बागलुङमा हात्तीपाइलेको १२ औं चरणको अभियान : ‘प्रति असर’को डरले खाँदैनन् औषधी

–आदर्श अनलाइन, बागलुङ

लगातार ६ वर्ष औषधी सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग बागलुङमा भने १२ औं पटक अभियान सञ्चालन गर्न थालिएको छ ।

बागलुङमा चैत्र २० गतेदेखि १२ औं चरणको हात्तीपाइले रोग बिरुद्धको अभियान शुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

लगातार ६ पटक औषधी खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने बताउँदै यसअघि ११ औ पटक सम्म अभियान चलाए पनि हात्तीपाइले निवारण नभए पछि अहिले १२ औं चरणको अभियान शुरु गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो ।

१२ औं चरणको अभियान शुरु गर्नु भन्दा पहिले हात्तीपाइले प्रभावित क्षेत्र नारायणस्थान र कुस्मिशेरामा चौथो पटकको नमूना संकलन गरिएको थियो । नमूना संकलन गर्दा नारायणस्थानमा ८ र कुश्मिसेरामा २ जनामा हात्तीपाइले पोजेटिभ देखिए पछि पुनः दुई वर्षका लागि अभियान थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

“हात्तीपाइलेको निवारण अभियान प्रभावकारी भएन भन्ने कुरा यसबाट बुझ्न सकिन्छ, नागरिक स्तरबाटै जागरुक नभए सम्म बागलुङमा यस्तो अभियान चलाइ राख्नु पर्ने देखियो” गुरौले भन्नुभयो “हात्तीपाइले अभियान दोहो¥याउनु पर्नेमा मूख्य कारण औषधीको प्रति असरको डर देखिन्छ, ५९ प्रतिशत नागरिकमा यस्तो समस्या सर्वेक्षणका क्रममा पाइयो, अब यो भ्रमलाई सबै मिलेर चिर्न आवश्यक छ ।” गुरांैका अनुसार औषधी अनिवार्य नभएको, चेतनाको अभावमा हात्तीपाइलेको औषधी नखाने प्रचलन अझै कायम छ ।

बुधबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले सन् २०२२ सालमा नेपालमा हात्तीपाइले निवारण गर्ने भनिए पनि बागलुङ जस्ता निवारण नभएका १२ जिल्लाका कारण यो अभियान बढाएर २०२८ सम्म पु¥याइएको बताउनुभयो । हात्तीपाइले निवारण नहुँनुका काराण अध्ययन गर्ने क्रममा गत वर्ष औषधी सेवन नगर्ने मध्ये ५९.८ प्रतिशतले प्रतिअसरको डरले औषधी नखाएको तथ्याङक संकलन गरिएको शर्माको भनाई छ । २०१० बाट शुरु भएको हात्तीपाइले निवारण अभियानमा शुरुको वर्ष ८० प्रतिशतले औषधी सेवन गरेका थिए । तर पछिल्लो अभियानमा यो घट्दै गएको र २०२० मा पुनः ८७.५ प्रतिशतले औषधी सेवन गरेको जनाइएको छ ।

औषधी सेवन नगर्ने संख्यालाई १ सय प्रतिशत मान्दा ५९.८ प्रतिशतले प्रति असरको डरले औषधी नखाएको, १९.६ ले आवश्यक नभएको भन्दै नआएको, ७.६ प्रतिशतले औषधी खुवाउन नआएको वा थाहा नपाएको, ११ प्रतिशतले चेतना नभएर र २.१ ले धेरै औषधी भएको कारण देखाउदै औषधी नखाएको बताएका थिए ।

यसरी गरिन्छ हात्तीपाइले निवारण

पाँच वर्ष लगातार हात्तीपाइलेको औषधी खुवाईसके पछि नमूना परीक्षण हुन्छ, उक्त नमूना परीक्षणमा जम्मा नमूना संख्याको दुई प्रतिशत भन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ । नत्र दुई वर्ष पुनः अभियान चलाउनुपर्ने हुन्छ । बागलुङमा भने तीन पटक सम्म नमूना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको पाइएका कारण चौथो पटकको नमूना संकलन गर्दा समेत १० जनामा पोजेटिभ भेटिएको थियो ।

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पटक–पटक हात्तीपाइलेको जीवाणु भेटिदा सिंगो जिल्लाभर औषधी खुवाउनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीको भनाई छ । संक्रमण एक प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याको रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा १२ औं पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था अवस्था आएको हो ।

हात्तीपाइले विरुद्धको औषधी सेवनमा नागरिकको बेवास्ता, लगातार औषधी नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपामा अभियान चलाईराख्नु परेको र जब सम्म निवारण हुँदैन, तब सम्म सबैले औषधी खानुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौंले बताउनुभयो ।

विश्वका धेरै देशहरुमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधी खाएर जोखिमबाट पूर्ण रुपमा बँच्न सकिदैन । अरु कसैलाई हात्तीपाइले छ, र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

बागलुङमा २ लाख ६४ हजार ८३६ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानमा २ वर्ष मुनिका बच्चा र गर्भवतीलाई औषधी खुवाइने छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *