नयाँ वर्षको शुभकामना

सम्पादकीय
नयाँ भन्न साथ त्यसको छुट्टै भाइव्स हुन्छ । नयाँ आगमन, नयाँ विषयले नयाँ उत्साह, जिज्ञासा र कौतुहलता स्वभाविक रुपमा पैदा गर्छ । यतिबेला नयाँ वर्ष २०७८ आरम्भ भएको छ । वर्ष २०७७ को अवसान र नव वर्ष २०७८ को आगमनले मानिसहरुमा कुनै न कुनै उत्साह, तरंग पैदा गरिरहेको छ । नयाँ आउनु स्वागत योग्य कुरा हो या नयाँ हुनु चासोको विषय हो । यसकारणले पनि नयाँ वर्ष नेपालीका लागि उत्साहको दिनको रुपमा आउने गर्दछ । नयाँ वर्षको आगमनमा समस्त नेपालीबीच एक आपसमा सुख,शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको कामना गरिन्छ । एकआपसमा शुभकामना आदान प्रदान गरिन्छ । सटिकमा भन्दा नयाँ वर्ष आम नेपाली समुदायका माझमा एक महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिएको छ ।

वर्ष २०७७ आरम्भ हुँदा पनि नयाँ आशा, अपेक्षा थियो । तर, बिडम्बना वर्ष २०७७ नेपाल र नेपालीका लागि त्यति धेरै सुखद रहेन । राजनीतिक हिसाबले हेर्दा पनि यसवर्ष अप्रिय नै रह्यो । पाँच वर्षको लागि बनेको स्थायी सरकार तीन वर्ष पुरा नहुँदै धर्मराउने अवस्था मात्रै बनेन, जननिर्वाचित प्रतिनिधिहरुको शक्तिशाली थलो मानिने व्यवस्थापिका संसद विघटन भयो । चुनावमा कार्यगत एकता पश्चात ऐतिहासिक जित पछि पार्टी एकीकरण नै गरेका नेकपा एमाले र नेकपा माओवादी नै बन्नुपर्ने अवस्था आयो । स्वास्थ्यका हिसावले पनि निकै सकसपूर्ण रह्यो । अघिल्लो वर्ष नयाँ वर्षको आगमन हुँदा कोरोना भयावह भर्खर सुरु थियो । यसकारण वर्ष २०७७ त्यति सुखद सुरुवातको रुपमा रहन सकेन । तर, वर्षको मध्य महिना पार गर्दै गर्दा खोपको आगमन र नियन्त्रणले क्रमशः कोरोना भाइरसको संक्रमण नियन्त्रण उन्मुख भएको आँकलन भए पनि अहिले फेरि कोरोनाको दैनिक फैलिदो दरले भयग्रस्त बनाइरहेको छ । अरु क्षेत्रमा पनि चौतर्फी प्रभाव छ । साना व्यवसायीदेखि लाखौ करोडौं लगानी गरेका उद्योगी व्यवसायीले तनावकै बीचमा वर्ष २०७७ गुजारेका छन् ।

वर्ष २०७७ जे जति तनाव र सकसपूर्ण रह्यो । नयाँ वर्ष २०७८ मा यस्तो अवस्था र नियति भोग्न नपरोस् । नयाँ वर्षसँगै नयाँ आशा, सपना र भरोसाहरु थपियोस् । देशमा देखिएका व्यथितिहरु अन्त्य हुन सकोस्, सकारात्मक सत्प्रयासहरुले प्रश्रय पाउन् । एक नेपालीले अर्कोको केबल आलोचना र खेदो खन्ने होइन, रचनात्मक सुझाव र मार्गदर्शन गर्ने परिपाटीको विकास होस् । राजनीतिक स्थायित्वको दिशामा देश अघि बढ्न सकोस् । मानव हुनुका नाताकाले हामी भित्रका नकारात्मक कुरिति र कुण्ठाहरु हटेर जाओस् । नेपालीपन र नेपाली मनले सबैबीच एकता, सद्भाव र भातृत्व विकास हुन सकोस् । नयाँ वर्ष २०७८ सालको तपाई सबैमा हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *