भगवान भरोसाको अवस्था नआओस्

सम्पादकीय
कोरोनाको दोस्रो लहर सुरु हुँदा फेरि देश भयावह अवस्थामा छ । कोरोना कहर सुरु भएको एक वर्ष लामो समय अवधि व्यतित हुँदा नयाँ भेरियन्ट देखिएसँगै कोरोनाले महामारीको रुप लिने संकेत गरेको छ । भलै कोरोनाको पहिले जस्तो परीक्षण छैन । अहिले लक्षण देखिएका र स्वास्थ्यमा कठीन महुुशुस गरेकाहरुको परीक्षणबाट मात्रै संक्रमण पुष्टि हुने अनुक्रम चलिरहेको छ । यसबाहेक कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन, होम क्वारेन्टिनको स्थानीय स्तरमा व्यवस्था पनि छैन । पहिले जस्तो प्रवेश नाकाहरुमा चेकजाँच र यात्रामा कडाई पनि छैन । मानिसहरु बेप्रवाह हिँड्लु गर्ने क्रम अझै उस्तै छ । यसले महामारीलाई सम्मुखमा निमन्त्रणा गरिरहेको जस्तो आभाष हुन्छ ।

कोरोना भयावह बढ्दै जाने परिदृश्य देखिरहँदा सरकार भने कताकता अलमल र अन्यौलमा देखिन्छ । सरकारले प्रतिगमनकारी कदम चालेको भन्दै विपक्षी दलहरु सत्ता फेरबदलका निम्ति अविश्वासको प्रस्ताव लैजानमा व्यस्त छन् भने सरकार कसरी सत्ता जोगाउने भन्ने ध्याउन्नमा केन्द्रित छ । र सरकारले निसंकोच भन्छ–‘कोरोना संक्रमण अहिले जुन रफ्तारमा बढेको छ, अब यो सरकार र देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्थामा पुग्छ, आफै सचेतता अनपाएर सहयोग गरिदिनुस् ।’ स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहर देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसकिने बताएको छ । एकैदिन देशभर पाँच हजार बढीमा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ । पछिल्लो १७ दिनमा काठमाडौं उपत्यकामा मात्रै संक्रमण झन्डै १२ गुणाले बढेको छ । अब संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा देशको मुख्य राजधानीमा मात्रै होइन, अन्य ठूला सहर र सदरमुकामका अस्पतालहरुमा समेत बेड, आइसियू, अक्सिजन र उपचार पाउने सम्भावना कमजोर बन्दै गएको परिदृश्य देखिएको छ ।

अहिले कोरोना भयावहको जे जस्तो अवस्था र परिस्थिति निम्तिएको छ । यसमा सरकार, सरोकारवाला, नागरिक हामी सबैको धेरथोर भूमिका छ । सरकारले पहिलेदेखि यथेष्ट स्वाथ्य सुरक्षा सचेतता तयारी गरेको भए आज फरक अवस्था पनि बन्न सक्दथ्यो होला । भलै यो सरकारको एकल प्रयासले मात्र नियन्त्रण हुने अवस्था छैन र होइन । कोरोनाका कारण विकसित देशहरु पनि आक्रान्त छन् । यसमा सबै जिम्मेवार बन्न आवश्यक छ । अब अस्पतालहरुलाई जतिसक्दो गम्भीर संक्रमितको सहज उपचार पाउने व्यवस्था गरिनु पर्दछ । यदि अस्पतालमा बेड उपचार नपाएर छटपटिएरै भारतमा जस्तै मर्ने अवस्था आए त्यो दुर्भाग्य हुनेछ । त्यो भनेको भगवान भरोसाको बिडम्बनापूर्ण अवस्था हो, त्यस भन्दा अघि नै सरकारले आफ्ना नागरिकले भरोसा गर्ने व्यवस्था र बातावरण तयार गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *