डम्मर बुढा मगर, बागलुङ
बसाइसराइले गाउँ रित्तो हुँदै गएको छ । ७०/८० घरधुरी रहेको गाउँमा अहिले अधिकांश घर रित्तिएका छन् । युवाहरुको विदेश मोह र परिवारलाई सेवा सुविधा सम्पन्न ठाउँमा राख्ने चाहना । जसले गर्दा जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ७ टोकरी गाउँ रित्तो बन्दैछ । अहिले गाउँमा युवाहरु भेट्याउनै मुस्किल पर्छ । गाउँमा वृद्धवृद्धा र बालबालिका अधिक देखिन्छन् ।
सोही गाउँका एक युवा विष्णु थापा । मेहेनती र कर्ममा विश्वास राख्ने थापा गाउँका उम्दा प्रेरक सामाजिक अगुवा समेत हुनुहुन्छ । किनकि गाउँका उहाँका उमेरका दमाली र अधिकांश युवा जापान, कोरिया छन् । कोही अमेरिका र केही साउदी मलेसिया लगायतका मुलकमा छन् । कृषि, पर्यटन र अन्य व्यवसाय गर्नका लागि यो गाउँले निकै सभावना बोकेको छ । तर,उर्वरा भूमि बनमाराले ढाकि सकेको छ ।
गाउँमा यही सम्भावना र आफ्नो सुनौलो भविष्य देखेका थापा गाउँ छोडेर कहिल्यै विदेश जान सक्नु भएन । तीन भाई मध्येका जेठो सन्तान हुनुहुन्छ थापा । उहाँका माहिलो र कान्छो भाई पनि विदेशमै हुनुहुन्छ । माइलो भाई र बुहारी जापान र कान्छो भाई स्पेनमा । उहाँलाई पनि विदेश जाने अफरहरु नआएका भने होइनन् । विदेश जाने थुप्रै अवसर आए पनि गाउँमै स्वाभिमानी भएर बस्ने चाहनाले गर्दा विष्णुलाई विदेशी मोहले कहिल्यै छोएन ।
विष्णु सधैँ आफ्नै पाखापखेरमा र माटोसँग रमाउन चाहनुहुछ । गाउँमै व्यवसाय गर्न र बारी खनिखोस्री गरि जीवनयापन गर्न चाहानुहुन्छ । गाउँमा अरुका बारीहरु बाँझिदै गएकोमा थापा निकै चिन्तित हुनुहुन्छ । उहाँलाई सधै बाल्यकालको याद आउँछ । ‘यो गाउँ कति रमाइलो थियो, यी खेतबारीहरु कति हराभरा हुन्थे, अहिले यस्तो उराठिलो बनेका छन्,’ थापाले भन्नुभयो ‘अब यी खेतबारी पहिलोको जस्तो हराभरा हुन्छ होला कि हुन्नन् होला ?’
विष्णु गाउँमा एकैछिन पनि खाली बस्नुहुन्छ । विहान सबेरै उठेदेखि राति नसुतुञ्जेल सम्म आफ्नै बारीमा काम गरि राख्नुहुन्छ । उहाँले विगत १० वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनु भएको छ । बाख्रा, त्यसका पाठापाठीनै उहाँका साथी जस्तै बनेका छन् अचेल । १० वर्ष अगाडि ३० हजारको लगानीबाट सुरु गरेको बाख्रापालन व्यवसाय अहिले फस्टाउँदै गएको छ ।
विष्णुले सुरुमा ५ वटा माउ बाख्राबाट व्यवसाय सुरु गरेकोमा अहिले उहाँका खोरमा साना ठूला गरी ५० वटा बोका, खसी र पाठापाठीहरु छन् । उहाँले बाख्रापालनलाई व्यवस्थित बनाउन २ लाखको लगानीमा व्यवस्थित खोर समेत बनाउनु भएको छ । गाउँ रित्तिदै गएपनि उहाँलाई बजारको कुनै समस्या छैन । बरु माग अनुसारको उत्पादन गर्न नसकेको थापा बताउनुहुन्छ ।
उहाँका खोरमा १० वटा बोका, खसी ३ वटा, २२ वटा माउ बाख्रा र १५ वटा रहर लाग्दा पाठापाठी छन् । जसका आवाजले रित्तिएको गाउँ सुनसान छैन । यिनै बाख्रापाठा, कृषिमा गरेको कर्मले विष्णुको मनलाई सन्तोष दिएको छ । उहाँलाई बाख्रापालन व्यवसायका लागि घाँस र दानाको समस्या छैन । गाउँ नजिकै जंगल हुँदा थप सहज भएको छ ।
बाख्रा चरिचरनका लागि पर्याप्त जंगलहरु हुँदा बाख्रापाठा पनि सप्रिएका छन् । गाउँका सबै युवाहरु विदेश पलायन भएको हुँदा कामदार पाउन गाह्रो भएको थापाले गुनासो गर्नुहुन्छ । ‘गाउँमा भएका सबै युवाहरु विदेश छन्, गाउँमा त काम गर्न नसक्ने बालबालिका र बुढाबुढी मात्रै छन्,’ उहाँले भन्नुभयो ‘व्यवसाय त जसोतसो चलेको छ, तर अझै व्यस्थित गराउँ भनेको कामदार पाइँदैनन् ।’
व्यवसायमा थापालाई उहाँका श्रीमती रितु थापाले साथ दिँदै आउनुभएको छ । दुबै जनाको कडा मेहनत र लगनशीलताले घर वरपर तरकारी समेत फलेका छन् भने परिवार पनि खुसी साथ चलेको छ । विष्णुको पाँच जनाको परिवार छ । उहाँहरुको एक छोरा र दुई छोरी छन् । उहाँहरुको लालनपालन र पढाई पनि यही व्यवसायबाट चलेको छ ।
विष्णुले गाउँमा सहकार्य गरेर राम्रो व्यवसाय गर्नका लागि कोही नभए युवानै भएको भन्दै आफुले विदेश गएका युवाहरुलाई गाउँमै आकर्षण गर्ने गरि व्यवसाय गर्ने लक्ष्य राख्नु भएको छ । ‘यति राम्रो स्वर्ग जस्तो ठाउँ, यहाँ गरे के हुन्न ?, हामीले मेहेनत गर्नुपर्छ, विदेशमा भन्दा दोब्बर कमाई यही गर्न सक्छौँ,’ उहाँले भन्नुभयो ‘मैले अब विदेश गएका युवाहरुलाई फर्काउने गरि व्यवसाय गर्ने योजना छ, तर बिडम्वना काम गर्ने कामदार पाउन निकै गाह्रो छ ।’
कृषि र पशुपालनमा दख्खल भएका थापाले औपचारिक रुपमा स्नातक तहसम्म अध्ययन गर्नु भएको छ । स्नातक तहसम्मको अध्ययन गरेर कुनै जागिर नखाए पनि थापालाई कुनै गुनासो छैन । किनकी उहाँलाई कुनै परिधीमा बाँधिएर जागिर गर्नभन्दा स्वतन्त्र रुपमा यहीँ व्यवसायमा आनन्द छ ।
उहाँ आफ्नो व्यवसायमा मात्रै होइन, गाउँका सामाजिक कार्यत्रमा पनि सरिक हुनुहुन्छ । गाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि सरोकारवाला निकायसँग विकासका लागि योजना माग गर्ने र पूर्वाधार निर्माणमा लागि रहनु भएको छ । उहाँकी श्रीमती रितु थापाले श्रीमान र आफुलाई जापान जाने थुप्रै अवसर आएको भए पनि विदेश नगई आफ्नै गाउँ ठाउँमै कर्म गरेर बस्ने बताउनुभयो ।
विष्णुका श्रीमती रितुले भन्नुभयो–‘म र श्रीमानलाई जापान जाने धेरै पटक अवसर प्राप्त भएको तर अरुले विदेशमा गरेको दुःख सम्झेर विदेश जाने रहर कहिल्यै पलाएको छैन ।’ ‘हामी श्रीमान र श्रीमती सहकार्य गरेर घरमै बाख्रापालन गरेका छौं,’ उहाँले भन्नुभयो ‘व्यवसाय राम्रो हुँदै गएको छ, बाख्रापालनसँगै अन्य व्यवसाय गर्ने सोचमा छौं ।’
विष्णुले आफू जस्ता युवालाई राज्य पक्षबाट उचित सहयोग हुन नसकेको भन्दै सरकारको सहयोग भए मासुमा आत्म नर्भर बनाउन सक्ने बताउनुहुन्छ । ‘सरकारले हामी जस्तो कृषकलाई धेरै सहयोग गर्नुपर्ने हो तर भने जस्तो सहयोग पाइएको छैन,’ उहाँले भन्नुभयो ‘कृषकलाई त प्रोहोत्सान गर्नुपर्ने हो तर त्यो हाम्रोमा पाइँदैन, जसले गर्दा कृषक निराश हुने र पलायन हुने गरेको अवस्था बिद्यमान छ ।’