पत्रकार महासंघको नयाँ नेतृत्वलाई बधाई

सम्पादकीय
नेपाली पत्रकारहरुको साझा र छाता संस्था नेपाल पत्रकार महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट नयाँ नेतृत्व चयन गरेको छ । संघीयताको भावना र मर्म अनुरुप देशका सामाजिक संघ संस्थाहरु मध्ये नागरिक समाजको अगुवा संस्थाको रुपमा समेत तीन तहको निर्वाचन एकैसाथ गरेर पृथक सन्देश समेत दिएको छ । यतिमात्रै होइन, समावेशी सहभागिताको सुनिश्चितताका सन्दर्भमा पनि पत्रकार महासंघले अनुकरणीय अभ्यास गरेको छ । पहिलो पटक नयाँ अभ्यास र अनुभव हुँदा हुँदै पनि देशभरका १३ हजार पत्रकारले आफ्नै जिल्लाबाट नयाँ नेतृत्व चुन्ने अधिकार र अवसर पाए, यसले देशमै नयाँ तरंग पैदा गरेको छ ।

पहिलो पटक नयाँ संघीय अभ्यासमा निर्वाचन गरेको पत्रकार महासंघको नयाँ नेतृत्वमा लोकतान्त्रिक प्यानलबाट विपुल पोखरेल नेतृत्वको टीम विजयी भएका छन् । महासंघ चुनावमा प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वको गठबन्धनले प्यानल नै जितेको छ । देशव्यापी परिणामलाई हेर्दा नेपाली कांग्रेस निकट प्रेस युनियनले ४६ जिल्ला अध्यक्ष जितेको छ भने नेकपा एमाले निकट ओली पक्ष प्रेस चौतारीले महागठन्धनका बाबजुद पनि ११ जिल्ला अध्यक्षमा बिजयी हासिल गरेको छ । नेकपा माओवादी केन्द्र निकट प्रेस संगठनले १० जिल्ला, माधव नेपाल निकट चौतारीले ७ जिल्ला र मधेशवादी दल निकट ३ जना जिल्ला अध्यक्ष भएका छन् । राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारको निर्वाचन पनि दलिय प्रभाव मुक्त छैनन् । विगत देखि वर्तमान सम्म आइपुग्दा यो व्यथिति घट्दो क्रममा होइन, बढ्दो क्रममै देखिएको छ ।

चुनाव आउँदा पत्रकारहरुका बीचमा पनि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र अरु मुद्धा जोडतोडका साथ उठाउने प्रचलन छ । जुन यस पटकको निर्वाचनमा पनि छरपष्ट देखियो । कोरोना कहर पछि यसबेला पत्रकार र पत्रकारिता ठूलो समस्या र संकटबाट गुज्रिएको छ । यस समयमा पत्रकार महासंघले श्रमजीवी पत्रकारको हक अधिकार सुनिश्चित गर्ने सवाल महत्वपूर्ण छ नै । यसका साथै सञ्चार माध्यमको सबलीकरण पनि आजको अर्को एजेण्डा हो । पत्रकार र मिडिया सबल नभई हाम्रो पत्रकारिता सबल हुन सक्दैन । यसमा महासंघले राज्यलाई नीतिगत रुपमै सम्बोधन गर्ने गराउने तर्फ पहल र दबाबमूलक भूमिका खेल्नुपर्छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले पे स्लिपको अनिवार्य व्यवस्था गरेर सकारात्मक सुरुवात पनि गरेको छ । यसमा सञ्चार माध्यम र पत्रकार स्वयम्लाई थप जिम्मेवार बनाएर अघि बढ्न जरुरी छ । अर्को तर्फ पत्रकार महासंघमा गैरपत्रकार र निस्क्रिय सदस्यको जमात बढ्दो छ । केही जिल्लाले यसमा शुद्धिकरणको नमुना अभ्यास र उदाहरण पनि पेश गरेका छन् । यसमा चुस्त कार्यविधि तय गरेर वास्तविक पत्रकारहरुको संस्था बनाउनेमा पनि नवनिर्वाचित नेतृत्व र टीमले भूमिका खेल्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *