बाली बिमाबारे कृषकलाई जगाउँदै ज्ञान केन्द्र

आदर्श अनलाइन, बागलुङ
कृषि ज्ञान केन्द्र बागलुङले जिल्लाका कृषकहरुलाई बाली बिमा बारे जानकारी गराएको छ ।

ज्ञान केन्द्रबाट आर्थिक वर्ष २०७७÷०७८ का लागि सञ्चालन हुने विभिन्न कृषि कार्यक्रमको लागि छनौट भएका कृषकहरुलाई आइतबार बागलुङ सदरमुकाममा अभिमुखिकरण गरिएको केन्द्रले जनाएको छ ।

गोष्ठीमा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बाली, पशुपंक्षी, माछाको बिमा गरेका कृषकलाई बिमा जोखिम भएमा कुल बिमा शुल्कको २५ प्रतिशत रकम उपलब्ध गराउन सकिने बताउनुभयो ।

एक जना कृषकले अधिकतम एक करोड रुपैयाँ बिमाङ्क सम्मको बिमा गर्न सक्ने उहाँले बताउनुभयो । गोष्ठीमा ज्ञान केन्द्रबाट सञ्चालन हुने आलु खेती प्रवद्र्धन कार्यक्रम, मूल्य शृंखलामा आधारित परियोजना, फलफूल नर्सरी तथा श्रोत केन्द्र स्थापना, रैथाने बाली संरक्षण कार्यक्रम, अनुदानमा फलफूल बिरुवा र सामग्री वितरण कार्यक्रम, कृषि यान्त्रिकरण अनुदान, क्षेत्रफलको आधारमा तरकारी उत्पादन कार्यक्रम, ग्रीन हाउस, नेचुरल्ली भेन्टिलेटेड÷एग्रीनेट हाउस निर्माण कार्यक्रम, ग्रामीण क्षेत्रमा करेसाबारी तथा घर बगैँचा कार्यक्रम, स्थानीय कृषि उपज केन्द्र स्थापना कार्यक्रम, साना व्यावसायिक कृषि फर्म स्थापना तथा वितरण, साना सिंचाई कार्यक्रम, बिमा शुल्क प्रिमियम अनुदान कार्यक्रम र कृषि यान्त्रिकीकरण कार्यक्रममा छनौट भएका कृषकहरु सहभागी भएका थिए ।

अभिमुखिकरण गोष्ठीमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले व्यावसायिक कृषि र कृषक उद्यम बन्न वैज्ञानिक औजारहरुको भरपुर प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले अनुदानमा दिने औजारको उपयोगिताको बारेमा कृषकलाई जानकारी नभएको भन्दै कृषि ज्ञान केन्द्र र अगुवा कृषकले नयाँ कृषकलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजुप्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईको स्वागत, जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नरबहादुर थापाको अध्यक्षता तथा कृषि ज्ञान केन्द्र बागलुङका कृषि बाली विकास अधिकृत कुमार पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *