अमलाचौरका शेयर सदस्यलाई बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम

आदर्श अनलाइन, बागलुङ
सहकारीका सदस्यहरुलाई सक्रिय बनाइ आर्थिक तथा सामाजिक रुपमा अगाडि बढाउने उद्देश्यका साथ बलेवा एकता वचत तथा ऋण सहकारी संस्थाले २ दिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शुरु गरेको छ ।

बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा सञ्चालित संस्थाले अमलाचौर सेवा केन्द्र अन्तरगतका शेयर सदस्यहरुका लागि २ दिने तालिम आयोजना गरेको हो ।

बानपा–१२ अमलाचौरमा रहेको सेवा केन्द्र अन्तरगतका शेयर सदस्यहरुलाई सहभागी गराई वित्तीय रुपमा सचेत बनाउनुका साथै संस्थासंगको सम्बन्ध बढाउनका लागि तालिम आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेल (बागलुङे) ले जानकारी दिनुभयो ।

सहकारी ऐन, नियम र संस्थाको विनियम तथा कार्यविधिहरुका आधारमा संस्थाले सञ्चालन गर्ने सेवामा सदस्यको सक्रिय सहभागिता, सहकारीको मर्म र भावना अनुसार संस्थाको व्यवसायमा संलग्नता तथा संस्थाको रणनीतिक योजना अनुसार संस्थालाई अगाडि बढाउनका लागि सदस्यहरुको सहभागिताका लागि तालिम सहयोगी हुने संस्थाले जनाएको छ ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सक्रिय सदस्य, क्षमतावान सञ्चालक र दक्ष कर्मचारीहरुको आवश्यकता पर्नेमा जोड दिनुभयो ।

सहकारीका मालिक सदस्यहरु हुन्, सदस्यहरुले आफु मालिक भएको महसुस गर्ने गरी सहकारी सञ्चालनका लागि सहकारी शिक्षा, सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
तालिमको उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष गुरुदत्त पाठकले स्थानीय जनताको आर्थिक विकासका लागि सहकारीहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारीहरुलाई एकीकरण गरी प्रभावकारी रुपमा सञ्चालनका लागि वडा कार्यालयले संयोजन गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका भविश्वसर रेग्मी, नेपाली कांग्रेसका ढाकाराम पौडेल, नेकपा (माओवादी केन्द्र) का भोजराज पाध्या, राष्ट्रिय जनमोर्चाका गोविन्द प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बलेवा एकता साकोसका अमलाचौर सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष घनश्याम सुनारको अध्यक्षता, उपाध्यक्ष कोपिलामणी ढकालको स्वागत र संस्थाका प्रवन्धक भरत पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

आफ्नै सुविधा सम्पन्न भवनबाट कारोबार सञ्चालन गरेको संस्थामा हाल २ हजार जना शेयर सदस्य, २ करोड ६ लाख शेयर रकम, २५ करोड बचत, १४ करोड कर्जा लगानी रहेको प्रवन्धक पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *