सहकारी दिवसमा राष्ट्रिय सहकारी बैंकले ६८ विद्यालयमा क्लव गठन गर्ने

आदर्श अनलाइन, ललितपुर ।

युवा विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी बैंक लिमिटेडले ६८ वटा सामुदायिक विद्यालयमा सहकारी युवा क्लव गठन गर्ने भएको हो ।

बैंकको वार्षिक कार्यक्रम अनुसार सबै शाखाहरु मार्फत सामुदायिक विद्यालयहरुमा अन्तरक्रिया, छलफल तथा तालिमको आयोजना गरी सहकारी युवा क्लव गठन गर्न लागिएको हो ।

बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा आइतवार बसेको सञ्चालक समितिको बैंठकले ६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बैंकका ६८ वटा शाखा मार्फत एक एक वटा सामुदायिक विद्यालयमा सहकारी सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

सहकारी दिवसका अवसरमा सबै शाखाहरुलाई एक एक वटा विद्यालयमा सहकारी सचेतना सम्बन्धी कार्यक्रम गरी सहकारी युवा क्लव गठन गरिने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

सहकारी बैंकको युवा लक्षित कार्यक्रम अन्तरगत युवा विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने योजना बनाएका थियौ, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले भन्नुभयो–‘वार्षिक कार्यक्रम अन्तरगत सहकारी दिवसको सन्दर्भ पारेर विद्यालयमा सहकारी युवा क्लव गठन गर्दैछौ ।’ युवाहरुलाई सहकारीमा आकर्षण गराउन तथा सहकारीप्रतिको सकारात्मक धारणामा विकास गर्नका लागि सहकारी युवा क्लवहरुमा आवद्ध हुने युवा विद्यार्थीहरुलाई परिचालन गरिने उहाँको भनाइ छ ।

सहकारी युवा क्लवमार्फत विद्यालयहरुमा सहकारी सचेतना, वित्तीय साक्षरता, निवन्ध प्रतियोगिता लगायत विविध रचनात्मक र सिर्जनशिल कार्यक्रम गरिने बैंकले जनाएको छ ।

राष्ट्रिय सहकारी दिवसका अवसरमा नेपाल सरकार र सहकारी अभियानका तर्फबाट आयोजना हुने सहकारी दिवस मुल समारोहहरुमा बैकका तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय पनि बैंकले गरेको छ ।

बैंकको सञ्चालक समितिको वैठकले घरेलु तथा साना उद्योग विकास उपसमिति समेत गठन गरेको छ । सहकारीमार्फत उद्योग व्यवसायको प्रवद्र्धनका लागि समन्वय तथा सहकार्य गर्नका लागि बैंकका सञ्चालक तथा बागमती प्रदेशका संयोजक ज्ञान बहादुर तामाङको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।

उप–समितिका सदस्यहरुमा बैंकका सञ्चालक एवम् व्यवसाय प्रवद्र्धन तथा स्तरीकरण उपसमितिका संयोजक केदार मानन्धर, प्रदेश नं. १ बाट रुद्रमाया घिमिरे, प्रदेश नं.२ बाट खड्ग बम्जन, बागमती प्रदेशबाट रीता अवाले, गण्डकी प्रदेशबाट बलराम गौतम, लुम्बिनी प्रदेशबाट यम बहादुर थापा, कर्णाली प्रदेशबाट कृष्णा वंशी मगर, सुदुरपश्चिम प्रदेशबाट पदम रिजाल, काठमाडौबाट देवकुमार श्रेष्ठ तथा सदस्य सचिवमा बैंकका व्यवसाय प्रवद्र्धन विभागका प्रमुख मधु रायमाझी रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *