गण्डकी प्रदेशः अविश्वास प्रस्तावमा १५ गतेभित्र मतदान

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशसभाको विशेष बैठक सोमबार बस्ने भए पनि मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मतदानका लागि भने केही दिन कुर्नुपर्ने भएको छ ।

विशेष अधिवेशनको पहिलो बैठकमा कुनकुन विषयमा छलफल गर्ने भन्ने सन्दर्भमा निर्णय गर्न आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकले १५ गतेभित्र मतदान गर्ने सहमति गरेको छ ।

बैठकमा पहिलो दिनमै मतदान गर्ने गरी छलफल अगाडि बढाइएको भए पनि पहिलो दिन सबै दलका नेताले बोलेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जवाफ दिने कार्यसूची बनाइएको छ ।

सांसदहरु बोल्ने क्रम पहिलो दिनमै सकिएको अवस्थामा मंगलबार अविश्वास प्रस्ताव उपर मतदान हुने छ । सांसदहरु बोल्ने क्रम लम्बिएको अवस्थामा तेस्रो दिन अर्थात १५ गते अविश्वास प्रस्तावमाथि मतदान प्रक्रियामा जाने गरी कार्यसूची तय गर्ने सहमति भएको सांसद दिपक कोइरालाले जानकारी दिनुभयो ।

‘सांसदहरु कति जना बोल्नु हुन्छ भन्ने कुरामा बैठक कति लम्बिन्छ भन्ने भर पर्दछ, सोमबार थोरै जना मात्र बोल्नु भयो भने मंगलबार मतदान होला’, उनले भने, ‘धेरैजना बोल्नु भयो भने सोमबार र मंगलबार दुई दिन त्यसमै बित्ला,तेस्रो दिन मतदान हुन्छ ।’

मुख्यमन्त्री गुरुङबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्ष दल सहितका तीन दलले विशेष अधिवेशन माग गरे बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले सोमबारका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।

कार्यव्यवस्था समितिको बैठकमा नेकपा एमाले, काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहभागी भएका छन् । काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका २ गरि २८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाले समेत समर्थन गर्ने औपचारिक निर्णय गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *