कोभिड नियन्त्रणमा योगदान गर्न देशभरका सहकारीहरुलाई महासंघको अपिल

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघले कोरोना (कोभिड १९) महामारी संक्रमणको जोखिमलाई न्यूनिकरणमा योगदान गर्न देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको छ । कोरोना संक्रमण जोखिमलाई न्यूनिकरणमा योगदान गर्दै सदस्य सेवाका लागि सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई काम गर्न महासंघले आव्हान गरेको हो ।

महासंघले आइतवार एक अपिल प्रकाशित गरी कोभिड नियन्त्रणका लागि सदस्य एवं आम समुदायलाई माक्स, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने लगायतका उपायहरु बारे जनचेतना अभिवृद्धि गर्न आव्हान गरेको छ ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालनाका साथ भौतिक दुरी कायम गरेर सदस्यहरुलाई वस्तु तथा सेवा प्रवाह गर्न, सीमित जनशक्तिबाट आलोपालो कार्यालय सञ्चालन हुने गरी सेवा प्रवाहलाई निरन्तरता दिन, कोभिड १९ महामारीको जोखिमलाई न्यूनिकरण गर्न तथा यस वर्षको थिम मर्यादित व्यवसाय र प्रविधिमा सहकारीलाई सार्थक बनाउन प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह गर्न महासंघद्वारा जारी अपिलमा उल्लेख छ ।

संघ संस्थाहरुको वैठक, अन्तरक्रिया, गोष्ठी, तालिम लगायतका कार्यक्रमहरु भौतिक दुरी कायम गरेर गर्न तथा संभव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन, स्थानीय तहसंग समन्वय गरी संघ संस्थाको कार्यालय वरपर क्षेत्रमा सरसफाई व्यवस्थापनका लागि सहजीकरण गर्न तथा महामारीको संक्रमणको शंका लागेमा परिक्षण, संक्रमितहरुलाई आइसोलेसन र कन्ट्रयाक्स ट्रेसिंगमा परेकालाई परिक्षणका लागि आवश्यक समन्वय गर्न महासंघले सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको छ ।

सहकारी संघ संस्थाहरुले गत वर्षदेखि नै कोभिड १९ महामारी रोकथामका लागि सहयोग गर्नुका साथै विषम परिस्थितिमा सदस्यहरुको सेवाका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै संकटको समयमा दृढ संकल्पका साथ अग्रपंक्तिमा रहेर काम गरेको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष मीनराज कंडेलले जारी गर्नु भएको अपिलमा अहिलेको विषम परिस्थितिमा समुदायप्रतिको चासोलाई मनन गर्दै महामारी संक्रमणको जोखिमलाई न्यूनिकरण गर्नका लागि योगदान पु¥याउन देशभरका सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आव्हान गरिएको छ ।

कोभिड १९ को संक्रमण पछि देशभरका सहकारीहरुले अतिआवश्यक सेवा प्रवाह, स्वास्थ्य सामग्री, नगद तथा अन्य आवश्यक उपकरणहरु संघीय संरकार, प्रदेश सरकार र स्थानीय तहलाई सहयोग गर्नुका साथै शेयर सदस्य लगायत आम समुदायलाई सचेतना प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *