भुकम्प पुनर्निर्माणः ६ वर्षमा ७२ प्रतिशत प्रगति

आदर्श अनलाइन, बागलुङ

बागलुङमा निजी आवास पुनर्निर्माणको काम भुकम्प गएको ६ वर्ष पछि जम्मा ७२ प्रतिशत पुगेको छ । वि.स.२०७२ सालको भुकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार ५ सय ५६ लाभग्राही मध्ये
दुई हजार ४ सय ५२ लाभग्राहीले घर निर्माण गर्न सम्झौता गरेका थिए ।

भुकम्प गएको छ वर्षपछि जिल्लामा हालसम्म एक हजार ७ सय १२ जनाले निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ । उनीहरुले घर निर्माण सम्पन्न पश्चातको अन्तिम किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बगालुङले जनाएको छ ।

बागलुङमा अझै निजी आवास पुननिर्माणको २८ प्रतिशत अर्थात् ७ सय ४० घर निर्माण सम्पन्न गर्न बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो ।

घर निर्माणका लागि सम्झौता गरेका लाभग्राही दुई हजार ४ सय ५२ मध्ये सबैले प्रथम किस्ता वापतको रु.५० हजार लगेका थिए । त्यस पश्चात २ हजार १० लाभग्राहीले दोस्रो किस्ता लगेको पाण्डेले जानकारी दिनुभयो ।

“समग्र जिल्लाको पुनर्निर्माण हेर्दा पछिल्लो समय गति लिएको छ, एकीकृत वस्ती निर्माण, सडक, पुल तथा विद्यालय धमाधम निर्माण भएका छन्” पाण्डेले भन्नुभयो “निजी आवास पुनर्निर्माणले समेत पछिल्लो समयमा गति लिएको भन्दै केही समयमै पुनर्निर्माणको काम अन्तिम चरणमा पु¥याइनेछ ।”

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० दलित परिवारको लागि एकीकृत बस्ती निर्माण गर्ने कार्य सकिएको र उनीहरुको बस्तीमा पूर्वाधार निर्माणको काम अगाडि बढेको पुनर्निर्माण प्राधिकरण बागलुङका इञ्जिनियर विक्रम सापकोटाले जानकारी दिनुभयो ।

पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनर्निर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनर्निर्माणको प्रगति बढेको हो ।

भूकम्पले चर्काएको घर प्रबलिकरण गरेर नयाँ जस्तै घर निर्माण गर्ने सूचिमा परेका बागलुङका १ सय ७१ लाभग्राही मध्ये जम्मा दुई जनाले मात्रै घर प्रबलिकरण गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई बागलुङका अनुसार १ सय ७१ लाभग्राही मध्ये पुनर्निर्माण परिवर्तन गरेका ५० लाभग्राही बाहेक जम्मा ८३ जनाले सम्झौता गरी प्रथम किस्ता लिए पनि जम्मा २ जनाले मात्रै अन्तिम किस्ता लिएका छन् भने ७९ घरहरुले प्रथम किस्ता लगेर प्रवलिकरणमा चासो नदेखाएको इकाई प्रमुख पाण्डेको भनाई छ ।

अलि महँगो र प्राविधिक रूपमा झञ्झट भएकाले प्रबलिकरणमा चासो नदेखाएको लाभग्राही बताउँछन् । प्रबलिकरण गर्न आवश्यक रहेको घर भत्काएर पुनःनिर्माण गर्न खोजेमा पुनर्निर्माण तर्फ रु. तीन लाख अनुदान दिइने व्यवस्था भए पछि ५० जनाले सोही अनुसार काम गरेको र अन्यले प्रबलिकरणमा चासो नदिएका हुन् ।

प्रबलिकरणका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएका कारण पनि लाभग्राही आकर्षित नभएको हुन सक्ने एकाइको अनुमान छ । घर पुनर्निर्माण गर्नका लागि तीन किस्तामा तीन लाख र प्रबलिकरण गर्न दुई किस्तामा एक लाख अनुदान रकम दिइँदै आएको छ ।

पुनर्निर्माण प्राधिकरणले निजी आवाससँगै एकीकृत बस्ती निर्माण, सडक मोटरेबल पुल तथा बौद्ध गुम्बा निर्माण गरिरहेको छ । प्राधिकरणले १७ करोड रुपैयाँको लागतमा बुर्तिवाङ–तमानखोला सडकको १० किलोमिटर सडक ग्राभेल सम्पन्न गरिसकेको छ भने सोही सडकमा दुई वटा पक्की पुल धमाधम निर्माण गरिरहेको छ ।

लुकुरबन र भालुबाङ खोलामा दुई मोटरेबल पुलको ढलान कार्य भइरहेको प्राधिकरण कार्यालयले जनाएको छ । यस्तै, बागलुङ नगरपालिका–११ स्थित रायडाँडामा बौद्ध गुम्बा निर्माण गर्न समेत पुनर्निर्माण प्राधिकरणले काम अगाडि बढाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *