झोलुंगे पुल, नगर र कर

सम्पादकीय
बागलुङ जिल्लाको परिचयका लागि केही खास पहिचान छन् । बागलुङ नक्सामा ठीक नेपाल भित्रको नेपाल आकृतिमा भएको जिल्ला, झोलुंगे पुलको जिल्ला,बुट्टेनलीको जिल्ला, नेपालकै एक मात्र सिकार आरक्ष भएको जिल्ला, विश्वमै दुर्लभ शालिग्राम संग्रहालय भएको जिल्ला लगायत । यसमा अरु नयाँ परिचय र पहिचान थपिने क्रम पनि जारी छ । यही पहिचानमा अघिल्लो वर्षको अन्तिममा थपिएको थियो बागलुङको बाङ्गेचौर–पर्वतको पाङ अदुवाबारी झोलुङ्गे पुल । ५ सय ६७ मिटर लामो झोलुंगे यस पुल विश्वकै लामो समेत दावी गरिएको छ । यसले जिल्लाको पहिचान मात्रै थपेको छैन, जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । तर, पछिल्लो दुई दिन यही पुल प्रवेशमा बागलुङ नगरपालिकाले कायम गरेको कर (शुल्क)ले चौतर्फी चर्चा र आलोचना भयो ।

ते दशैंका दिन कालिका मन्दिरमा देशका बिभिन्न जिल्लाबाट हजारौ श्रद्धालु भक्तजन आउने अवसर छोपेर नगरपालिकाले पुल तरेको २० रुपैयाँ लिन थाल्यो । यद्यपि, यो निर्णय दुई नगरपालिका (बागलुङ र कुश्मा नगरपालिका)का स्थानीय नागरिकका हकमा भने लागु नहुने बताइएको थियो । तर, पुल तर्न समेत पैसा लिन थालिएको प्रति सामाजिक सञ्जालमा तिव्र आलोचना भयो । विद्यार्थी संगठनहरुले बिज्ञप्ती प्रकाशित गरेर ध्यानाकर्षण गराए । स्थानीय रुद्रेपिपलका युवाले पुल परिसरमै पुगेर निर्णय नसच्याए प्रतिकार गर्ने चेतावनी दिए । यसरी बिरोध आलोचना हुनुमा नगरपालिकाले केही हठात निर्णय गरेको देखिन्छ । जसका कारण दुई दिनमै आफ्नो निर्णयबाट पछि हट्नु परेको छ । यस्तो निर्णय अलोकप्रिय निर्णय गर्नु आलोचनाको विषय त छँदै थियो, त्यसमा पनि कार्यपालिकाले निर्णय नगरेको नगर उपप्रमुखकै भनाई बाहिर आउनु दुर्भाग्य हो । पर्यटक आउनै मुश्किल यो जिल्लामा भर्खर आउन थालेका पर्यटक पाहुनालाई पुल तर्न शुल्क लिने निर्णयको औचित्यता पनि पुष्टि हुन कठीन थियो ।

सरकारले यस्ता विषयमा कर लगाउनै हुन्न भन्ने कदापि सोँच्नु हुदैन । स्थानीय सरकार भएकाले आफ्नै तजबिजमा कर लिन सक्छ, लिने अधिकार राख्छ । तर, कर लगाउँदा पनि केकेमा र कसरी लगाउने भन्ने विषय यथेष्ट छलफल, परामर्श र प्रयाप्त तयारीका बिच आउनु पर्दछ । अहिले लामो पुलमा जे भयो, त्यसले चौतर्फी नकारात्मक सन्देश प्रवाह हुने अवस्था पैदा भयो । सरोकारवालाबिच समन्वय नभएको छरपष्ट देखियो । नगरपालिका बेला बेलामा यस्तै हठात निर्णयका कारण आलोचित भएर निर्णय फिर्ताको अवस्थामा पुग्ने घटना दोहोरिन थालेको छ । अब यसबाट पाठ सिकेर भोलीका दिनमा परिपक्व हिसाबले कदम चालोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *