रबिना बोहरा, बागलुङ
नेपालको सबैजसो संरक्षित क्षेत्र दुर्लभ वन्यजन्तु तथा वनस्पति जोगाउने उद्देश्यले स्थापित छन् । तर, बागलुङमा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा झारल र नाउरको संरक्षण सहित व्यवस्थित सिकार समेत हुने गरेको छ ।
ढोरपाटनामा हरेक वर्ष नाउर र झारलको सिकार खेल्ने गरिन्छ । त्यसका लागि सिकारीहरूले नेपाल सरकारलाई मोटो रकम तिरेर अनुमति लिनुपर्छ ।लाखौँ रुपैयाँ तिर्नु पर्ने भए पनि धौलागिरी हिमालको दक्षिण पश्चिममा फैलिएको ढोरपाटन सिकार आरक्षमा हिमाली सौन्दर्यको अवलोकन गर्दै चुनौतिपूर्ण मानिने नाउर र झारलको सिकार गर्न विदेशबाट सौखिन सिकारीहरु आउने गर्दछन् । उच्च हिमाली क्षेत्रका भीरपाखामा विचरण गर्ने जङ्गली नाउर र झारल निकै चलाख र फुर्तिला हुन्छन् । त्यसैले तीनको सिकार गर्न त्यति सजिलो छैन । तैपनि ढोरपाटन पुग्ने विदेशी सिकारीले नाउर र झारल मारेर सिङ सहितको टाउको आखेटो पहारका रूपमा आफ्नो देश लैजाने गर्छन् । र त्यही देखाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले जानकारी दिनुभयो । यस्तो प्रतिस्पर्धामा उत्कृष्ट भए करोडौं रकम प्राप्त हुने उहाँको भनाई छ ।
ढोरपाटनमा शरद् र वसन्त ऋतुमा सिकारका लागि खुल्ला गर्ने गरिन्छ । ढोरपाटनमा रुस, अमेरिका, जर्मनी, फ्रान्स, स्पेन, क्यानडा, बेल्जियम लगायतका देशका ट्रफी सिकारका सौखिन व्यक्तिहरू माझ प्रख्यात छ । विदेशी सिकारीहरूले नेपालको ढोरपाटनलाई जीवनमा एक पटक पुग्नै पर्ने गन्तव्य मान्न थालेका छन् । सिकारीको संख्या बढेका कारण ढोरपाटन सिकार आरक्षको राजश्व संकलनमा उल्लेख्य वृद्धि समेत भएको छ ।
कोरोना भाइरस महामारीका समयमा विदेशी सिकारी आउन नपाउँदा सिकार हुन नपाए पनि अब भने पुनः सिकारका लागि टेण्डर आह्वान गरिने योजना राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागले जनाएको छ । पश्चिम नेपालका तीन जिल्ला रुकुम, बागलुङ र म्याग्दीको १३ सय २५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन सिकार आरक्षमा ३२ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । अनुमति लिएका सिकारीले तोकिएको समय र क्षेत्रमा निश्चित वन्यजन्तुको सिकार गर्न पाउँछन् । ती मध्ये नाउर र झारल प्रमुख हुन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बेला बेलामा ती वन्यजन्तुको गणना गर्ने र सिकारको वार्षिक कोटा निर्धारण गर्ने गरेको छ । विभागका अनुसार यसरी सिकार गर्न दिदाँ कुनै वन्यजन्तु लोप नै हुने अवस्था हुँदैन । बरु तीनको संख्या बढेर आफ्नै वासस्थान, जीवजन्तुलाई नोक्सान पु¥याउने वा आरक्षको छेउछाउमा रहेका क्षेत्रमा गरिने खेतीपातीमा समेत क्षति पु¥याउने अवस्था रोकिने गर्दछ ।
सिकार गरिने भए पनि ढोरपाटनमा वन्यजन्तु संरक्षणका लागि यथेष्ट काम गरिएको आरक्षको दाबी छ । आरक्ष कार्यालयका प्रमुख कँडेलका अनुसार नाउर र झारल लगायत अन्य वन्यजन्तुको संरक्षण कार्यमा आरक्षका कर्मचारी र नेपाली सेना संलग्न छन्। ढोरपाटन आरक्षबाट धौलागिरीका अतिरिक्त गुर्जा र सिस्ने हिमालका मनमोहक दृश्य देख्न सकिन्छ । समुन्द्र सतहबाट पाँच हजार मिटर भन्दा माथिका क्षेत्रमा नाउर पाइन्छन् । ३ हजार ३ सय मिटर भन्दा माथिल्लो भेगमा झारल पाइन्छन् । हिमाली क्षेत्रमा भएकाले ढोरपाटनमा विदेशी सिकारीहरूले विश्वका अन्य देशमा भन्दा फरक अनुभूति गर्ने गरेका छन् । उच्चपहाडी क्षेत्रको अति कठिन क्षेत्रमा बस्ने नाउर र झारलको सिकार गर्नु पर्ने भएकाले ढोरपाटन विश्वभरका साहसी सिकारीको प्रमुख रोजाइमा पर्न थालेको छ ।
ट्रफी सिकारीहरू हिमाली क्षेत्रमा सिकार खेल्न सफल हुनुलाई ’हिमाली ट्रफी’ जितेको मान्ने गर्छन् । सफल सिकारीहरूले तोकिएको रकम तिरेर सिकारको टाउको लैजान पाउँछन् । विफल सिकारीहरू रित्तै हात फर्कन्छन् । वर्षेनी ढोरपाटन सिकार आरक्षमा नाउर तथा झारलको सिकार खेल्न नेपाली पथप्रदर्शक र सहयोगी सहित विदेशीहरू आउने गरेका छन् । तर, नेपाली सिकारीको संख्या भने शून्यप्रायः छ । सिकारका लागि बोलपत्र आह्वान भए पछि सबै भन्दा धेरै रकम तिर्न तयार व्यक्ति वा समूहलाई सिकार खेल्ने अनुमति दिइन्छ ।
एउटा ऋतुमा एउटा नाउर तथा झारलको सिकार खेल्नलाई कम्पनी मार्फत् आउँदा ४० देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ । ’हिमाली ट्रफी’ सिकार महँगो हुने भएकोले नेपालीहरूले नाउर वा झारल सिकार गर्न चासो देखाएको पाइँदैन । ट्रफी सिकारको क्रममा सिकारीले नाउर र झारलको सिङ तथा छालाको अनुमति पाएपछि आफूसँगै लैजान पाउँछन् । कुनै प्रतियोगितामा जस्तै ठूलो सिङ भएका नाउर तथा झारलको सिकार गर्छ । उसले ’हिमाली ट्रफी’ प्राप्त गर्दछ । त्यसैकारण पनि विदेशी सिकारीहरू ’हिमाली ट्रफी’ जित्न लालायित हुने गर्छन् ।
सन् १९७६ मा नर्वेका एक प्रोफेसरले अध्ययनको क्रममा झारल र नाउरको संख्या धेरै भएकोले ढोरपाटनलाई सिकार खेल्न सकिने सम्भावनायुक्त क्षेत्र भएको सुझाव दिएका थिए । त्यसपछि सन् १९८७ देखि आरक्षलाई सिकारीहरूका लागि खुल्ला गरियो । सिकारीहरूका लागि खुल्ला गरे सँगै ढोरपाटनमा प्रायः रुस र जर्मनीका सिकारीहरू आउने गरेका छन् । सिकार आरक्षले ख्याति कमाउन थालेपछि अमेरिका र युरोपका अन्य देशबाट पनि सिकारीहरू आउने क्रम बढेको छ ।
थुप्रै देशमा आफ्नो सिकारी कौशलको परीक्षणमा सफल भएपछि नेपाल आएका जर्मनीका इरिक सिग्रिस्टले अन्य मुलुकको भन्दा नेपालको सिकार खेलाइ निकै रोमाञ्चकारी भएको बताउनुहुन्छ ।