धौलागिरीमा किन आउँछ इन्टरनेट र फोनमा समस्या ?

खेमराज गौतम, बागलुङ

शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अबरुद्ध भयो । फोन अबरुद्ध हुँदा इन्टरनेट समेत अबरुद्ध हुन्छ । धौलागिरीका चार जिल्लामा शनिबार विहान सम्मै सम्र्पक टुट्यो । सञ्चार सञ्जालको महत्व बढिरहेको समयमा ८/१० घण्टानै इन्टरनेट र फोन सेवाबाट धौलागिरीवासी बञ्चित बने । यस्तो समस्या धौलागिरीको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा दोहोरिदै आएको छ ।

शुक्रबार पर्वत जिल्लाको मोदी गाउँपालिका स्थित पातिचौरमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गले सडक विस्तारका क्रममा फाइबर काटिए पछि टेलिफोन र इन्टरनेट बन्द भएको नेपाल टेलिकमले बतायो । अहिले लोकमार्गको पोखरा बागलुङ खण्ड विस्तार र कालोपत्रेको काम तिब्र गतिमा चलि रहे पनि लोकमार्ग आयोजनाको कार्यालयले अन्य सेवा प्रदायक कार्यालयसंग समन्वय नगर्दा धौलागिरीमा पटक–पटक टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध हुँदै गएको छ । पटक–पटक फाइबर काटिदा सञ्चार सम्पर्क बिच्छेद भइरहेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

नेपाल टेलिकमको फाइबर पुष्पलाल मध्यपहाडी लोकमार्गको छेउछाउबाट धौलागिरीमा ल्याइएको छ । लोकमार्ग आयोजनाले नेपाल टेलिकमलाई खबर र समन्वय नगरी सडक विस्तार गर्दा पटक पटक समस्या भइरहेको नेपाल टेलिकमका प्रमुख केशव शर्मा बताउनुहुन्छ । धौलागिरीमा हप्तै पिच्छे १०÷१२ घण्टा सञ्चार सम्बन्ध विच्छेद हुँदै आएको छ ।

‘कहिले कास्कीको हेम्जा, कहिले नौडाँडामा फाइबर काटिन्छ तर टेलिकमले टेलिफोन र इन्टरनेट अबरुद्ध भएपछि मात्रै खबर पाउँछौ,’ कार्यालय प्रमुख शर्माले भन्नुभयो । “इन्टरनेट र फोन सेवा कति बेला अबरुद्ध हुन्छ पत्तै पाइदैन, मध्यपहाडी लोकमार्ग आयोजनाले समन्वय नगर्दा फाइबर काटेर टुक्राटुक्रा पारिसक्यो” टेलिकम प्रमुख शर्माले भन्नुभयो “कम्तिमा आयोजनाले सडक विस्तार गर्दा खबर मात्रै गरे हुन्थ्यो, आयोजनाले समन्वय नगर्दा पोखरा बागलुङको फाइबर टुक्रा टुक्रा परिसक्यो,सेवाग्राहीले धेरै सकस बेहोर्नु प¥यो, हामीले पनि गाली खाइरहेका छौ ।” शर्माका अनुसार धेरै स्थानमा फाइबर काटिदा सञ्चार गुणस्तरमा समस्या हुने गर्दछ ।

सडक विस्तारका क्रममा विद्युतको पोल सार्नुपर्ने हुन्छ, त्यही विद्युतको पोलमा टेलिकमको तार भएपनि विद्युत सार्ने क्रममा टेलिकमलाई तार सार्न नबोलाउँदा यस्तो समस्या दोहोरिरहेको टेलिकमको भनाई छ । सडक भन्दा सञ्चार महत्वपूर्ण भए पनि लोकमार्ग आयेजनाले विद्युतको पोल हटाउदा टेलिकमलाई खबर गर्नुपर्ने नेपाल टेलिकम बागलुङले जनाएको छ ।

एक मिनेट सञ्चार नहुँदा समेत समस्या हुने अवस्थामा घण्टौ सञ्चार अवरुद्ध हुँदा निकै समस्या भइरहेको बागलुङका पत्रकार संगम घर्तीले गुनासो गर्नुभयो । सडक विस्तार गर्नु अघि विद्युतलाई नयाँ पोल गाड्न खबर गरेपछि विद्युतले तार विस्तार गर्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । विद्युत प्राधिकरणलाई खबर गर्दा टेलिकमलाई खबर नपुगेको हुन सक्दछ, त्यस्तो भएमा हामीले अब समन्वयलाई बढाउदै लैजान्छौ । उहाँले भन्नुभयो, आयोजनाले काम गर्ने होइन, ठेकेदारले काम गर्दा कतिपय कुरा आयोजनालाईनै जानकारी दिन्न, हामीले पटक–पटक विद्युत कार्यालयलाई पत्र नै लेखेर समन्वय गर्दै आएका छौं, ठेकेदारलाई विद्युतको पोलमा फाइबर हुन्छ भन्ने जानकारी नहुन पनि सक्दछ ।” मरासीनिले भन्नुभयो “निर्माण व्यवसायीलाई टेलिकमसंग समेत समन्वय गरेर सडक विस्तार गर्न भन्दै आएका छौं, अब देखि त्यस्तो समस्या नदो¥याउन आयोजनाले थप समन्वय गर्दै जानेछ ।”

टेलिकमलाई समेत जानकारी गराउँदै आएको पुरानो पोल आयेजनाले हटाउदै आएको छ । नेपाल टेलिकमले सात वर्षदेखि गुणस्तरीय र उच्च गतिको इन्टरनेट र फोन सेवा दिनका लागि लोकमार्गबाटै फाइवर तार धौलागिरीमा भित्राएको थियो ।

अहिलेको प्रविधिमैत्री समयमा इन्टरनेट अबरुद्ध हुँदा सबै सेवा अबरुद्ध हुँदै आएको छ । फाइबर तार आयोजनाकै कारण करीब एक सय भन्दा बढी स्थानमा टुक्रा परेको टेलिकमले जनाएको छ । जहाँ काट्यो त्यही जोड्न नमिल्ने फाइबर तार पछिल्लो समय धेरै स्थानमा टुक्रा पर्दा गुणस्तरमा समस्या भइरहेको र फाइबरबाटै टेलिभिजन चलाउँदा नयाँ फाइबर ल्याउन पर्ने अवस्था आएको टेलिकम बागलुङ शाखाले जनाएको छ । विद्युतलाई आयोजनाले रकम भुक्तानी गरी पोल विस्थापित गर्नै भए पनि विद्युतको पोलको भरमा रहेको टेलिकमलाई समस्या परेको हो । विद्युतको पोल प्रयोग गरे बापत टेलिकमको केन्द्रीय कार्यालयले विद्युत प्राधिकरणलाई कर तिर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *