जब दुई युवा कुटपिटपछि भिरबाट खसालिएर मारिए…

डम्मर बुढा मगर, बागलुङ
चैत १५ गते बिहान ११ बजे निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुटका २०÷२२ जना युवा होली पूर्णिमा मनाउन बागलुङको बडिगाड दर्लिङ र निसीखोलाको राजकुटको सिमाना बल्देधुरी तिर लागे । एक डेढ घण्टाको यात्रापछि उनीहरु बल्देधुरीमा पुगे ।

धुरीमा बडिगाड गाउँपालिका वडा नम्बर १० का युवा तथा अन्य स्थानीयको पनि उपस्थिति भयो । केही बेर नाँचगान तथा होली खेलियो । त्यसै क्रममा निसीखोलाको राजकुटबाट त्यहाँ पुगेका एक युवाले दर्लिङकी एक युवतीलाई रंग लगाई दिए । ती युवतीसँग भएका युवकसँग केही बेर विवाद प¥यो ।

त्यो विवाद सल्टिए पछि केही बेरमा ती युवाले दर्लिङबाट गएका युवाको टोली लिएर आए । त्यसपछि दुई पक्ष बिच झडप सुरु भयो । झडप सुरु भएको १५ मिनेटमै झडपले उग्र रुप लियो । २ जनाको मृत्यु भयो । दर्जन युवा घाइते भए ।

साढे ४ बजेदेखि सुरु विवाद पौने पाँच बजेसम्म चल्यो । त्यही अवधीमा राजकुटबाट गएका प्रकाश कुँवर, दीपक परियारको मृत्यु भयो । ज्ञानु परियार लगायत १३ जना युवा भिरबाट खस्दा घाइते भए । घाइते मध्ये ज्ञानुको अवस्था गम्भीर छ । विवादका क्रममा भिरबाट खसालिएका युवाहरु मध्ये तिलक कुँवर पनि एक हुनुहुन्छ ।

उहाँ पनि घाइते हुनुहुन्छ । उहाँको खुट्टा र शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । युवाहरुको ठूलो जमात आफूहरु माथि आइलाग्दा होली मनाउन गएका युवाहरु अधिकांश घाइते भएको उहाँको दाबी छ । उहाँले प्रहरीलाई खबर नगरेको भए भिरबाट खसालिएका सबैको ज्यान जाने सक्ने बताउँनुहुन्छ ।

‘यस्तो घटना होला भन्ने त हामीले सोचेका थिएनौँ, सिंगो युवा जमातले हामी माथि आक्रमण ग¥यो, तल भिर छ भन्ने थाहा भएन, माथिबाट कुटपिट गरी धकेल्दै भिरबाट खसाले’ कुँवरले भन्नुभयो ‘माथि चौर थियो, चौरमा ढुङ्गा मुढाले हाने, हामी चौरदेखि झण्डै एक समय मिटर तल खसेका थियौँ ।’

आफूहरुलाई सुरुमा कुटपिट गरेर भिरबाट खसालेको र पछि मृत्यु भएका प्रकाश कुँवर र दीपक परियारलाई खसालिएको उहाँले बताउनुहुन्छ । मृतक कुँवर र परियारलाई चौरमै निर्घात कुटपिट गरी गम्भीर बनाएर भिरबाट खसालेको उहाँको भनाई छ ।

‘दर्लिङबाट उपस्थित भएका युवाहरुले हामीलाई कुटपिट गरेर भिरबाट खसाले, पछि त्यो दुई जनालाई माथिनै ढुङ्गाले हानेरै फाल्देका रहेछन्,’ उहाँले भन्नुभयो ‘हामी तीन जनालाई सुरुमै भिरमा फाले, माथि कोही नभएपछि उनीहरुलाई कुट्न सम्म कुटेछन् ।’

कुवँरले आफूहरु भिरमा खसेपछि माथि निस्कने अवस्था नभएको भन्दै त्यहाँबाट तल तिर झरेको भए पनि आफूहरु जिउँदो फर्किन नसक्ने बताउनुभयो । भिरबाटै इलाका प्रहरी कार्यालय बुर्तिबाङमा खबर गरी प्रहरी आए पछि मात्रै भिरबाट निस्किएको उहाँको भनाई छ ।

‘भिरबाट त खसाले, अब कताबाट निस्कनु चारै तिरबाट घेरा हालेका थिए, भिरबाटै म आफै प्रहरीलाई फोन गरेर जानकारी गराएँ, प्रहरी आएपछि मात्रै हामी निस्किएका थियौँ, पहिलेनै निस्किएको भए, हामी पनि बच्ने थिएनौँ, हामीलाई पनि मार्थे,’ उहाँले भन्नुभयो ‘सबै तिरबाट घेरा हालेका थिए, भिरबाटै पुलिसलाई फोन नगरेको भए मरिन्थ्यो ।’

यो घटना स्थानीय झनबहादुर बुढा मगरको नेतृत्वमा भएको कुवँरको दाबी छ । आफूहरुले विवाद मिलाउने प्रयास गरे पनि बुढा मगरले युवाहरुलाई उक्साएर ठूलो घटना भएको उहाँ बताउनुहुन्छ ।
झडपमा गम्भीर घाइते ज्ञानु परियारको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा रिफर गरिएको निसीखोला गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो ।

गम्भीर घाइते दीपक दमाईलाई सम्पर्क गर्दा आफ्नो शरीरमा गम्भीर चोट लागेको हुँदा बोल्न नसक्ने भन्दै घटनाबारे पछि जानकारी दिने प्रतिक्रिया दिनुभयो ।

झडपमा मारिएका दुई जनानै कांग्रेस कार्यकर्ता हुन् । प्रकाश कुँवर कांग्रेस बागलुङको जिल्ला सदस्य हुन् भने दीपक सक्रिय कार्यकर्ता रहेको कांग्रेस बागलुङले जनाएको छ । कांग्रेसले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र घाइतेको उपचारका लागि सरकारसँग माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन । घटना भएको २४ घण्टा बित्न लाग्दा पनि प्रहरीले दोषी पक्राउ गर्नु नसक्दा घटनाले थप संशकित बनाउन सक्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (डिएसपी) इकवाल हवारीले भने घटनाको अनुसन्धान भइरहेको मात्र बताउनुहुुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *