नक्कली पीडित,असली अवतार र अदालत

सम्पादकीय
नेपाली समाजमा पछिल्लो समय दुई भनाई निकै चर्चित छ, एक ‘मन मिले मेला, नमिले झमेला’ अर्को ‘मन मिल्दा चमत्कार, नत्र बलात्कार ।’ यी भनाईले नेपाली समाजको पछिल्लो विकृत पात्र र प्रवृत्तिलाई उजागर गर्छ । समय सँगै बदलिएका युवाहरु मात्र होइन, बुढेसकाल लागेकाहरु सम्म पनि मेला र झमेला, चमात्कार र बलात्कारको काण्डमा फसिरहेका हुन्छन् । बागलुङ जिल्ला पनि यस्तो घटना र प्रवृत्तिबाट अछुतो रहेन । पछिल्लो केही वर्ष यता दर्जनौ बलात्कार र जबरजस्ती करणी प्रयासका घटना भएको समाचार सार्वजनिक भयो । प्रहरीमा उजुुरी, अदालतमा मुद्धाहरु दायर भए । यसमा कति पीडितहरुले न्याय पाए पनि । तर, बलात्कार भनिएका कतिपय घटना र अदालतको फैसलाले भने सबैलाई झस्काउने गरेको छ ।

बागलुङ जिल्ला अदालतको ताजा फैसला पनि यसको एक उदाहरण हो । आफूलाई बलात्कार गरेको आरोप सहित मुद्धा दायर गरेकी युवती नै सजायको भागिदार बन्नु परेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर ४ का २९ वर्षीय केशव डाँगीले आफुलाई पटक–पटक बलात्कार गरेको भन्दै बागलुङकी एक युवतीले २०७७ भदौ २९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएकी थिइन् । युवतीले प्रहरीलाई दिएको उजुरीमा आरोपितले आफूलाई पटक–पटक बलात्कार गरेको उल्लेख थियो । अन्ततः जिल्ला अदालत बागलुङले दुवैको बयान पश्चात ५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको छ । इजलाशबाट कसुर ठहर नभएकाले आरोपितलाई सफाई दिइएको छ । मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ४४ मा झुटा मुद्धा लगाएर फसाउन खोज्नेलाई ३ महिना कैद, ५ हजार जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।

बलात्कार आरोपित युवक ७ महिना पछि निर्दोष सावित भएर फिर्ति भएका छन् । योजनावद्ध जालसाजीबाट मुक्त भएका छन् । यो सुखद कुरा हो । तर, गम्भीर र संवेदनशील विषय अझै पनि यो छ कि डाँगीले अदालतबाट सफाई पाए पनि समाजको सुरुवाती बलात्कारीको नजर, दृष्टिकोण झट्ट बदलिन्न । जे होस् बलात्कार आरोप लगाए पछि कसै प्रति आग्रह पूर्वाग्रह साध्ने विकसित प्रवृत्ति रोक्न जिल्ला अदालतको पछिल्लो फैसला राम्रो नजिर बनेर आएको छ । अब हरेक बलात्कार प्रकरण आउन साथ यसको अनेकन पाटाको अध्ययन, अनुसन्धान र समिक्षा समाजमा हुनेछ । यसरी नियतवश गलत आरोप लगाउने जो कोही सजायको भागिदार बन्नेछन् । र नक्क्ली बलात्कारीको विषयले साँच्चिकै अन्याय र पीडामा परेकाहरु माथि न्याय नमिल्ने व्यथिति रोक्न पनि यसले महत्वपूर्ण कडीको रुपमा काम गर्नेछ । –आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *