लोकमार्गले फेरिए बागलुङका गाउँ

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङको पूर्व मालढुङ्गादेखि पश्चिम पातिहाल्नेसम्म जोडेको छ । बागलुङ जिल्लाको सुगम मानिने बागलुङ सदरमुकामदेखि सबैभन्दा विकट मानिने निसीखोलाको भल्कोट हुँदै पूर्वी रुकुम लोकमार्गले जोडिएपछि अब सुगम दुर्गम दुवैको परिचय एउटै हुन थालेको छ ।

लोकमार्गले जोडिएका जिल्लाका कुनै पनि गाउँ अब दुर्गम रहेनन् । अहिले जताततै बजार विस्तार हुँदै गएका छन् । आम नागरिकले सेवा सुविधा पनि पाउन थालेका छन् । सामान्य समान किनमेलका लागि घण्टौँ समय लगाएर बजार धाउनु पर्ने बाध्यतामा रहेका स्थानीय अहिले घरै अगाडिका दोकानहरुमा सबै सामान किनमेल गर्न पाउने सुविधामा छन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारेदेखि पातीहाल्नेसम्म अहिले दर्जनौँ स्थानमा साना–ठूला बजार विस्तार भएका छन्, अझै विकास हुने क्रममा छन् । लोकमार्गले जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड नगरपालिका, ढोरपाटन नगरपालिका हुँदै निसीखोला गाउँपालिकालाई जोडेको छ ।

लोकमार्गले जोडिएका ६ पालिका (काठेखोला गाउँपालिकाको अछेते, गलकोट नगरपालिकाको हटिया, बडिगाड गाउँपालिकाको खर्बाङ, न्वारा, खौलारा, खारा भिमगिठे, ढोरपाटन नगरपालिकको बुर्तिबाङ, निसीखोला गाउँपालिकाको देविस्थान, जुग्जाखोला, ढुवाँखोर, झिवाखोला, कानाबगर, बडावनखोला, निसी र भल्कोट लगायतका स्थान अहिले बजारमा परिणत हुँदैछन् ।

लोकमार्गको एक सय ४२ किलोमिटर क्षेत्रफल बागलुङ जिल्लामा पर्छ । सबैभन्दा बढी निसीखोला गाउँपालिका र सबैभन्दा कम बागलुङ नगरपालिकामा पर्छ । अहिले बजार विस्तार हुन लागेका ठाउँहरु लोकमार्गले जोडिनु पूर्व सुनसान थिए तर अहिले यहाँ निकै चहलपहल बढेको छ ।

निसीखोलाको भल्कोटदेखि बडिगाड गाउँपालिकाको खर्बाङ सम्मका नागरिकहरु सामान ढुवानी गर्न तथा स्वास्थ्य उपचारको लागि पाल्पा, तानसेन, बुटवल लगायतका ठाउँमा जाने गर्थे भने गलकोेट, काठेखोला तथा बागलुङ नगरपालिकाका नागिरकहरु बागलुङ बजार, पोखरा जाने गर्दथे । अहिले गाउँ घरकै नजिक बजार बिस्तार हुँदै गएपछि स्थानीयको त्यो बाध्यता हटेको छ ।

निसीखाेला गाउँपालिका वडा नम्बर ६ मा पर्ने भल्काेट

लोकमार्गले धेरै सहजता प्रदान गर्नुको साथै जीवननै परिवर्तन गरिदिएको निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटका भाजविर घर्ती मगरले बताउनुभयो । बाल्यकालबाटै तानसेन बुटवलबाट नुन चामल बोकेर उपभोग गरेको र अहिले घरै छेउमा दोकान खुलेको बताउनुहुन्छ । अहिले बजार बिस्तार भएको भल्कोटमा पहिले गाई, भैँसी र भेडाबाख्रा गोठ रहेकोमा अहिले होटल व्यवसाय सहित बजार बस्ने आफूले कल्पना समेत नगरेको उहाँ बताउनुहुन्छ ।

‘यस्तो बजार हुन थाल्यो यो ठाउँ, पहिले त १/२ वटा काठको घर थिए, अहिले यति ठूला–ठूला घर भए’ घर्तीले भन्नुभयो ‘अहिले यति ठूला घरहरु बने, दोकानहरु छन्, पहिला त गाई, भैँसी र भेँडाबाख्राका गोठ हुन्थे, सोँच्दै नसोचको विकास भयो, मैले त हाम्रो पालामा यस्तो विकास होला भन्ने सोँचेको पनि थिएन ।’

उहाँले सडक आएपछि माथि–माथि गाउँबाट मान्छेहरु तल झरेर सडक छेउमा घर बनाउने थालेको भन्दै पहिला सुनसान हुने ठाउँमा अहिले निकै रमाइलो र चहल पहल भएको उहाँ बताउनुहुन्छ ।
‘पहिला–पहिला गाउँ निकै रमाईलो हुन्थ्यो, अहिले यो ठाउँमा यस्तो रमाइलो हुन थाल्यो, हाम्रो पालामा त यहाँ खेतिपाती गर्न र भेँडाबाख्रा चराउन आउँथ्यौँ,’ उहाँले भन्नुभयो ‘अहिले गाउँ सुनसान हुन थाल्यो, गाउँमा मान्छे जति सबै तल–तल झरेर घर बनाउन थाले, बुढापाकाले जमाना उल्टिन्छ भन्थे, साँच्चिकै हो रहेछ ।’

यता बडिगाड गाउँपालिका वडा नम्बर ५ को खौलारामा पनि तीव्र रुपमा बजार विस्तार भइरहेको छ । केही वर्ष अगाडीसम्म पहेँलै धान फल्ने खेतहरुमा अहिले साना तथा ठूला घरहरु ठडिएका छन् ।
स्थानीय शिवलाल आचार्यले लोकमार्ग नआउँदा समथर खेत रहेको यो ठाउँमा अहिले बजार बनेको बताउनुभयो । उहाँले सडक बिस्तार हुँदा स्थानीयले विरोध गरे पनि अहिले त्यतिबेला खेतबारी गुमाउँदाको प्रतिफल धेरैले लिइरहेको बताउनुहुन्छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ५ मा पर्ने खाैलारा बजार

‘खौलारा बजार भएको ठाउँमा पहिले एउटा पनि घर थिएन, सबै खेतहरु मात्रै थिए, अहिले १०/१२ वर्षमै यस्तो बजार बन्यो, हामी कसैले पनि यस्तो ठाउँमा बजार हुन्छ भन्ने सोँचेका पनि थिएनौँ,’ उहाँले भन्नुभयो ‘सुरुमा मोटरबाटो आउँदा बारी मिचिनेहरुले अवरोध गरे, अहिले यतिधेरै विकास हुँदा सबै खुसी भएका छन्, लाख–लाखका घडेरी बनेका छन्, ठूला–ठूला होटल दोकान बनेका छन् ।’

उहाँले सडकले गाउँ–ठाउँको विकाससँगै सुगमका ठाउँदेखि दुर्गमका गाउँहरु जोडिएको भन्दै यसले गर्दा स्वास्थ्य, शिक्षा लगायत धेरै सेवा सुविधा उपभोग गर्न पाएको बताउनुभयो । आचार्यले स्वास्थ्य उपचारको लागि टाढा–टाढा जाने बाध्यता हटेको भन्दै अहिले नजिकै उपचार पाउन थालेको बताउनुहुन्छ ।

‘सडक आयो, बजार बन्दैछ, बजारमा ठूला होटल दोकानसँगै अस्पताल पनि बनेका छन्, त्यसले गर्दा अब बिरामी परेर डोलामा बोकेर टाढा जानु पर्ने बाध्यता हटे, नजिकै अस्पताल छ, त्यही गएपछि उपचार हुन्छ,’ उहाँले भन्नुभयो ‘पहिले न मोटरबाटो न अस्पताल नजिक निकै समस्या थियो, अहिले मोटरबाटो पनि आयो बजार पनि बन्यो र अस्पताल पनि बन्यो ।’

गलकोट नगरपालिकाको हटियामा पहिलेदेखि नै स–सानो बजार भए पनि लोकमार्ग आएपछि बिस्तार भएर ठूलो बनेको छ । लोकमार्ग आउनु भन्दा पहिलो अहिले बिस्तार भएको भन्दा केही माथि बजार भए पनि अहिले लोकमार्गले गर्दा बजार क्षेत्र ठूलो बन्दै गएको छ ।

गलकाेटकाे हटिया बजार

अहिले हटिया बजारमा बढ्दो जनसंख्या र तीव्र रुपमा बजार बिस्तार हुँदा जग्गा जमिनको भाउ निकै आकाशिएको स्थानीय युद्ध भण्डारीले बताउनुभयो । उहाँले दिनदिनै घर भवनहरु निर्माण हुँदा खाली ठाउँनै पाइन छोडेको बताउनुभयो ।

‘तीव्र रुपमा बजारमा बस्ती विस्तार हुँदा जग्गा जमिनको भाउ निकै बढेको छ, खाली जमिन पाउन गाह्रो छ, बजारभन्दा नजिकका ठाउँहरुमा पनि धमाधम घरहरु बन्दैछन्,’ उहाँले भन्नुभयो ‘यही हिसाबले दिनदिनै घर बन्दै गए भने त पछिका पुस्ताहरुले जग्गा जमिन पाउनै मुकिस्ल पर्ने देखिन्छ ।’

बागलुङको दोस्रो व्यापारीक केन्द्रको रुपमा स्थापित हुँदै गरेको बुर्तिबाङ बजार मध्यमहाडी लोकमार्गमा त पर्दैन तर पनि लोकमार्ग नजिकै हुँदा यसको मुहार पनि पहिलेको तुलनामा निकै फेरिएको छ । एक दशकभन्दा अगाडि साना होटल तथा दोकानहरु मात्रै रहेको बुर्तिबाङ अहिले ठूला ठूला घर भवनले ढाकिएको छ ।

बागलुङकाे दाेस्राे व्यापारीक केन्द्र बुर्तिबाङ बजार

सरकारले १० नमुना शहर मध्ये बुर्तिबाङलाई पनि सूचिमा राखेर काम अगाडि बढाएको छ । तर अव्यवस्थित बसोबास र साँघुरो क्षेत्र हुँदा यसलाई नमुना बनाउन केही कठिनाई देखिएको छ । नमुना शहरका लागि हुनु पर्ने व्यवस्थित खेल मैदान, पार्किङ क्षेत्र, बसपार्क, मनोरञ्जन पार्क लगायत विभिन्न किसिमका पूर्वाधार हुनु पर्नेमा केही निर्माण भए पनि धेरै पूर्वाधार बनाउनु पर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *