आगलागी घटना बढ्दै तर नौ स्थानीय तह दमकल विहीन

आदर्श अनलाइन, बागलुङ

गत मंसिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो । आगलागी हुँदा साथ बागलुङ बजारको दमकललाई खबर गरियो । तर आगो दन्किरह्यो, दमकल भने आएन । आगलागीबाट कपास उद्योग पुरै जलेर नष्ट भयो । लाखौको क्षति भयो । त्यसबखत नगरपालिकाको दमकल बिग्रिएर आउन नसकेको नगरपालिकाले जानकारी दियो । १० स्थानीय तह भएको बागलुङ जिल्लामा एक मात्रै दमकल हुँदा समस्या भएको छ ।

गत चैत्रमा मात्रै बागलुङ बजारमा तीन ठुला आगलागीका घटना भए । बागलुङ बजारको ग्रिल एण्ड चिल रेष्टुराँमा आगलागी हुदा १२ लाखको क्षति भयो भने सिर्जना फर्निचरमा आगलागी हुँदा छिमकको दुई घरमा समेत क्षति पु¥यायो ।

फर्निचरमा लागेको आगलागी नियन्त्रणमा लिन बागलुङ नगरपालिकाको दमकलले नसके पछि पर्वत जिल्लाको कुस्मा नगरपालिका र म्याग्दी जिल्लाको बेनी नगरपालिकाको दमकल समेत झिकाइयो । त्यस लगत्तै बागलुङ बजारको मुख्य चोकमा रहेको श्रेष्ठ हार्डवयरमा आगलागी हुँदा ३० लाख बढीको क्षति भयो । हार्डवयर पसलको आगलागी नियन्त्रणमा समेत नगरपालिकाको दमकलको पानीले नपुग्दा पुनः पानी ल्याउन जानुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

यसो त बागलुङ जिल्लाका नौं स्थानीय तह दमकल विहीन छन् । अन्य स्थानीय तहमा दमकल भए पनि छिमेकी जिल्लामा गुहार्न पर्दैन । जिल्लाको बागलुङ नगरपालिका बाहेकका सबै स्थानीय तहमा दमकल छैन ।

गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् । पछिल्लो समय बागलुङमा आगलागीका घटना बढ्दै गए पनि स्थानीय तहले दमकल खरिदमा चासो दिएका छ्रैनन् ।

जिल्लाको दोस्रो ठूलो सहरका रुपमा रहेको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ, गलकोट बजार, खर्बाङ, कुस्मिशेरा, अक्षेते बजार र बरेङ बजारमा आगलागी भएमा आगलागी नियन्त्रणमा समस्या हुने र भीषण आगलागी भए बजारनै सखाप हुन सक्ने सम्भावना छ । स्थानीय सरकारले विकास निर्माणका लागि डोजर खरिद गर्नु राम्रो भएपनि एम्बुलेन्स र दमकल अपरिहार्य भएको अधिकारकर्मी राम शर्माले बताउनुभयो । “सडक बन्द हुँदा डोजर चाहिन्छ, अहिले विकास निर्माण गर्न डोजर नचाहिने कुरै भएन तर स्थानीय तहको ध्यान दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी खरिद गर्नु पर्दछ” शर्माले भन्नुभयो “हैन भने स्थानीय सरकारको दायित्व भित्र रहेको जनताको जीउ धनको सुरक्षाको जिम्मा कस्ले लिने ?”

आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोक्न सकिने जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो । सबै स्थानीय तहले दमकल खरिद गर्न अवश्यक रहेको र आफूले स्थानीय तहलाई दमकल खरिदमा बजेट छुट्टाउन आग्रह गर्ने ढुङ्गानाको भनाई छ ।

दमकल भएको बागलुङ नगरपालिकामा पनि जनशक्ति लगायतका कारण तत्काल आगलागी नियन्त्रणमा समस्या देखिने गरेको छ । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकाका मुख्य बजार क्षेत्रमा दमकल पुग्न सक्ने सडक सञ्जाल छ ।

अहिले सम्म दमकल आवश्यकता महुशुस नभएको काठेखोला गाउँपालिकाले जनाएको छ । स्रोत र साधनको अभाव संगै गाउँपालिकाभर दमकल पुग्ने सडक नभएका कारण खरिद गर्ने योजना नरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले बताउनुभयो । अन्य स्थानीय तहमा आगलागी हुँदा बागलुङ नगरपालिकाको दमकल गुहार्नुपर्ने अवस्था छ ।

आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । छिमेकी स्थानीय तह काठेखोला गाउँपालिका, जैमिनी नगरपालिकामा आगलागी हुँदा दमकल पठाउने गरिए पनि दूरीका हिसावले टाढा हुँदा अन्य पालिकाका लागि आगलागी नियन्त्रणमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *