डम्मर बुढा मगर, बागलुङ
गाउँघरमा पछिल्लो समय बृद्धबृद्धा, महिला र बालबालिका अधिक देखिन्छन् । कुनै पनि गाउँमा युवाहरु भेट्न मुस्किल पर्छ । युवा विदेश पलायन हुन थालेपछि गाउँघरका जग्गा जमिनहरु बाँझिएका छन् ।। बुढाबुढी र बालबालिकाले काम गर्न सक्दैनन् । महिलाहरुले एक्लै भ्याउँदैनन् ।
धेरैजसो युवाका मानसपटलमा विदेश जाने र धेरै सम्पत्ति जोड्ने बाहेक अरु देखिन्न । तर कोही यस्ता युवा पनि छन्, जो विदेशमै पुगेर अनेक हण्डर खाँदै आफ्नै भूमिमा पसिना बगाएर स्वाबलम्बी बन्ने कोसिस गरिरहेका छन् ।
पर्वत महाशिला गाउँपालिका वडा नम्बर ४ का प्रकाश पौडेल एक प्रतिनिधि पात्र हुनुहुन्छ । जो सँग विदेश गएको पनि अनुभव र भोगाइको फेहरिस्त छ । विदेशमा गएर १८÷२० घण्टा सम्म कडा परिश्रम गर्दा समेत आफूले सोँचे जस्तो कमाइ गर्न नसकेको बताउनुहुन्छ । त्यसपछि स्वदेश फर्किएर आफ्नै कृषि कर्ममा लागेको उहाँको भनाई छ ।
साथीहरुको लहलहै र विदेश जाने आफ्नो उत्सुकता मेटाउन प्रकाशले ३ वर्ष अफगानिस्तान र ३ वर्ष मलेसियामा बिताउनुभयो । त्यहाँ उल्लेख्य कमाई र प्रगति हुन नसके पछि अनेक हण्डर खाएर स्वदेश फर्किनु भयो । ३० वर्षीय प्रकाश अहिले बागलुङ नगरपालिका वडा नम्बर ४ को कुँडुले फेँदीमा व्यावसायिक कृषि पेसामा सक्रिय हुनुहुन्छ ।
विदेशबाट फर्किएर कृषि सम्बन्धी तालिम लिएर व्यवसाय सुरु गर्नुभएका पौडेललाई सुरुवाती चरणबाटै सफलता हात पर्ने थालेको छ । परिवारसँगै काम गर्ने पौडेल विहानदेखि बेलुकासम्म बारीमै काम गर्नुहुन्छ । तरकारीका बिच–बिचमा उम्रेका झारपात उखेल्नेदेखि भर्खर फल्न थालेका तरकारीलाई झाल हाल्ने र बारी खन्ने काम उहाँको दैनिकी हो ।
आफ्नो घर पर्वतमा भए पनि कुँडुलेमा जग्गा भाडामा लिएर व्यवसाय सुरु गर्नुभएका पौडेलले जग्गा भाडा मात्रै वार्षिक ४० हजार बढी तिर्ने बताउनुहुन्छ । पौडेलले आफ्नै ज्वाइँ गोविन्द सुवेदीसँगको सहकार्यमा मुक्तिनाथ एकीकृत कृषि फर्म दर्ता गरेर व्यवसाय अघि बढाउनुभएको छ ।
व्यवसाय फस्टाउँदै गएपछि पौडेल र उहाँका परिवार पनि खुसी भएका छन् । एक वर्ष अगाडि १० लाख रुपैयाँ लगानी गरेर सुरु गरेको व्यवसायलाई थप व्यवस्थित गराउन लगानी गरिरहनुभएको छ । विदेशमा गरेको दुःखलाई भुल्नका लागि यो व्यवसाय सुरु गरेको र यसले आफूलाई सन्तुष्टि पनि दिलाएको उहाँको भनाई छ ।
‘विदेशमा १८/२० घण्टा काम गरियो, यहाँ त त्यसरी मरिमेटी काम गर्न पर्दैन, ८ घण्टा काम गरे पुग्छ, विदेशमा निकै दुःख गरियो, न बिरामी हुँदा उपचार, न भोक लाग्दा समयमै खाना, त्यसरी पनि काम गरियो,’ पौडेलले भन्नुभयो ‘यहाँ त बिरामी परे पनि समयमै उपचार पाइन्छ, भोक लागे पनि समयमै खाइन्छ, विदेशको जस्तो दुःख गर्न पनि परेन, न मालिकको कुनै गाली निर्देशन सुन्नुपर्छ, अलिअलि दुःख त जहाँ पनि हुन्छ, सुखै सुख त कहाँ हुन्छ र ?’
पहिले विदेश गएर ६ वर्ष समय अवधी यत्तिकै बिताएकोमा उहाँलाई अहिले पश्चताप लाग्छ । ‘विदेश गएर खेर फालेको समय यही सदुपयोग गरेको भए अहिले कति राम्रो हुँदो हो ?, कति कमाइदो हो ? उतिबेला बुद्धि पुगेन,’ प्रकाशले भन्नुभयो ‘अहिले पछुतो लाग्छ, त्यतिबेलै यही केही गर्नु पर्दो रैछ, के गर्नु उति बेला विदेशै ठूलो हो भन्दै गइयो, अहिले किन गएछु भन्ने लाग्छ ।’
उहाँले स्वदेशमै व्यवसाय तथा अन्य काम गर्दा देश परिवर्तनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ । विदेशमा बेच्ने श्रम आफ्नो गाउँ ठाउँमै गर्न सके समाज परिवर्तनसँग आफ्नो परिवारको पनि जिविकोपार्जनमा सहजता आउने उहाँ बताउनुहुन्छ । ‘विदेश त म पनि गएँ, तर किन गएछु भन्ने भएको छ अहिले, अरुको देशमा गुलामी भएर १८÷१८ घण्टा श्रम बेच्न भन्दा यही लगनशील भएर काम गरियो भने परिवार मात्रै होइन, समाज र देश पनि राम्रो बनाउन सक्दा रहेछौ,’ उहाँले भन्नुभयो ‘अबका युवा साथीहरुले आफ्नै ठाउँमा केही गर्नु पर्छ, विदेश–विदेश भनेर हिँड्दा म जस्तै पछुताउने दिन आउन सक्छ ।’
पौडेलले व्यवसाय सुरु गरेको एकै वर्षमा मासिक एक लाख आम्दानी गर्न थालेको अनुभव सुनाउनुहुन्छ । अहिले उहाँको बारीमा काउली, बन्दा, टमाटर, साग लगायतका थुप्रै प्रजातिका तरकारीहरु फलेका छन् । बारीमा उत्पादन भएका तरकारीहरुले बजार नपाउला भन्ने उहाँलाई खास्सै पीर छैन । किनकी बागलुङ र म्याग्दीको बेनी बजारमा उहाँको उत्पादनले राम्रै बजार पाउँछ ।
उहाँलाई एउटै पीर छ । बाहिरबाट विषादी प्रयोग भएर आउने तरकारीले गर्दा आफूले उत्पादन गरेका तरकारी कम मूल्यमा बेच्नुपर्छ । ‘तरकारी बेच्दा कुनै मापदण्ड छैन, जस्तोसुकै तरकारी भए पनि बाहिरबाटै आएको भाउमा बेच्नु पर्छ, यसले गर्दा हामीलाई मर्का छ, यसको सम्बन्धित निकायले कार्यविधि बनाई दिए सहज हुन्थ्यो,’ पौडेलले भन्नुभयो ‘अरु त त्यस्तो केही छैन, सरकारले अरु केनै गर्छ र हाम्रा लागि ? बजार व्यवस्थापन गर्न सहयोग गरिदिए हामी जस्ता किसानहरुका लागि ठूलो राहत मिल्ने थियो ।’
उहाँले किसानहरुका लागि सम्बन्धित निकायहरुले समय–समय कृषि सम्बन्धि तालिम, गोष्ठी, परामर्श लगायतका कार्यक्रम गर्ने र उन्नत जातका बीउ बिजन दिन सके व्यवसाय फस्टाउने र बागलुङलाई तरकारीमा आत्मनिर्भर बनाउन सक्ने उहाँको अठोट छ ।
‘हामीलाई कृषि सम्बन्धी धेरै ज्ञान छैन, यस सम्बन्धी तालिम, परामर्श दिने भए हामीले अझै बढी तरकारी उत्पादन गर्न सक्थ्यौँ, नयाँ–नयाँ प्रबिधिहरु आएका छन्, त्यस सम्बन्धी बेला–बेलामा ज्ञान दिने, सुझाव दिने भए राम्रो हुन्थ्यो, अहिलेसम्म त्यस्तो केही पाइएको छैन,’ उहाँले भन्नुभयो ‘कृषि प्रधान देशमा कृषिकलाई धेरै ज्ञान छैन, कृषिकमुखी कार्यक्रम सरकारले ल्याउन सके कृषि क्षेत्रमा ठूलो फड्को मार्ने थियो, त्यस्ता खालका कार्यक्रम ल्याइनु पर्छ ।’
पौडेलको फर्मलाई कृषि ज्ञान केन्द्रले एक लाख ५० हजार बराबरको टनेल सहयोग गरेको थियो । यसले तरकारी फलाउनमा निकै ठूलो सहयोग पुगेको उहाँ बताउँहुन्छ । यो बाहेक अरु सहयोग आफूले नपाएको पौडेलको गुनासो छ ।
उहाँले यो व्यवसायलाई थप व्यवस्थित र ठूलो बनाउने योजनामा रहेको भन्दै अर्को वर्षदेखि अहिलेको भन्दा दोब्बर आम्दानी गर्ने गरी योजना बनाएको बताउनुभयो । पौडलले यो ठाउँमा सिँचाईको लागि पानीको समस्या भएकाले स्थानीय सरकार र सरोकारवाला निकायले सम्बोधन गरिदिनु पर्ने कृषकको माग छ ।
पौडेलले अहिले तीन रोपनी क्षेत्रफलमा तरकारी खेती गर्नु भएको छ । यसको दायरा बढाउने तयारीमा रहेको उहाँको भनाई छ । जग्गा उपलब्ध नहुँदा रोकिएको सुनाउँदै जग्गा पाउना साथ थप तीन रोपनीमा तरकारी खेती बिस्तार गर्ने उहाँको सोँच छ ।
पौडेलले आधुनिकतालाई पनि आत्मसाथ गर्दै, नयाँ प्रबिधिबाट सिँचाई र तरकारी खेतीको सुरुवात गर्नु भएको छ । उहाँको बारीमा आधुनिक प्रबिधिको थोपा सिँचाई मार्फत तरकारीमा पानी लगाउने गर्नुहुन्छ । मल, बिउ लगायतका आवश्यक सामग्री बाहिरबाट लिए पनि पौडेलले तरकारीका बिरुवा आफै उत्पादन गर्ने गर्नु हुन्छ ।
दिनुहुँ विदेश जाने युवालाई बाँझिएको गाउँको उर्वर जमिनलाई सदुपयोग गरी व्यवसायी बन्न आग्रह गर्नुहुन्छ । उहाँले गाउँ, समाज र परिवारको विकास चाहाने कुनै पनि व्यक्ति स्वदेशमै इलम गर्नु पर्ने भन्दै यसले सबैका लागि हित गर्ने बताउनुहुन्छ ।
‘गाउँमा खाली जग्गाहरु यतिकै बाँझा बनेका छन्, युवाहरु काम छैन भन्दै विदेश हानिन्छन्, यसले गर्दा दिनदिनै समाज अधोगति तिर गइरहेको छ,’ उहाँले भन्नुभयो ‘साँचिकै गाउँको विकास र परिवारको खुसी चाहने हो भने त गाउमै केही गर्नु पर्छ, परिवारबाट टाढिएर, गाउँबाट टाढिएर कसरी गाउँको विकास हुन्छ ? कसरी परिवार खुसी हुन्छन् ? त्यसले गर्दा गाउँमै केही गरौँ, परिवार पनि खुसी समाजको पनि विकास, कमाई पनि राम्रो ।’