हतारमा ‘लिभिङ टुगेदर’, फुर्सदमा पछुतो


सम्पादकीय : लिभिङ टुगेदर अर्थात् विवाह पूर्वको सम्बन्ध सम्पर्क । नेपाली समाजले यसलाई सहज र स्वभाविक रुपमा स्वीकार गर्दैन । तर, पश्चिमी संस्कृतिमा सामान्य मानिने यस्तो सम्पर्क सम्बन्ध पछिल्लो केही वर्ष यता नेपालमा पनि फैलिँदो क्रममा छ । खासगरी राजधानी काठमाण्डौं लगायतका ठूला सहरमा यस्तो अभ्यास र समस्या बढी देखिएको छ । यसले एक आपसको सम्पर्क र सम्बन्ध प्रगाढ बनेर नजिकिने मात्रै होइन, गम्भीर समस्या, संकटका साथै हिसांत्मक रुप र कतिपय अवस्थामा ज्यानै जाने सम्मको घटना हुन थालेका छन् । लिभिङ टुगेदर अर्थात् विवाह पूर्वको सम्बन्ध पछिल्लो समय हिंसाको एक अर्को कारणमा देखिन थालेको छ । यो सामान्य संकेत होइन ।

लिभिङ टुगेदरसँग जोडिएका घटनामा आधाभन्दा बढी विवाह इतर सम्बन्ध र लिभिङ टुगेदरसँग सम्बन्धित देखिएका छन् । यो काठमाडौं उपत्यकामा मात्र नभई बाहिरका सहरी क्षेत्रमा पनि ‘लिभिङ टुगेदर’ ट्रेन्ड अझ बढ्दो क्रममा रहेको र यसकै कारण हिंसाका घटना बढेको प्रहरीको अध्ययन रिपोर्टले देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार यस वर्ष नेपालभरमा ११ हजार सात सय ३८ वटा यस्तै विषयसँग सम्बन्धित उजुरी दर्ता भएका छन् । पछिल्लो समय युवायुवतीमा ‘लिभिङ टुगेदर’ र वयस्कहरूमा विवाहेतर सम्बन्धका कारण सहरी क्षेत्रमा हिंसात्मक घटना बढेको प्रहरी तथ्यांक छ । यसमा क्षणिक समयमै एक अर्कामा आकर्षित भएर सँगै खुलेआम बस्ने र केही समयमै एक अर्काको आनीबानीबारे थाहा पाए पछि छुट्टिने गरेका घटना दर्जनौ छन् । यसमा अपरिपक्वता प्रमुख कारण हुँदै हो, अर्को डरलाग्दो विषय देखासिकी र बढी स्वतन्त्रता पनि हो ।

नेपाली संस्कार र संस्कृतिले परिवार र समाज धेरै हद सम्म सुसज्जित थियो । तर, पछिल्लो समय पश्चिमा शैली खोज्ने सोचले मानिसहरुको अमूल्य जीवनलाई दुर्घटनामा पु¥याउने गरेको छ । व्यवहार र सोचमा एकरूपता नहुँदा नेपाली समाजमा ‘लिभिङ टुगेदर’ गम्भीर समस्या बनिरहेको छ । ‘लिभिङ टुगेदर’ विकसित पश्चिमा देशहरुमा सामान्य र स्वभाविक भए पनि नेपाली समाजमा यो अझै सहज रुपमा पच्दैन । किन भने नेपाली समाजको संरचनासँग ‘लिभिङ टुगेदर’को अवधारणा मेल खाँदैन, अर्थात् हाम्रो संस्कृतिले विवाह नगरी महिला र पुरुष श्रीमान–श्रीमतीको हैसियतमा बस्न दिँदैन । पछिल्लो समय लहैलहैमा वा बाध्यतावश यो अवधारणा लागू भए पनि सम्बन्धप्रतिको सोचमा परिवर्तन भएको छैन । जसका कारण सम्बन्ध क्षणिक रुपमा विघटन मात्रै होइन, परिवार बिखण्डन भएको छ भने समाज पनि विकृत बनेको छ । यसमा युवापुस्ताले गम्भीरतापूर्वक सोच्नु र समिक्षा गर्नु आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *