बागलुङमा फेरि कोरोना संक्रमण बढ्दो, तयारी कमजोर

डम्मर बुढा मगर, बागलुङ
सोमबार बसको मन्त्री परिषदको बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारले विद्यालयसँगै सिनेमा हल, रात्रीकालीन मनोरञ्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, लगायत भीडभाड हुने ठाउँहरु बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोनाबाट अति प्रभावित जिल्लाका रुपमा बागलुङलाई सूचिकृत गरेको छ । तर, जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा अझै बेवास्ता गरेको पाइएको छ । भिडभाड हुने धार्मिक तथा पर्यटकीय क्षेत्र, लामो झोलुङ्गे पुल, जिम हल लगायतका स्थान खुलमखुल्ला संचालन भईरहेका छन् ।

विद्यालयमा पनि कुनै पनि स्वास्थ्य मापदण्ड नअपनाई पठन पाठन गरेको पाइएको छ । यस तर्फ सरोकारवाला निकाय पनि मुकदर्शक भएको पाइएको छ । सरकारी कार्यालयमै कर्मचारी र सेवाग्राहीले स्वास्थ्य मापदण्डको पालना नगरेको देखिएको छ । शैक्षिक क्षेत्रमा थप अन्यौल देखिएको छ।

जिल्ला शिक्षा समन्वय इकाई बागलुङका शाखा अधिकृत कृष्णराज रेग्मीले केन्द्रबाट कुनै पनि निर्देशन नआएकाले यसमा आफूहरुले केही तयारी र निर्देश नगरेको बताउनुभयो । ‘माथिबाटै अहिले सबै अधिकार स्थानीय तहलाई दिने भनेको छ, जसले गर्दा अहिलेसम्म हामीलाई कुनै पनि निर्देशन आएको छैन,’ रेग्मीले भन्नुभयो ‘स्थानीय सरकारले आफ्नै किसिमले सचेतता र तयारी गरिरहेको छ, हामीलाई जे निर्देशन हुन्छ, सोही अनुसार समन्वय गर्छौ ।’

जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी गणेश गौतमले जिल्लामा कोरोना संक्रमण न्यूनिकरणका लागि कन्ट्रयाक ट्रेसिङलाई तिब्रता दिइएको भन्दै नागरिकका लागि १३ बुँदे अपिल गरेको बताउनुभयो । उहाँले अस्पतालमा पनि कोभिडका बिरामीका लागि बेड छुट्याउन लगाएको र जोखिम हुने स्थानमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाई गरेको बताउनुभयो । विद्यालयमा कोरोना संक्रमणको उच्च जोखिम रहेको हुँदा प्रभावित विद्यालय बन्द गर्ने र शंकास्पद विद्यार्थीको स्वाब परीक्षण गर्ने बताउनुभयो ।

‘कोरोना संक्रमणको दर बढि राखेको छ, यसलाई नियन्त्रण गर्न हामीले कन्ट्रयाक ट्रेसिङ बढाउने र उच्च खोखिम हुने ठाउँहरुमा कडाई गर्ने निर्णय पनि गरेका छौँ,’ गौतमले भन्नुभयो ‘विद्यालय बन्द गर्ने सन्दर्भमा त्यस्तो ठोस निर्णय त भएको छैन तर प्रभावित विद्यालयहरु बन्द गर्ने र कुनै विद्यार्थी वा शिक्षकमा शंकास्पद लक्षण देखिएमा विद्यालय बन्द गर्नुपर्छ ।’ उहाँले जोखिमको अवस्थालाई हेरेर जिल्लाका शैक्षिक संस्था सञ्चालन गर्ने भन्दै प्रभावित ठाउँ बाहेक अरु स्थानमा स्वास्थ्य मापदण्डलाई कायम गर्दै पठनपाठनलाई निरन्तरता दिने बताउनुभयो ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले संक्रमण न्यूनिकरण गर्नका लागि जनचेतनामुलक कार्यक्रम गरेर सचेत बनाउने र कन्ट्रयाक टे«सिङलाई जोड दिने बताउनु भयो । कार्यालयले पहिलेदेखि नै चलाएको मेरो स्वास्थ्य, मेरो जिम्मेवारी अभियानलाई सबैले मनन गरे कोरोना नियन्त्रणमा धेरै ठुलो टेवा पुग्ने बताउनुभयो ।

उहाँले पछिल्लो समयमा विद्यालयमा संक्रमितहरु धेरै देखिन थालेको भन्दै विद्यालय बन्द गर्ने वा अन्य विधि अपनाएर पठनपाठनलाई निरन्तरता दिने भन्ने विषयमा सरोकारवालासँग छलफल गर्ने बताउनुभयो । ‘कोरोना रोकथाम तथा न्यूनिकरण गर्नका लागि व्यक्ति स्वंयम सजग हुनु पर्छ, व्यक्ति सजग भएन भने रोकथाम गर्न गाह्रो हुन्छ,’ प्रमुख गुरौले भन्नुभयो ‘अहिले धेरैजसो विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेको छ, यसका लागि सबै सरोकारवालासँग बन्द गर्ने कि फरक विधिबाट संचालन गर्ने छलफल गर्नुपर्छ ।’

बागलुङ नगरपालिकाको विपद् सम्पादन कार्यदलको बैठकले कोरोना रोकथामका लागि प्रत्येक वडामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य स्वंयम्सेविका खटाउने र कन्ट्रयाक ट्रेसिङको दायरालाई बढाउने निर्णय गरेको छ ।

बैठकलले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने, प्रभावित विद्यालय १० दिनका लागि बन्द गर्ने र बागलुङ बजार क्षेत्रमा सतर्कता अपनाउनका लागि अपिल गर्ने निर्णय समेत गरेको छ ।

बागलुङमा हालसम्म एक हजार १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये एक हजार ३४ जना निको भएका भने भने २१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

कोरोना संक्रमणबाट जिल्लामा ११ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा ११ हजार ५३ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा सबै भन्दा बढी बागलुङ नगरपालिकामा संक्रमित भएका छन् भने सबैभन्दा कम निसीखोलामा छन् । बागलुङ नगपालिकामा ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने निसीखोलामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै गलकोट नगरपालिकामा १२३ जना, काठेखोला गाउँपालिकामा १०० जना, जैमिनी नगरपालिकामा ४९ जना, बडिगाड गाउँपालिकामा ४७ जना, ढोरपाटन नगरपालिकामा ३९ जना, बरेङ गाउँपालिकामा ३८ जना, तमानखोला गाउँपालिकामा २८ जना र ताराखोला गाउँपालिकामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *