बागलुङका ३० वनमा आगलागी

डम्मर बुढा, बागर, बागलुङ

गर्मीयाम शुरु भएसंगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । बागलुङ जिल्लामा पछिल्लो समय ३० वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्लामा २९ वटा जंगलमा समेत आगलागी भएको जिल्ला डिभिजन वन कार्यालय बागलुङ जनाएको छ ।

डिभिजन वन कार्यलय बागलुङका अनुसार जिल्लाका ३० सामुदायिक वनको ३३० हेक्टर क्षेत्रफल जंगलमा आगलागी भएको जनाएको छ । ढोरपाटन शिकार आरक्षका बुकि क्षेत्र, गलकोटको घुम्टे, रेश सिगानाको बुछुङ सल्लेरी सामुदायिक वन, मालिका सामुदायिक वन सहित ३० वटा वनमा आगलागी भएको डिभिजन वन कार्यलय बागलुङका सहयाक वन अधिकृत मनद कँडेलले जानकारी दिनुभयो ।

लामो समयको खडेरी र मानवीय लापरवाही कारण वर्षेनी आगलागीका घटनाहरु हुने गरेकोमा यस वर्ष बढीमात्रमा आगलागी भएको उहाँको भनाई छ । जिल्लामा सबैभन्दा बढी काठेखोलाको धम्जा, गलकोट र बरेङ गाउँपालिकाको जंगलमा आगलागी भएको कँडेलले बताउनुभयो ।

“लामो समयदेखि खडेरी परेको छ, खेडरीले गर्दा सबै पातपतिङ्गर अन्य वस्तुहरु सुकेका हुन्छन्, थोरै सर्तकता नअपनाउदा आगलागी भइहाल्छ, यस्तो समय निकै संयमता अपनाउनु पर्छ,” कँडेलले भन्नुभयो “मानिसले घाँस पलाउने लोभ र खेतबारीमा झारमा आगलागी गराउँदा सामुदायिक वनमा आगलागी हुन पुगेको पाइन्छ, स्थानीय सचेत नभएसम्म आगलागी भइरहन्छ ।”

उहाँले जंगलमा आगलागी हुँदा मानवीय र वन्यजन्तुमा ठूलो क्षति नभए पनि वन बोट विरुवाहरु भने सखाप भएको बताउनुभयो । ठूला–ठूला रुखहरुमा पनि धेरै क्षति नभपनि वन्यजन्तहरु तितरवितर हुने अवस्था आएको छ ।

नेपालमा डढेलो ९५ प्रतिशत मानवीय कारणले लाग्ने गरेको पाइएको छ । बागलुङमा अन्य कारणभन्दा मानवीय लापवाहीका कारणले गर्दा आगलागीका घटनाहरु हुने गरेको सहायक वन अधिकृत कँडेल बताउनुहुन्छ । स्थानीयहरुले घाँसको लोभमा जानीजानी आगो लगाउने गरेको उहाँको भनाई छ ।

आगलागीका घटनाहरुलाई कम गर्नका लागि वन कार्यालयले जिल्लाका ८ वटै सव डिभिजन कार्यालय मार्फत जनचेतना मुलकहरु कार्यक्रमहरु गरेको र स्थानीय, सुरक्षा निकायहरुलाई डढेलो नियन्त्रण गर्ने सामग्रीहरु वितरण समेत गरेको बताउनुभयो ।

समुदायमा जनचेतना फैलाउनका लागि संचार माध्यम मार्फ जनचेतना मुलक कार्यक्रम तथा सूचना समाचार प्रकाशन प्रशारण गर्दै आएको उहाँको भनाई छ । चालु आर्थिक वर्षको हालसम्म आगलागीबाट रु.१ करोड ८७ लाख ६३ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकबाल हवारीका अनुसार आठ महिनाको अवधिमा आगलागीमा परि ३ जना घाइते, २९ चौपायाको मृत्यु र १८ चौपाया घाइते भएका छन् । त्यस्तै १९ घर र १५ गोठ पूर्ण रुपमा नष्ठ भएको जनाएको छ । आगलागीमा सामुदायिक वन, नीजि वन, फर्निचर उद्योग, कपास उद्योग, होटल समेत परेकोे प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *