सागर कुँवर
कम्युनिष्ट पार्टीमा विचारको लडाई प्रधान हुन्छ । विचारले क्रान्तिकारी कार्यदिशालाई आत्मसाथ गर्दछ । र सोही अनुरुपको कार्यक्रम निर्धारण गर्दै लागू गर्दछ । त्यसरी कार्यक्रम लागू गर्नको लागि उच्च गतिशील सङ्गठन चाहिन्छ । त्यसरी कार्यक्रम लागू गर्ने सिलसिलामा छलफलमा स्वतन्त्रता, कार्यमा एकरुपताको आधारमा नै लागू गरिन्छ ।
यदि कम्युनिष्ट पार्टीले गैरक्रान्तिकारी कार्यदिशा समात्दछ भने त्यो अवस्थामा उक्त पार्टीमा क्रान्तिकारी कार्यदिशाको लागि पार्टी सदस्यहरुले पार्टीका कानुनी बार–बन्देजहरुलाई तोड्नुपर्दछ । त्यसरी वार–बन्देज तोड्नुको अर्थ सदवहार तोड्नु भन्ने होइन । पार्टीलाई क्रान्तिकारी कार्यदिशामा ल्याइसकेपछी वा नयाँ क्रान्तिकारी पार्टीको निर्माण पछि सङ्गठनात्मक अनुशासनलाई कडाइकासाथ लागू गर्नुपदछ । त्यो अनिवार्य बन्दछ, अन्यथा कम्युनिष्ट पार्टी पनि बुर्जुवा पार्टी जस्तै बन्दछ ।
अहिले नेकपा (एमाले) विभाजनको सन्निकटमा छ । तर, नेकपा (एमाले) भित्रको विवाद क्रान्तिकारी विचार कि दक्षिणपन्थी विचार वा कार्यदिशाको विवाद होइन, त्यो नितान्त प्राविधिक विवाद हो । सामान्य विषयवस्तुहरुको मतभिन्नता र त्यसलाई पार्टी नेतृत्वले एकपक्षीय रुपमा सङ्गठनात्मक संरचनामा ढलाउनु र अर्को पक्षलाई वाइकट गर्नु त्यसमा अन्तरनिहित छ । त्यहाँ एक पक्षले अर्को पक्ष माथी सङ्गठनात्मक दमन छ, त्यसको प्रतिरोधमा अर्को पक्षले समानन्तर गतिविधि चलाइरहेको छ । यसको क्रान्तिकारी आन्दोलनमा खास महत्व छैन । तर, तत्कालको देशको राजनीतिमा यसको गम्भीर असर भने रहेको छ । यसमा हामीले दुई कुरामा नै ध्यान दिनुपर्दछ ।
एक, नेकपा(एमाले) को विवाद सैद्धान्तिक वैचारिक विवाद होइन, सामान्य कार्यनीतिक विवाद मात्र हो र त्यो पनि सर्वोच्चको फैसलापछि पुर्वाग्रही टकरावका कारण सृजना भएको हो, त्यो हुनुमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) को विगतको एकताको पनि महत्वपूर्ण भुमिका छ । साथै संसद विघटन काण्डले नै एमालेलाई आज यो अवस्थामा पु¥याइदिएको छ ।
दुई, नेकपा(एमाले)ले कम्युनिष्ट पार्टी झण्डा बोकेको भए पनि त्यो कम्युनिष्ट पार्टी होइन, त्यसले विगतको आफ्नो देशभक्त र जनतान्त्रिक शक्ति अस्तित्व समेत गुमाइसकेको छ । त्यसको नेतृत्व दलाल नोकरशाही पुजिपती वर्गको नेतृत्वमा रुपान्तरण भैसकेको छ । त्यो अवस्थामा नेकपा(एमाले)को विवादले तत्कालको देशको गणितिय हिसाब–किताबमा असर गरे पनि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको भविष्यमा कुनै गुणात्मक असर गर्ने अवस्था छैन । नेकपा(एमाले) विभाजन पछि बन्ने माकुने नेतृत्वको पार्टी पनि एउटा संसदीय पार्टी मात्र बन्नेछ, क्रान्तिकारी पार्टी बन्ने छैन ।
नेकपा(मसाल) भित्र अहिले जुन मतभेदको अवस्था छ, त्यो नेकपा(एमाले)को जस्तो प्राविधिक र सामान्य कार्यनीतिक प्रश्नमा मात्र विवाद होइन । नेकपा(मसाल) भित्रको विवाद रणनीतिक प्रश्नमा नै छ । रणनीतिक विषयमा नै मतभेद भैसकेपछी कार्यनीतिमा मतभेद स्वभाविक बन्न जान्छ ।
नेकपा(मसाल)को आठौं महाधिवेशनले सु–स्पष्ट दक्षिणपन्थी संशोधनवादी कार्यदिशा अवलम्बन गरिसकेपछि पार्टी भित्रका क्रान्तिकारी नेता–कार्यकर्ताहरुले नेकपा(मसाल) को गौरवशाली इतिहासको निरंतरताको लागि कैयौं अनुशासनका वार–बन्देजहरु तोड्नु स्वभाविक र जायज छ ।
जब एउटा सर्वाहारा वर्गको पार्टीले क्रान्तिकारी विचारलाई परित्याग गर्दछ र संशोधनवादी विचार समात्दछ, त्यो अवस्थामा क्रान्तिकारी विचारधाराको रक्षाको लागि क्रान्तिकारीहरुले पार्टीको कानुनी वार–बन्देजहरु अनिवार्य तोड्नुपर्दछ र पार्टीलाई क्रान्तिकारीकरण गर्नुपर्दछ । यदि चलिआएको पार्टीलाई क्रान्तिकारीकरण गर्न नसकिएको अवस्थामा क्रान्तिकारी पार्टी निर्माणको अभियानलाई अगाडि बढाउँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गर्नुपर्दछ । नेकपा(मसाल)को पार्टी जिवनमा वर्तमान परिस्थितिमा त्यही स्थिती पैदा भएको छ । कि त मसाललाई क्रान्तिकारीकरण गर्नुपर्दछ कि त क्रान्तिकारी पार्टी निर्माणको लागि पार्टी पुर्नगठन गर्नुपर्दछ ।
आज नेकपा(मसाल)मा जुन–जुन पार्टी सदस्यलाई कारवाही गरिएको छ, त्यो उक्त पार्टी सदस्यले अनुशासनको उल्लघन गरेर होइन, आठौं महाधिवेशनमा चलेको फोरमको सिलसिलमा पार्टी नेतृत्वको दक्षिणपन्थी संशोधनवादी कार्यदिशाको विरुद्धमा आवाज ओकलेकै कारणले कारवाही गरिएको छ । विश्वभर रहेका नेकपा(मसाल) का पार्टी सदस्यहरुलाई चलाइएको त्यसप्रकारको कारवाही अभियानले मसाल नेतृत्वको दक्षिणपन्थी संशोधनवादी कार्यदिशालाई अल्पकालीन हिसाबले लागू गर्न त सम्भव होला तर क्रान्तिकारी विचारधाराको गतिलाई रोक्न भने सक्ने छैन ।
चुनावदेखि चुनावसम्मको कार्यक्रम, वर्ग संघर्षलाई सैद्धान्तिक, वैचारिक र व्यवहारिक रुपमै परित्याग, लेनिनवादी सङ्गठनात्मक प्रणालीको गलत प्रयोग र त्यसलाई पार्टी अनुशासनको तरबार बनाएर मसाल नेतृत्वले आज जुन प्रकारको दक्षिणपन्थी छलाङ मारिरहेको छ, त्यसले एकातिर मसालको गौरवशाली इतिहासमा कालो पोत्ने काम गरेको छ भने स्वंयम् मसाल नेतृत्वको विगतको आफ्नै इतिहासको खिल्ली उडाइरहेको छ ।
परिवारवादलाई संस्थागत गर्न पार्टी निर्णयलाई मान्नैपर्छ, त्यो पार्टीको निर्णय हो भन्ने आधारमा जसरी आज पार्टीभित्र परिवारवाद, नातावाद र कृपावादको खेल चलाइएको छ, छलकपटको मट्यांग्रा वर्षाइएको छ, यो एउटा बुर्जुवा राजनीतिक दल भन्दा पनि तल्लो स्तरमा गिरेर गरिएको छ । त्यसको पछिल्लो उदाहरण हो गण्डकी प्रदेशमा चलिरहेको सरकारको समर्थन कि अविश्वासको प्रस्तावमा समर्थन भन्ने विवाद ।
पार्टीले संसद उपयोगको नाममा रजत जयन्ती मनाएर उकालो लाग्दा एउटा बुर्जुवा राजनीतिक दलको स्तर भन्दा पनि तल झरेर संसदीय आहलमा रोमलिएको छ । एक सिट सांसद पद जित्न देशभरका निर्वाचन क्षेत्रहरु छाड्नु, प्रतिक्रियावादी शक्तिहरुसँग पनि मित्रशक्तिहरु सँग जस्तै चुनावी तालमेल गर्नु र पद–प्रतिष्ठाको लागि संसदीय आहाल भित्र चुर्लुम्म डुब्नु वर्तमानको संयोग मात्र होइन, पार्टीमा लामो समयदेखि हुर्कदै आएको संशोधनवादको विस्फोटक परिणाम हो ।
वर्तमान परिस्थिति अत्यन्तै गम्भीर मोडमा उभिएको छ । एकातिर देशको अवस्था चिन्ताजनक छ भने क्रान्तिकारी आन्दोलनमा अभुतपूर्व धक्काहरु लागेका छन् । दक्षिणपन्थी संशोधनवादी थप मजवुत बन्दै जानू र क्रान्तिकारीहरु रक्षात्मक बन्दै जानु गम्भीर चिन्ताको विषय हो । यो अवस्थामा क्रान्तिकारीहरुले ठोस परिस्थितिको ठोस मुल्यांकनका साथ पार्टीको कानुनी वार–बन्देजहरुको घेराहरु तोडेर क्रान्तिकारी विचारधाराको रक्षा र विकास गर्नु अनिवार्य बनेको छ । एउटा क्रान्तिकारी पार्टी सदस्यले त्यसप्रकारको वार–बन्देज तोड्दा क्रान्तिकारी आन्दोलनको भविष्य सुनिश्चित हुन्छ र क्रान्तिकारी कार्यदिशाले गति लिन्छ भने त्यसको लागि त्यार हुनै पर्दछ । नेकपा(मसाल)को गौरवशाली इतिहासको रक्षा, दक्षिणपन्थी संशोधनवादको भण्डाफोर र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा एक कदम अगाडि बढ्नु नै मसाल भित्रका पार्टी सदस्यहरुको वर्तमानको अनिवार्य कार्यभार हो । यो वर्तमानले सुम्पेको जिम्मेवारी हो । यसले क्रान्तिकारी आन्दोलन भविष्यलाई विजयमा पु¥याउनेछ ।