बढ्दो कोरोना भयावह, घट्दो सचेतता

सम्पादकीय
कोरोना महामारीको पुरा एक वर्ष पुरा हुँदा पनि संक्रमण भयावह अझै कायमै छ । यो समय क्रमसँगै घट्नुको बदला पछिल्लो समय फेरि बढ्दै छ । लामो समय कोरोनाको उपचार औषधी (भ्याक्सिन) समेत पत्ता लाग्न नसकेर हैरानी बेहोरेको विश्व समुदाय खोपको पहिचान र सफलता सँगै केही आशावादी त बन्ने बातावरण पैदा भयो । तर, यसको प्रभावकारिता र उपलब्धिताका हिसाबले अझै पनि अपेक्षाकृत सफलताको बिन्दुमा देखिन सकेको छैन । बरु कोरोना संक्रमण दर विश्वका अधिकांश देशमा फेरि फैलिने क्रममा देखिएको छ । यसले पुरानै नियतिमा विश्व समुदाय र नागरिकलाई पु¥याउने खतरा बढेको छ ।

नेपालमा पनि पछिल्लो दिनमा कोरोना संक्रमण बढ्दो छ । यसमा पीसीआर चेकजाँचको दायरा साँघुरो बनाइएको छ । कुनै लक्षण देखिएका र कठीन भएकाहरुको मात्र जाँच गर्दा पनि कोरोना संक्रमण दर बढेको तथ्यांक सार्वजनिक छ । सरकारले कोरोना भाइरस संक्रमणबाट १४ जिल्ला अति प्रभावित भएको उल्लेख गरेको छ । अति प्रभावित जिल्लाको सूचिमा बागलुङ जिल्ला पनि दर्ज छ । मन्त्रालयले यस क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन, बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्न, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नहुन आग्रह गरेको छ । सबै अस्पतालहरुलाई फिवर क्लिनिक अनिर्वाय सञ्चालन गर्न, सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेड कोभिड–१९ का लागि छुट्याउन र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

कोरोनाको सम्भावित जोखिम नियन्त्रण सरकारको एकल प्रयासले मात्र सम्भव छैन र देखिदैन । यद्यपि सरकारले गर्नुपर्ने आवश्यक सचेतताका प्रयास र उपायमा संवेदनशील हिसाबले गर्नुपर्ने काम प्रशस्त छन्, जसमा विगतमा यथेष्ट पहलकदमी र काम नगरेको गुनासो छ । अहिले फेरि पहिलेको जस्तै कोरोना जोखिम बढेको छ । यसबेलामा विगतका गल्ती कमजोरीबाट पाठ सिकेर कोरोनाबाट हुन सक्ने खतरा र क्षति रोक्न समयमै पहल गर्नुपर्छ । यसमा स्वयम् आम नागरिक पनि संवेदनशील र जिम्मेवार बन्न आवश्यक छ । हामीले गर्ने सानो लापरवाहीले पनि केबल एक व्यक्तिलाई मात्र होइन, परिवार र सिंगो समाज संक्रमित हुने खतरा हुन्छ । यसमा मेरो स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने मूल मन्त्रका साथ सबै जिम्मेवार बन्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *