पाँच बुँदे प्रतिबद्धता सहित सहकारीमा महिला समावेशिता राष्ट्रिय गोष्ठी सम्पन्न

सुवास गौतम

राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा आयोजना गरेकोे सहकारीमा महिला समावेशिता विषयक २ दिने राष्ट्रिय गोष्ठी सोमबार सम्पन्न भएको छ ।

दुई दिन सम्म सञ्चालन भएको गोष्ठीले सहकारीमा महिला सहभागिताका लागि पाँच बुँदे प्रतिवद्धता घोषणा गरेको छ ।

समावेशी सहकारी अभियान अन्र्तगत समृद्ध नेपाल सुखी नेपालीको संकल्प साकार गर्न समयाअनुकुल कानून बनाउदै लैजाने, दोस्रो बुदाँमा सहकारीको सम्पूर्ण समिति तथा उप–समितिमा ३३ प्रतिशत महिलाको सहभागिताको लागि संस्थाको विनियम, कार्यविधि तथा निर्देशिकाहरु ऐन नियम अनुरुप तर्जुमा तथा परिमार्जन गर्न तत्पर रहने र सहकारी दर्शन, सिद्धान्त, मुल्य मान्यता अनुसार महिला समावेशी सहकारी अभियान मार्फत समुदायको जीवनस्तर सुधार गर्ने प्रतिवद्धता गोष्ठीका सहभागीहरुले गरेका छन् ।

सार्वजनिक, निजी र सहकारीबीचको समन्वय र सहकार्यमार्फत उद्यमशिलता विकास गरी महिलाको आत्मनिर्भरता, लैङ्गिक समानताका लागि दिगो विकास, लैङ्गिक उत्तरदायी बजेट विनियोजन तथा कार्यक्रम ल्याउन माग गर्ने र महिलाहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय हित अभिवृद्धि गर्न आ–आफ्ना संघ संस्था मार्फत वहस पैरवी लगायत महिलामैत्री क्रियाकलाप सञ्चालन गर्न गराउन सहकारी अभियानकर्मी ऐक्यवद्धता प्रकट गर्दछौं, गोष्ठीको प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

गोष्ठीमा सांसद डा.बिमला राई पौडेलले लैंगिक समानताको मुल प्रभाहीकरणमा सहकारी, चुनौती र आगामी कार्यदिशा विषयक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महिला समावेशिताका लागि नीतिगत व्यवस्था र सहकारीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले १५ औं पञ्चवर्षीय योजनाले समृद्ध समाज निर्माणका लागि सहकारी क्षेत्रको भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो ।

गोष्ठीको दोस्रो दिन राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराईले महिला समावेशितामा सहकारी बैंकको अवस्था र भूमिकाका बारेमा सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु) ले गर्नु भएको थियो ।

यस्तै नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीले महिला समावेशितामा नेफ्स्कुनको अवस्था र भूमिकाका विषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता महासंघका सञ्चालक तथा कर्णाली प्रदेशका संयोजक टिका बुढाथोकीले गर्नु भएको थियो ।

नेपाल कृषि केन्द्रीय सहकारी संघका उपाध्यक्ष तथा महारानी झोडा कृषि सहकारी झापाका अध्यक्ष मिना ढकालले महिला समावेशिताको अवस्था र कृषि संघको भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता महासंघका सञ्चालक पद्मा गुरुङले गर्नु भएको थियो ।
गोष्ठीमा सिर्जनशिल कृष्टल उद्योग काठमाडौका कमला सुवेदी र विन कोअपरेटिभ ललितपुरका मल्लिका श्रेष्ठले सफलताको कथा प्रस्तुत गरिएको महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु) ले काठमाडौंबाट जानकारी दिनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *