हिमाली जिल्लामा यार्सागुम्बा संकलन खुला

आदर्श अनलाइन, मनाङ
कोरोना महामारीले निम्त्याएको अर्थ संकट टार्न हिमाली जिल्लामा यार्सागुम्बा संकलन सुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी संकलन गर्न लागिएको हो । यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ । यहाँको आर्थिक अवस्था उकास्न यार्सा संकलन पूर्जी खुला गरिएको हो । यस क्षेत्रले जिल्लाका विभिन्न खर्कमा संकलनका लागि पूर्जी रकम छुट्याएको छ । नाम्के खर्कका लागि २० हजार, ङिस्याङ २० हजार र नार फु भ्यालीका लागि ३० हजार छुट पूर्जी रकम उल्लेख गरिएको छ ।

गत वर्ष कोरोनाले बन्दाबन्दी भएकाले यस क्षेत्रले जडिबुटी संकलन रोक लगाएको सो संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमले जानकारी दिएका छन् । उनका अनुसार कोरोना जोखिम बढ्दै जाँदा आर्थिक संकट पनि बढेको हुँदा यस पटक भने जिल्लाभित्र बसोवास गर्नेका लागि मात्र खुला गरिएको हो । कोरोना जोखिम बढ्न सक्ने जनाउँदै बाहिरी जिल्लामा भने बन्देज लगाइएको उनले जानकारी दिएका छन् ।

जिल्लामा रहेका ४ स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयलगायत स्थानीय सिएमसीको निर्णयानुसार जिल्लाका सबै क्षेत्रमा यार्सा संकलन पूर्जी खोलिएको सिएमसी ताचैका अध्यक्ष याद घलेले जानकारी दिएका छन् । उनका अनुसार पर्यटन व्यवसाय ठप्प भएसँगै स्थानीयवासीको आर्थिक अवस्था आएको संकट टार्नका लागि पनि संकलन आवश्यक रहेको हो । जडिबुटी र पर्यटन व्यवसायमा निर्भर यहाँका मानिस कोरोनाले पर्यटन व्यवसाय ठप्प भएसँगै दैनिकी चलाउन कठिन भएको जनाउँदै याममा यार्सा संकलन गरेर जीविका चलाउन सकिने बताउँछन् ।

जडिबुटी संकलन गर्दासमेत सुरक्षालाई ध्यान दिन जिप्रकाले अनुरोध गरेको छ । महामारीले कसैलाई पनि नछाड्ने हुँदा स्वास्थ्यको ख्यालसमेत गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिएका छन् । उनले संकलित जडिबुटी चोरी निकासी हुनसक्ने हुँदा जिप्रकाले आवश्यकतानुसार जिल्लाका सबै सुरक्षा निकाय प्रयोग गरिने बताएका छन् ।

जिल्लाबासीबाहेक बाहिरी जिल्लाका मानिसलाई संकलनमा निषेध गरिएको छ । त्यस्तै खरीद बिक्रीका लागि पनि जिल्लाभित्रका सरकारले दिएको अनुमतिपत्र भएका मानिसलाई नै प्राथमिकतामा राखिएको पनि उनले जानकारी दिएका छन् ।

सरकारको जडिबुटी खरिद ऐनअनुसारको अनुमतिपत्र हुनुपर्ने जनाइएको छ । समयमा संकलन गर्न नसके यी जडिबुटी त्यसै बिलाएर जाने हुँदा सही समयमा सदुपयोग गर्न सकियो भने जीवनस्तर उकासिन्छ । जिल्लाको आर्थिकस्तरसमेतमा यसले टेवा पुग्छ । यसैले पनि यार्सा संकलन गर्नु जरुरी भएको मनाङ ङिस्याङ सिएमसीका अध्यक्ष सगर गुरुङले जानकारी दिएका छन् ।

हाल नाम्के खर्कमा संकलन सुरु भएको सिएमसी ताचैका अध्यक्ष याद घलेले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाका सबै खर्कमा एकै चोटि संकलन भने हुँदैन । यो खर्क यामको पहिलो शुरु हुने खर्क हो भने नारफु खर्क यामको अन्तिम भएको उनले बताएका छन् । यही वैशाखको दोस्रो सातादेखि सुरु भएको संकलन असार मसान्तसम्म रहने जनाइएको छ ।

यस अवस्थामा आपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्थासमेत सुदृढ बनाइएको जिप्रकाले जनाएको छ । ४ गाउँपालिका रहेको जिल्लामा चामे गाउँपालिकाबाहेक अरु गाउँपालिकामा यार्सागुम्बा संकलन गर्ने खर्क छन् । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *