डम्मर बुढा मगर, बागलुङ
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरका ४० वर्षीय रमेश रावल ६ वर्ष कोरियामा बिताउनुभयो । कोरियाको लामो बसाई पश्चात स्वदेश फर्किनु भएका रमेशले तनहुँको आँबुखैरेनीमा होटल व्यवसाय सुरु गर्नुभयो । होटल व्यवसाय राम्रै चलेको थियो । परिवार पनि खुसी थिए । तर विश्वभर फैलिएको कोरोना महामारीका कारण गत वर्ष चैत ११ देखि लकडाउन सुरु भयो ।
लकडाउन भएपछि होटल व्यवसाय ठप्प भए । होटल ठप्प भएपछि रमेश गाउँ फर्किन बाध्य हुनुभयो । र गाईभैँसी पालन सुरु गर्नुभयो । अहिले गाईभैँसी पालनसँगै होटल संचालनको लागि रत्नेचौरमै संरचना निर्माण गर्दै हुनुहुन्छ । जुन अन्तिम चरणमा पुग्न थालेको छ ।

होटल व्यवसायबाट राम्रो अनुभव बटुल्नु भएका रावलले कोरोनाको कारण उक्त व्यवसाय बन्द गर्नु प¥यो । लकडाउन खुकुलो बन्दै गएपछि आँबुखैरेनीमा अरुलाई चलाउने जिम्मा दिएर रावलले गाउँमै पशुपालनबाट दूध उत्पादन र नयाँ व्यवस्थापनको साथ होटल सञ्चालन गर्नु भएको छ ।
एक वर्षमै रावलले गाउँमै धेरै फड्को मार्न सफल हुनुभएको छ ।
उहाँको पशु फर्ममा आठ वटा गाई पाँच भैँसी छन् । यसबाट दैनिक एक सय लिटर दूध उत्पादन गर्नुहुन्छ । उहाँले उत्पादन गरेको दूध दैनिक बागलुङ र बेनी बजारमा लैजाने गरेको उहाँको भनाई छ ।
पशुपालनका लागि रमेशले ५० लाख लगानी गर्नुभयो । जसबाट उहाँले आम्दानी समेत गर्न थाल्नुभएको छ । यता होटल संचालन गर्नका लागि आर्कषक भवनहरु निर्माण हुँदैछन् । जहाँ रावलले ५० लाख लगानी गरेको बताउनुहुन्छ ।

‘पचास लाख लगानी गरेर गत वर्ष पशु फर्म सञ्चालन गरे, अहिले होटल पनि संचालन गर्नुप¥यो भनेर ५० लाख जतिको लागतमा व्यवस्थापन कार्य चलिरहेको छ,’ रमेशले भन्नुभयो ‘पशुपालनबाट राम्रो आम्दानी हुन थालेको छ, होटलबाट पनि राम्रै होला भन्ने अपेक्षा छ, हेरौँ अब कस्तो हुन्छ, काम गर्दै जाउँ ।’
उहाँको होटल तथा पशु फर्म बागलुङ–बेनी सडक खण्ड अन्तर्गतको रत्नेचौर सडक छेउँमै रहेको छ । आफ्नै बाँझो जमिनलाई खनेर उर्वर बनाएको बताउँनुहुन्छ । रावलले चार रोपनी क्षेत्रफलमा अहिले व्यवसाय संचालन गर्नु भएको छ भने विस्तारै त्यृलाई बढाउने सोँच हुनुहुन्छ ।
‘अहिले व्यवसाय गरेको यो भूमि हाम्रै हो, यहाँ पहिला निकै डर हुन्थ्यो, ठूलो झडी थियो, अहिले सडकले गर्दा यति राम्रो बनेको छ, अरुले पनि व्यवसाय सुरु गरेका छन्,’ उहाँले भन्नुभयो ‘यो बारी सबै बाँझो थियो, धेरै मेहनत गरेर यत्तिको बनेको छ ।’
पाँच कोठाको आकर्षक होटल रेष्टुरेन्ट निर्माण भइ रहेको उक्त ठाउँ बागलुङ र म्याग्दीका लागि पायक पर्छ । विषेश गरी म्याग्दी र बागलुङका ग्राहकलाई लक्षित गरी होटल संचालन गर्न थालेको भन्दै बागलुङदेखि मुक्तिनाथ र गलेश्वर जाने आन्तरिक तथा बाह्य पर्यटकले समेत सेवा लिन सक्ने उहाँको भनाई छ ।

‘यो ठाउँ बागलुङ र म्याग्दीका लागि सहज छ, दुबै जिल्लाका पाहुनाहरु हाम्रो होटलमा आउन सक्छन् भने मुक्तिनाथ तथा गलेश्वर जाने धार्मिक पर्यटकका लागि पनि यो ठाउँ उत्तम छ,’ उहाँले भन्नुभयो ‘यो व्यवसाय मात्रै होइन, हाम्रा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसार र उत्कृष्ट सेवा प्रवाहमा पनि हाम्रो उत्तिकै भूमिका हुनेछ ।’
रावलले आफ्नो पशु फर्ममा चार जनालाई रोजगार समेत दिनुभएको छ । उनीहरुलाई राम्रो सेवा सुविधा दिएर राखेको रमेश बताउनुहुन्छ । ‘युवाहरुले गाउँमा काम गर्न मान्दैनन्, सबै विदेश तिर जान खोज्छन्, गाउँमा काम गर्ने मान्छे पाउन पनि साह्रै मुस्किल छ,’ रावलले भन्नुभयो ‘अहिले मसँग चार जना युवा हुनुहुन्छ, उहाँहरुलाई राम्रै सेवा सुविधा दिएर राखेको छु, उहाँहरु पनि सन्तुष्ट हुनुहुन्छ, म पनि खुसी छु ।’
रावलले दूध बेचै मासिक रुपमा दुई रुपैयाँ कमाउने गरेको भन्दै लगनशील भएर परिश्रम गरेर स्वदेशमै विदेशमाभन्दा बढी कमाई गर्न सक्ने बताउनुभयो । सुरुमा रहरै रहरमा विदेश गएको भन्दै अहिले पछुताउनु परेको बताउनुहुन्छ ।

‘उतिबेला रहरैरहरमा विदेश गएँ, त्यहाँ बिताएको यसमले यहाँ धेरै अगाडी पुग्न सकिन्थ्यो अहिले पछुताउनु परेको छ, विदेश गएर गल्ती गरेछु,’ रावलले भन्नुभयो ‘त्यो ठाउँभन्दा हाम्रै ठाउँ स्वग रैछ, त्यहाँ नभएको चिज हाम्रो गाउँ ठाउँमा छ, हामीले यस्तो चिजलाई छोडेर विदेश जानु मुर्खता रैछ, मैले अहिले बल्ल बुझेको छु ।
उहाँले पछिल्लो समय सबै युवाहरु विदेश जाँदा गाउँ नै रित्तिन थालेको भन्दै व्यवसाय संचालन गर्नका लागि कामदारको अभाव भएको बताउनुभयो । गाउँका उर्वर खेतबारीहरु बाझिँदै गएको प्रति रावलले दुखेसो व्यक्त गर्नु भयो ।
‘पछि–पछि त गाउँ नै रित्तो हुन्छ जस्तो लाग्छ मलाई, अहिले नै गाउँमा हेर्ने हो भने स–साना केटाकेटी र बुढाबुढी बाहेक अरुलाई भेट्याउनै मुस्किल पर्छ, खेतियोग्य जमिन सबै बाँझो भएर उराठ लाग्दा भएका छन्,’ उहाँले भन्नुभयो ‘गाउँको यस्तो अवस्था देख्दा दुःख लाग्छ, सबैथोक गाउँमा हुँदाहुँदै पनि मान्छे किन विदेश जान्छन् होला ? म त छक्क पर्छु, नबुझेर जानु त स्वभाविककै हो तर अहिलेका पढे लेखेका युवाहरुनै विदेश जाने लाइनमा छन् ।’
विगतका दिनहरुमा जस्तो सेवा सुविधाबाट वञ्चित कोही हुन नपरेको भन्दै मोटरबाटो, विजुली लगायत विकासका पूर्वाधारहरुले जुन किसिमको उद्यम गर्दा पनि सहज हुने अवस्था आउने रावल बताउनुहुन्छ । आफूले यतिकै बाँझिएका जमिनहरुलाई उपयोग गरेर व्यवसाय सुरु गरेको भन्दा सयौँ रोपनी जग्गा अहिले यतिकै खेर गईरहेको उहाँको भनाई छ ।
‘पहिलेको जस्तो दुःख, समस्या अहिले त्यति धेरै छैन, किनकि सडक, विद्युतले धेरै सहज बनाएको छ, केही सामान किन्न बजार पुग्न २/४ घण्टा लाग्नेमा अहिले आधा घण्टामै पुग्न सक्ने अवस्था छ भने घर–घरमा समेत सबै सामान आउँन थालेका छन्,’ उहाँले भन्नुभयो ‘अझ व्यवसाय गर्ने हो भने धेरै फाइदा छ, आवश्यक सबै सान गाडीले ल्याउँछ, व्यवसायमा एक मन गराएर लागियो भने ढिलो चाँढो सफल भइन्छ, व्यवसाय गर्दा कहिल्यै आत्तिनु हुँदैन ।’