिल्ला कारागारका महिला कैदीबन्दीको दैनिकी अहिले बदलिन थालेको छ । दिनभर घाम तापेर, गफ गरेर दिन बिताउने उनीहरु अहिले सिपमूलक कार्यमा व्यस्त देखिन्छन् । पर्वत र बागलुङका १६ जना महिला कैदीबन्दी मध्ये १५ जनालाई घरेलु तथा साना उद्योग कार्यालय बागलुङले क्रिस्टल ब्याग बनाउन एक हप्ते तालिम दिएको हो ।

कारागार आएका ५ वर्षमा पहिलो पटक तालिम लिएको गिता नेपालीले बताउनुभयो । पहिलो पटक क्रिस्टल ब्याग बनाउने तालिम लिन पाउँदा निकै उत्साहित भएको उहाँको भनाई छ । ‘दिनभर केही नगरी ५ वर्ष बसियो, अझ कति वर्ष बसिन्छ ?’ उहाँले भन्नुभयो, ‘अबको बाँकी दिन तालिमबाट प्राप्त सिपबाट केही उत्पादनमुलक र उपयोगी बनाउने कोसिस गर्छु ।’

कारगारमा पुरुष कैदीका लागि बिभिन्न तालिम आएको सुनिन्छ तर महिला कैदीका लागि यो पहिलो तालिम हो । अब क्रिस्टल ब्याग बनाएर बजारमा बेच्नका लागि पठाउने योजना रहेको नेपालीको भनाई छ । यस्ता खालका तालिमले कैदी महिलाहरुलाई आत्मनिर्भर हुन र कारागारमा समय कटाउनका लागि सजिलो हुने उहाँको भनाई छ ।

‘कारागार आएको चार महिना भयो, क्रिस्टल ब्याग बनाउने तालिम पहिलो पटक लिएको हँु । पहिला पहिला दिन काट्नै निकै गाह्रो भएको थियो’, उहाँले भन्नुभयो, ‘अहिले यो तालिम सुरु भए देखि रमाइलो भएको छ, क्रिस्टल ब्याग भन्ने सुनेको पनि थिएन र देखेको पनि थिएन । अब त म आफै बनाउन जान्ने अवस्थामा पुगेको छु ।’ प्रशिक्षकलाई अझ नयाँ–नयाँ डिजाइन पनि सिकाउनका लागि अनुरोध गरेको राना बताउँनुहुन्छ । कारागारबाट निस्किए पछि पनि अहिले प्राप्त सिपले जिविका चलाउन सहयोग पुग्ने उहाँको भनाई छ ।

क्रिस्टल ब्याग बनाउने तालिम कैदीबन्दीका लागि आफ्नो पहिलो प्रशिक्षण रहेको प्रशिक्षक ज्योती श्रेष्ठले बताउनुभयो । ‘अहिले सम्म धेरै महिला दिदिबहिनीलाई ब्याग बनाउने तालिम दिएको छु तर, यो कैदी बन्दी महिला दिदिबहिनीलाई मेरो पहिलो अनुभव हो,’ उहाँले भन्नुभयो, ‘कैदी दिदीबहिनीहरु निकै उत्सुकताका साथ सिक्नु भएको छ र छिट्टै सिकेको पनि महुशुसु गरेको छु ।’ कैदी दिदीबहिनीले अन्य धागोको ब्याग बुन्न सिक्ने इच्छा पनि देखाउनु भएकोले समय मिले धागोको ब्याग पनि बनाउन सिकाउने श्रेष्ठको भनाई छ ।

घरेलु तथा साना उद्योग कार्यालय बागलुङका कार्यालय प्रमुख गुमादेवी शर्माले कार्यालयले बिभिन्न सिपमूलक तालिम सञ्चालन गर्ने क्रममा कैदी बन्दीका लागि क्रिस्टल ब्याग निर्माण सम्बन्धी तालिम दिइएको बताउनुभयो । घरेलुले यसअघि कारागारमा पुरुषका लागि मुढा बनाउने तालिम सञ्चालन गर्दै आएको थियो । तर, कार्यालय प्रमुख म स्वयंम् महिला नै हुदाँ महिला कैदी बन्दीका लागि पनि केही गर्नुपर्दछ भन्ने विचारले तालिम आयोजना गरेको शर्माको भनाई छ । कारागारका महिला दिदीबहिनी तालिम लिएर खुसी भएको देख्दा आफूहरुलाई पनि केही खुसी तुल्याएको शर्माले बताउनु भयो ।

अहिले कारागारमा १६ जना महिला छन् । जसमध्ये १५ जनालाई तालिममा सहभागी छन् । एक जना महिला सुत्केरी भएकाले तालिममा सहभागी नगराएको शर्माले जानकारी दिनुभयो । तालिममा आवश्यक पर्ने सबै सामाग्री घरेलुले उपलब्ध गराएको र तालिममा बनाएका क्रिस्टल ब्यागलाई समितिको बैठकबाट के गर्ने भन्ने निर्णय लिइने शर्माले बताउनु भयो ।

यो वर्षमा घरेलुले १५ वटा तालिम सम्पन्न गर्ने योजना घरेलुको छ । १५ वटा तालिम मध्ये अधिकांश महिलाका लागि छ । महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन सिपमूलक तालिमलाई प्राथमिकता दिइएको उहाँको भनाई छ । घरेलुमा अहिले ढाकाको सल, ढाकाको कुर्ता, ढाकाको साडी, सिलाई बुनाई र मोबाइल मर्मत कार्यक्रम कोभिडबाट प्रभावित र वैदेशिक रोगजार गुमाएर फर्किएका पुरुषहरुका लागि सञ्चालन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *