जैमिनीका गाउँ–गाउँमा भिडियो एक्सरे

सिर्जना पन्त, बागलुङ
महिनावारी रोकिएको थाहा पाए पछि गर्भवती महिलाको पाठेघर भित्र बच्चा उचित स्थानमा भए नभएको जान्नका लागि (ट्रान्स प्रेजनर स्क्यान) पहिलो पटक भिडियो एक्सरे गरिन्छ । दोस्रो पटक आमाले स्वास्थ्यकर्मीलाई दिएको उमेर र गर्भको बच्चाको उमेर एउटै छ, छैन ? पत्ता लगाउन (डेटिङ स्क्यान) भिडियो एक्सरे गरिन्छ ।

यसैगरी बच्चाको शारीरिक अवस्था, अपाङ्गता भए नभएको पत्ता लगाउनका लागि गर्भवती भएको १२ हप्तामा (नुकल ट्रान्सोसेन्सी स्क्यान) भिडियो एक्सरे गरिन्छ ।

धौलागिरी अस्पताल बागलुङका स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर केशव आचार्य गर्भवती महिलाले तीन पटक अनिवार्य, स्वास्थ्यकर्मीको परामर्श र गर्भवतीको अवस्था अनुसार जति पटक पनि भिडियो एक्सरे गर्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार गर्भवती भएको जानकारी हुँदा साथ पहिलो पटक, गर्भवती भएको ४ देखि ५ महिनामा दोस्रो पटक र ७ देखि ८ महिनामा तेस्रो पटक अनिवार्य भिडियो एक्सरे गर्नुपर्छ ।

गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसुती हुने समयमा हुन सक्ने जटिलतालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको परामर्श अनुसार अन्य समयमा पनि भिडियो एक्सरे गर्न सकिन्छ । तर, स्वास्थ्यकर्मीले ३ पटक अनिवार्य भिडियो एक्सरे गर्नुपर्ने सुझाव परामर्श दिए पनि सचेतनाको अभाव, भौगोलिक विकटता र स्वास्थ्य संस्थामा सहज पहुँच अभावका कारण गर्भवती अवस्थामा स्वास्थ्य मापदण्ड अनुसार भिडियो एक्सरे गर्ने र गर्भजाँच गराउनेको संख्या न्यून छ ।

जैमिनी नगरपालिका–८ छिस्तीकी २९ वर्षीया याममाया थापा भर्खरै चौथो सन्तान्तको आमा बन्नुभएको छ । एक महिना पहिले उहाँले चौथो सन्तानको रुपमा छोरालाई जन्म दिनुभयो । यसअघि थापाका १२, ९ र ४ वर्षका तीन छोरी थिए । पहिलो पटक गर्भवती हुँदा छोरी जन्मने समयमा धौलागिरी अस्पतालमा एक पटक, दोस्रो पटक गर्भवती हुँदा ७ महिनामा एक पटक र तेस्रो पटक गर्भवती हुँदा २ पटक मात्र भिडियो एक्सरे गरेको थापाको भनाई छ ।

‘पहिलो पटक भिडियो एक्सरे गर्नुपर्छ भन्ने थाहै थिएन, दोस्रो र तेस्रो पटक जानकारी भए पनि नजिक स्वास्थ्य संस्था नहुँदा गर्न पाइन,’ थापाले भन्नुभयो ‘यसपटक भने गाउँमै ३ पटक एक्सरे गरे ।’ ‘पाठेघरमा बच्चा उल्टो सुल्टो भएको, अपाङ्गता भए नभएको, गर्भमै बच्चाको तौल र उमेर पनि थाहा पाइने रहेछ,’ थापाले भन्नुभयो ‘गाउँमै भिडियो एक्सरे गर्न पाउँदा समय र पैसाको पनि बचत हुने यस पटक आनन्द भयो ।’

‘पछिल्लो पटक पहिलो २ पटक सदरमुकाम पुगेर भिडियो एक्सरे गरेकी थिए, गाडीमा आउजाउँ गर्भवती अवस्थामा साह्रै ग्राहो हुने,’ उहाँले भन्नुभयो ‘असोज महिनाबाट छिस्ती स्वास्थ्य चौकीमै भिडियो एक्सरे गर्न थालेपछि मलाई मात्र होइन, अब यस क्षेत्रका सबै महिलालाई सहज हुने भएको छ ।’

समय समयमा भिडियो एक्सरे नगर्दा गर्भवती, गर्भको बच्चा र प्रसुतीको समयमा आउन सक्ने जटिलतालाई ध्यानमा राख्दै जैमिनी नगरपालिकाले पछिल्लो समय गाउँ–गाउँमै गएर भिडियो एक्सरे (स्क्रिनिङ शिविर) सञ्चालन गर्न थालेको हो ।

जैमिनी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स सुनिता चालिसेले जैमिनीका अधिकांश गर्भवती महिलाले १ पटक मात्र भिडियो एक्सरे गरेको पाइए पछि रिक्स कभरेज गर्नका लागि गाउँ–गाउँमै पुगेर स्क्रिनिङ शिविर सञ्चालन गर्न थालेको बताउनुभयो ।

नगरपालिकाले संघीय सरकारको १ लाख र नगरको २ लाख गरी चालु आर्थिक वर्षको असोज महिनाबाट नगरपालिकाका १ सहरी स्वास्थ्य क्लिनिक र ८ स्वास्थ्य चौकीबाट स्क्रिनिङ शिविर सञ्चालन गर्न थालेको हो । पैयुथन्थाप स्वास्थ्य चौकी, राङ्खानी स्वास्थ्य चौकी, छिस्ती स्वास्थ्य चौकी र नेपाने सहरी स्वास्थ्य क्लिनीकमा पहिलो पटक असोज र दोस्रो पटक पुस महिनामा स्क्रिनिङ शिविर सञ्चालन गरिएको चालिसेले बताउनुभयो । त्यसैगरी नगरपालिकाले जैदी स्वास्थ्य चौकी, अर्जेवा स्वास्थ्य चौकी, दमेक स्वास्थ्य चौकी, सर्कुवा स्वास्थ्य चौकी र विनामारे स्वास्थ्य चौकीमा कात्तिक र माघ महिनामा दुई पटक शिविर सञ्चालन गरेको छ ।

शिविरबाट हालसम्म २ सय ३३ जना महिलाले सेवा लिएको चालिसेको भनाई छ । ‘प्रोटेबल भिडियो एक्सरे मिसिन’ सहित नगरपालिकाबाट १ जना तालिम प्राप्त नर्स लिएर आफै स्वास्थ्य चौकीसम्म पुगेर शिविर सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । हरेक ३÷३ महिनामा गाउँमै पुगेर शिविर सञ्चालन गरिने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *