आदर्श अनलाइन, स्याङ्जा
घाइते भएका ट्याक्टरका सहचालकलाई नदीमा फालेको अभियोगमा सोही ट्याक्टरका चालकललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेकाे छ ।
स्याङ्जा जिल्लाकाे गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने १९ वर्षीय गणेश गाहालाई घाइते अवस्थामा कालिगण्डकी नदीमा फालेको अभियोगमा सोही ट्याक्टरका चालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने २७ वर्षीय अमित परियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
लु.अ.अ.फ. १०१२ अस्थायी नम्बरप्लेट भएकाे ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै ट्याक्टरका सहचालकलाई नदीमा बगाएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खोजतलास तथा अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले घटनामा संलग्न ट्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने २१ वर्षीय सुनिल रानालाई पाल्पा प्रहरीको सहयोगमा चैत ८ गते पक्राउ गरेको थियो ।
सोही घटनामा संलग्न रही फरार रहेका मुख्य अभियुक्त तथा चालक अमितलाई श्रीमती र छोरी सहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरीले रूपन्देहीको वेलहिया नाकाबाट फेला पारी पक्राउ गरेको हो ।
चैत ५ गते ट्याक्टर चालक अमित तथा सहचालकद्वय सुनिल र गणेशले साँखरबाट दिनभरि वालुवा बोकी बेलुकी फर्कने क्रममा गणेश ट्याक्टरबाट खसेर घाइते भएपछि उनलाई अमित र सुनिलले सोही ट्याक्टरमा राखेर कालिगण्डकी साँखरघाटमा लगि नदीमा बगाएको खुल्न आएको छ ।
अमितलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।