बागलुङ बजारका कृष्णबहादुर श्रेष्ठ । पढेका डाक्टर होइनन्, तर धौलागिरीबासीले श्रेष्ठलाई डाक्टरकै रुपमा चिन्छन् । र अहिले पनि उसैगरि बोलाउने गर्छन् । स्वास्थ्यकाबारेमा चेतना र जागरण निकै कमजोर रहेको परिवेशमा स्वास्थ्य सेवामा प्रवेश गर्नुभएका श्रेष्ठ ६० बर्षदेखि अनवरत क्रियाशिल छन् । श्रीकृष्ण मेडिको फर्मा, बागलुङका सञ्चालक श्रेष्ठको छ दशक लामो स्वास्थ्य सेवा अनुभव, यस अवधिका अनेक अनुभूति, चुनौति र अवसरका बारेमा आदर्श सञ्चारकर्मी सिर्जना पन्तले अन्तरंग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अशंः
बाल्यकाल कसरी बित्यो ?
बाल्यकाल एकदमै रमाईलो थियो । खोलामा जाने साथीहरुसंग खेल्ने, माछा मार्ने गरिन्थ्यो । मलाई माछा मार्न साह्रै मन लाग्ने सानोमा ८,९ वर्षको उमेरमा त गुलेली लिएर पाखापाखा दर्गुर्ने गरिन्थ्यो । त्यो बेलामा साधारण एउटा पाईजा, कुर्था लगाउँथ्यौं । जुत्ता लगाउने त चलन नै थिएन । जुत्ता, नयाँ लुगा त दशैंमा मात्रै हो । नभए कहिलै लगाईएन । मासु खान पनि दशैं आउनुपर्ने । चाडपर्व कहिले आउछ भनेर कुरेर बस्थ्यौं ।
शिक्षादिक्षा चाही कस्तो रह्यो ? कहाँ, कसरी, कति सम्म पढ्नु भो त ?
विद्या मन्दिरमा ६ कक्षा सम्म थियो । त्यसपछि काठमाडौंमा पढेको एसएलसी सम्म । पढाई त्यतीनै हो । सिभिल मेडिकल स्कुलमा स्वास्थ्य सहायकको दुई वर्षको तालिम लिए त्यो भन्दा बढी केही छैन ।
सानोमा रुचि खास कस्ता बिषयमा थियो ?
नाटक, कवितामा रुचि थियो । सानोमा नाटकमा भाग पनि लिए, अभिनय पनि गरे । तर, अहिले जीवन नै नाटक रहेछ जस्तो लाग्छ । बढ्दै जाँदा स्वास्थ्य क्षेत्रमा पनि रुचि बढ्यो । अहिले आध्यामिक चिन्तनमा सबै भन्दा बढी रुचि छ ।
स्वास्थ्य क्षेत्रमै कसरी जोडिनु भयो ?
जीवनमा एउटा अविस्मरणीय घटना भयो । त्यही घटनाले मलाई स्वास्थ्य क्षेत्रमा ल्याएर जोड्यो । मेरो मुमा हुनुहुन्थ्यो । उहाँले म सँग गरेर १२ जना छोराछोरी जन्माउनु भएको । अझ पनि छ भाईमा हामीहरु पाँच भाई खडै छौं । चार बहिनीमा एउटा बहिनी अहिले पनि छ । तीन बहिनी वितिसक्यो । मुमा अन्तिम पटक गर्भवती भएको समयमा म त काठमाण्डौंमा थिए । पढ्थे मैले त्यतिबेला । त्यो समयमा अस्पतालको त कुरै भएन । २०१६ सालमा म नै पहिलो पटक आएको हो । नौ महिनामा बच्चा जन्मनु पर्नेमा १२ महिना कटिसक्दा पनि बच्चा जन्मन सकेनछ । ठुलो आपत प¥यो । स्वीजरल्याण्डको स्वास्थ्य क्षेत्रमा अनुभव भएका र डाक्टरहरुको टोली हिमाल चढ्न भनेर आएका रहेछन् । उनीहरु फर्सेमा बसेका रहेछन् । त्यस्तो मान्छेहरु त्यहाँ छन् भनेपछि उनीहरुलाई ल्याएर आएपछि उनीहरुले आमाको अप्रेशन गरेछन् । बच्चा त बच्ने कुरै भएन तर उनीहरुले आमालाई बचाईदिए । मलाई त्यो बेला लाग्यो, स्वास्थ्य भनेको सबैभन्दा ठुलो कुरा हो । ठुलो परिवार आर्थिक अभावले पनि डाक्टर पढाउने परिवारको अवस्था थिएन । मैले जसरी पनि स्वास्थ्य क्षेत्रमा जोडिन्छु भनेर सिभिल मेडिकल स्कुलमा स्वास्थ्य सहायकको दुई वर्षको तालिम लिए । त्यो तालिम लिएर २०१६ सालमा बागलुङ आएको हुँ । त्यसपछि निरन्तर यहि क्षेत्रमा छु ।
नेवारी समुदायमा व्यापारको बढी प्रभाव छ । स्वास्थ्य क्षेत्र यो सेवा सहितको पेशा र व्यवसाय । तपाईको आँफ्नै रोजाई थियो की अभिभावकको ?
मेरो आफ्नो रोजाई हो । मेरो मुमालाई जुन घटना भयो, त्यसपछि मैले डाक्टर नै हुन्छु भन्ने सोचेको थिए । घर, परिवार र आर्थिक समस्याको कारणले त्यो कुरा पुरा हुन सक्ने नदेखे पछि मैले सानै पदमा बसेर भएपनि बिरामीको सेवा गर्छु भनेर सोचेको हुँ । त्यसमा आफ्नो गच्छे अनुसारको परिवारले सहयोग पनि ग¥यो । तर रोजाई मेरो आफ्नै हो ।
हामीकहाँ गाउँघरका अहेब, अरु स्वास्थ्यकर्मीलाई पनि डाक्टर भन्ने चलन छ । तपाई चाही पढेको डाक्टर की सेवाभाव, कामले जनताले डाक्टर भनेको डाक्टर ?
मैले पहिले पनि भने । सिभिल मेडिकल स्कुलमा स्वास्थ्य सहायकको दुई वर्षको तालिम लिएको हुँ । म डाक्टर होइन, स्वास्थ्य सहायक हो । होमियोप्याथिमा मैले डाक्टरी गरेको हुँ तर एलोपेथिकमा म स्वास्थ्य सहायक हो । तर जनताको माया र बिश्वासले दिएको उपनाम, पदवी जे भनौं त्यो हो डाक्टर भन्ने शब्द । मैले कतिलाई भन्नु म डाक्टर होइन भनेर त । अहिले सम्म जीवनमा लाखौं मान्छेहरुको उपचार गरे हुँला । पहिले त सबैखालको उपचार गरियो । अहिले स्वास्थ्य परामर्श दिने मात्र गर्छु । यो अस्पतालमा जानुस् त्यो अस्पतालमा जानुस् भन्ने गरेको छु । अहिले पनि ल है कृष्ण डाक्टरकोमा जाने र उपचार गर्न भनेर गाउँ गाउँबाट आउनुहुन्छ । उहाँहरुलाई के गर्ने त यो गर्नुस् त्यो नगर्नुस भनेर पठाउने गरेको छु । म जनताले बनाएको डाक्टर हुँ ।
कति मान्छेको स्वास्थ्य जाँच र उपचार गर्नु भो । त्यसको हिसाव त हुने कुरा रहेन । तर, कुनै त्यस्तो जाँच, उपचार छ, जुन तपाईको दिल दिमागमा अलि फरक हिसावले स्मरण हुन्छ ?
अहिले सम्म जीवनमा यतिनै भन्ने त के गन्ती भयो र ? लाखौं मान्छेसंग भेट भयो होला । उपचार गरियो होला, स्वास्थ्य परामर्श दिईयो होला । कतिपय रमाईला अनुभव पनि छन्, कतिपय दुखद अनुभव पनि छन् । तर, स्वास्थ्य क्षेत्रमा जोडिदा खेरि सबै भन्दा पहिलो अनुभव अविस्मरणीय हुँदो रहेछ । रघुनाथ राजभण्डारी विरामी पर्नुभएछ । त्यो बेला हाम्रो तिर कोहि गम्भिर बिरामी भयो भने गोबर, माटोमा उत्तानो पारेर सुताउँने । उहाँलाई पनि झारफुक गर्ने मान्छेले अब मर्छ भनेर भनेछ । उसलाई पनि मर्छ भनेर गोबर, माटोमा सुताई सकेको । उनको १० दिन सम्म दिसा नभएको । त्यो बेलामा एनेमा भन्छ । साबुन, पानी गिलिसिरिन बोत्तलमा राखेर त्यसमा पाईप लगाएर उसलाई त्यो दिएर दिशा गराउने । ऊ एकदमै गम्भिर भइसकेको बच्छ भन्ने ग्यारेन्टी छैन । उसको परिवारलाई यस्तो स्थिति छ, केही भइहाल्यो भने मलाई दोष दिन पाउँदैनौ केही विकल्प छैन । यसैउसै मर्ने नै भयो भनेर भनेपछि परिवारले हुन्छ भने अनि एनेमा दिएको ठुलो ठुलो शालाग्राम जस्तो गोटा गोटा दिशा ग¥यो र बाँच्यो पनि । उ अहिले पनि छ । घर परिवार, छोरा बुहारी सबै भइसके । यस्तो समस्या भएकालाई कति बचाईया,े कति बचाईयो त्यो समयमा त ।
यो क्षेत्र अलि अपजसी र जोखिमको संवेदनशिल पेशा भयो । तपाई आँफै कतिको सन्तुष्ट हुनुहुन्छ ?
हो , यो पेशा अपजसी पेशा हो । तर म भने सन्तुष्ट छु । ठुला ठुला एमडी, पिएचडी गरेका डाक्टरहरुको त केश परिराखेका छन् । तर भगवानको आर्शिवादले भनौ, मैले अपजस अहिले सम्म सहन परेको छैन । मैले सर्वसाधारणको रुपमा तपाईलाई नै सोध्न चाहान्छु, तपाईले मेरो बारेमा केही सुन्नुभएको तपाईले त्यस्तो भोग्नुभएको छ ?
स्वास्थ्य क्षेत्रका खासगरी सरकारी अस्पताल स्वास्थ्य संस्थाहरुको समस्या, चुनौतिलाई कसरी हेर्नुभाछ ? गुनासो अलि बढी आउने गर्छ नि । के कारण होला ?
म पनि पाँच वर्ष त नेपाल सरकारकै जागिरेको रुपमा काम गरेको हुँ । अहिलेको अञ्चल अस्पताल त्यतिबेला डिस्पेन्सरी भनिन्थ्यो । सावधान केही छैन, बिरामीलाई बोकाएर ल्याउने । रातभर नसुतेर पनि काम गरियो । मैले दशैं, तिहार कहिल्यै भनिन । निस्वार्थ स्वास्थ्य क्षेत्रमा काम गर्न नसकेर पनि होला । स्वास्थ्य क्षेत्र सेवा भन्दा पनि व्यवसाय बढी जस्तो भएको छ, त्यसैले पनि होला । दुई रुपैयाको ट्याब्लेटले हुने ठाउँमा १० रुपैयाको ट्यावलेट किन लेख्ने ?
यो समाजमा आफ्नो र परिवारको स्वास्थ्य प्रति कतिको सचेत पाउनु हुन्छ नागरिकहरु ?
पहिलेको हिसाबले त सचेत छन् । पहिले शिक्षा थिएन, ज्ञान थिएन । औषधी खाने ठाउँ थिएन, पैसा थिएन र पनि होला । पहिलेको तुलनामा अहिले सबै कुरा राम्रो हुँदै गएको छ । मानिसहरु स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने कुरामा सचेत भएको भएपनि बिरामी नपर्न के गर्ने, के खाने, कसरी हिड्ने, आफ्नो छोराछोरीलाई कस्तो स्वास्थ्यबद्धक खानेकुरा खुवाउने भन्ने विषयमा भने लापरवाही गरेको पाउँछु । एकथरी त आफै जान्ने भएर त्यो औषधी दिनुस्, यो औषधी दिनुस् भन्ने आफै खोज्नेहरु पनि हुनुहुन्छ केही भने परामर्श लिएरै औषधी सेवन गर्नेहरु पनि हुनुहुन्छ ।
८२ बर्ष हुनु भो । अब त बिश्राम लिऔं, आनन्दपूर्वक बसौ भन्ने हुँदैन ?
मलाई त ८२ वर्ष भए जस्तै लाग्दैन । मेरो लागि आनन्द भनेकै यहि ठाउँ हो । म यो काम भन्दा बाहिर रहे भने विरामी हुन्छु, एक्लो हुन्छु । मैले अरु जेष्ठ नागरिकहरुलाई पनि सुझाव दिन चाहान्छु । म बुढो भए, म हिड्न सक्दिन भनेर भन्नु हुँदैन । रोग नै लाग्यो भने त अर्काे कुरा हो तर मानसिक रुपले कमजोर हुने अर्काे कुरा हो । जबसम्म हामीहरु मानसिक रुपमा बलियो हुन्छौं अरु सबै कुरा ठिक हुन्छ । मलाई त यहि काममा आनन्द छ, म त मेरो श्वास रहुन्जेल यही क्षेत्रमा लागिरहन्छु ।
यो यात्राको क्रममा धेरैलाई जीवनदान दिनुभयो, आफ्नो जीवन स्वास्थ्य चाही के कस्तो छ ?
मलाई एकदमै ठिक छ, रोग भन्ने छैन । पहिले उमेरमा विभिन्न संघ संस्थामा हिडियो त्यो बेला संगतले पनि होला रक्सी, मासु खाने रमालाई गर्ने गरियो । खानपानको कारणले गर्दा पनि प्रेसर एकदमै हाई भयो । भर्खरको उमेरमा एकदमै हाई प्रेसर भयो । विचमा मैले सबै कुरा कन्ट्रोल गरे । अहिले पनि डाक्टर मानबहादुर हुनुहुन्छ । उहाँसंग परामर्श गरेर प्रेसरको दुई थरी औषधी लिने गरेको छु । प्रेसर त छैन तर बाचुञ्जेल यो औषधी खाने भनेर डाक्टरकै सल्लाह अनुसार त्यो औषधी खाएको छु । वर्षको एक पटक सम्पूर्ण स्वास्थ्य जाँच गराउँछु । सबै कुरा ठिक छ ।
तपाईको व्यक्तिगत जीवन र परिवारमा निकै उतार चढाव आयो, यतिधेरै पीडा, कठिनाईहरुका बाबजुद पनि एउटा व्यक्ति स्वास्थ्य क्षेत्रमा यसरी निरन्तर लागिरहन कसरी सम्भव भयो ?
जीवनमा मलाई जति आपत विपत कस्लाई प¥यो होला । मानिसहरु सानो सानो कुराले घटनाले डिप्रेसनमा जान्छन् । मेरै कतिपय साथीहरु सानो सानो घटनाले जीवन त्यागेका छन् । त्यस्तो गर्ने मान्छेहरुले जीवन बुझेकै छैनन् भन्छु । जसले जीवनलाई बुझ्छ त्यसले कहिल्यै त्यस्तो निर्णय लिदैंन । आखिर जीवन के छ र मर्ने बाँच्ने भनेको कुरा भगवानकै पालादेखि चल्दै आएको हो । हामीले पुज्दै आएका राम भगवानलाई जीवनमा कति विपत प¥यो । १४ वर्ष बनबास भयो, पौराणिक कथाहरुमा कति पढिरहेका हुन्छौं । हामी त सर्वसाधरण मान्छे हो । जानेलाई कसले छेकेर छेकिन्छ । मैले बच्चा देखि कहिल्यै केही बिराईन, सबैले हाइ हाई गरेर हुर्केको । अहिले सम्म पनि मैले कसैलाई अपशब्द बोलेको छैन । झै–झगडा गरिन । जतिले सहायता माग्नुभयो, सबैलाई सहयोग गरेकै थिए, गरेकै छु । तर जति राम्रो ग¥यो त्यति नै नराम्रो हुँदा दिक्क पनि लाग्छ कहिले काँही त धर्मकर्म भन्ने पनि त्यस्तै रहेछ जस्तो हुन्छ । समाजमा नराम्रो गर्नेहरुको राम्रो राम्रो देख्दा र आफुले सधै राम्रो गर्दा पनि नराम्रो आइपर्दा दुख लाग्छ । तर पौराणिक ग्रन्थ र शास्त्रहरुमा हेर्दा यो जन्मको कर्म अर्काे जन्मको लागि हो भन्दा होला जस्तो पनि लाग्छ ।
मलाई कस्तो हुन्छ भने नानी, बिरामी संग बस्दा, उनीहरुको समस्या सुन्दा मैले मेरा हरेक दुःखहरु बिर्सन्छु । मलाई उनीहरुको उपचार गर्दा, उनीहरुलाई परामर्श दिंदा यति आनन्द आउँछ, बिरामीलाई आफ्नै हातले औषधी र पानी नदिए सम्म मलाई चित्तै बुझ्दैन । यहाँ जतिसुकै भिड किन नहोस् मलाई आफ्नै हातले औषधी नखुवाए सम्म चित्त बुझदैन । जब म यहाँ आउँछु मेरो उमेर, मेरा दुःखहरु र मेरा पीडाहरु सबै बिर्सन्छु र यही खटिरहेको हुन्छु । बरु म एक्लै बस्न सक्दिन । खटपटी हुन्छ । बिरामी संगको लगाव, उनीहरुले मलाई गर्ने माया र मैले उनीहरुलाई स्वास्थ्य क्षेत्रलाई गर्ने मायाको कारणले नै होला, म निरन्तर यहि क्षेत्रमा छु ।