‘सभामुख अस्थिरताको गोटी बन्नुभयो, अस्थिरताको कारक बन्नु भो,’ : मुख्यमन्त्री गुरूङ

आदर्श अनलाइन, पोखरा

अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची प्रकाशन गरिसकेपछि पनि सभामुख नेत्रनाथ अधिकारीले १५ वैशाखको प्रदेश सभा बैठक बिचैमा अनिश्चितकालका लागि स्थगित गरेर उनले गलत नजिर स्थापित गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

‘बिनाकारण, बिना औचित्य, बिना सन्दर्भ प्रदेश सरकारलाई हटाउन उहाँहरुले साजिस गर्नुभयो,’ उनले भनेका छन्, ‘एकजना सांसद आएन भनेर सभामुखले संसद रोक्नुभाछ, सांसद आ छ कि आ छैन भन्ने पार्टीको संसदीय दलको काम हो, सभामुखको होइन । एकजना साथी आएन भनेर सभामुखले जे गर्नुभाछ, पक्षपातीपूर्ण कार्य गर्नुभाछ, एउटा पार्टीको कार्यकर्ता भएर काम गर्नुभाछ ।’

यो ढंगले प्रदेश सभा सञ्चालन हुन नसक्ने सभामुखलाई आफूले बताएको पनि मुख्यमन्त्रीले सुनाएका छन् । ‘कसैसँग छलफल नगरिकन पार्टीको निर्देशनमा अनिश्चितकालीन सूचना जारी गरेर हिँड्नुहुन्छ भने म हरेक दिन संसद अवरुद्ध गराउँछु । मेरो एक सांसदलाई अनुपस्थित गराउँछु, अनि सांसद हरायो भनेर निवेदन हाल्छु,’ समाभुखलाई बताएको कुरा मुख्यमन्त्रीले उद्धृत गरेका छन्, ‘तपाईंले अनिश्चितकालीन संसद स्थगित गर्नुपर्छ, होइन भने प्रदेश सभा सञ्चालन गर्ने कुनै नैतिक अधिकार रहन्न ।’

मुख्यमन्त्री गुरुङले अस्थिरता चाहने शक्तिहरुले खेलिरहेको आरोप लगाए । ‘सभामुख अस्थिरताको गोटी बन्नुभयो, अस्थिरताको कारक बन्नु भो,’ उनले भने । आफूले निष्ठापूर्वक काम गरिरहेको मुख्यमन्त्री गुरुङको भनाइ छ । केन्द्रको राजनीतिको सिकार आफू भएको पनि उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *