आदर्श अनलाइन, कास्की
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ ।
गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।
गाउँको १ सहकारीका सदस्य सहकारी भ्रमणमा गएर फर्किएपछि सुरुमा ३ जनामा संक्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा संक्रमण पुष्टि भएको छ ।
सङ्क्रमितहरू भ्रमणमा गएका र उनीहरूका परिवारका सदस्य हुन् । कार्यालयबाट सेवा प्रवाह गर्दा सङ्क्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
यता, जिल्ला प्रशासन कार्यालय कास्कीले पछिल्लो समय भारतलगायत छिमेकी देशमा फैलिरहेको कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अनावश्यक सभा समारोह, सम्मेलन र भेला आयोजना नगर्न आग्रह गरेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकपछि प्रशासनले साँझ सूचना जारी गरी कोभिड १९ नेपालमा पनि बढ्नसक्ने भएकाले सोको नियन्त्रणका लागि विभिन्न छ बुँदे निर्देशन जारी गरेको छ ।
प्रशासनले नजिकँदै गरेको होलीपर्वलगायत चाडपर्व मनाउँदा र अत्यावश्यकबाहेक गोष्ठी, भेला, कार्यक्रम गर्दा भीडभाड नगरी अनिवार्य जनस्वास्थ्यको पालना गर्न आग्रह गरिएको छ ।
क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राख्ने, सरकारी तथा गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थामा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउने र सुरक्षित तवरले सेवा प्रवाह मिलाउन आग्रह गरिएको छ ।
मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजर, भौतिक दूरी कायम गर्न आग्रह गर्दैै प्रशासनले होटल रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा समेत तोकिएको मापदण्डको पालना गर्न भनिएको छ । प्रशासनको आग्रहलाई अवज्ञा गर्ने गराउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानुनबमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।