कोरोनाले आजित व्यावसायी भन्छन्ः ‘उद्योग व्यवसायमा सहुलियतको व्यवस्था गरियोस्’

कोरोना कहरले हर क्षेत्र प्रभावित छ । मानिसहरुको दैनिकी र भविष्य अनिश्चित बन्न थालेको छ । एक वर्ष पुरा भएको कोरोना दोस्रो लहर तिव्रतर गतिमा संक्रमण दर बढ्दा फेरि लकडाउनको बाध्यात्मक विकल्प अपनाउन थालिएको छ । यस्तो बेलामा ब्यापार व्यवसाय कति प्रभावित छ ? कोरोना अघिको व्यापार व्यवसाय के कस्तो थियो ? व्यवसायीले के सोचिरहेका छन् ? अब लगानी र व्यापार के होला ? सरकारले के गर्नुपर्छ ? अब कोरोना संकट सँगै कठीन अवस्थामा रहेको व्यवसायलाई कसरी अघि बढाउन आवश्यक छ ? आदर्शकर्मी साधना पन्तले बागलुङका व्यवसायीलाई यीनै प्रश्न सोध्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

क्रृषिराम गौतम
सञ्चालक
सृष्टि फर्निचर तथा फर्निसिङ उद्योग

लामो समयको लकडाउन पछि अलि अलि चल्न थालेको व्यापार फेरि ठप्प भएका छन् । कोरोनाले गर्दा हामी व्यापारीलाई निकै समस्या भएको छ । यो समय भनेको व्यापार हुने समय पनि हो । विवाह व्रतवन्धका लागि चाहिने सम्पूर्ण फर्निचरका सामानहरु हामीले बिक्री गर्ने गरेका छौ । बैशाख महिना लगनको महिना भएकाले अघिल्लो साल बैशाखमै लकडाउन भएर गर्न नपाएको व्यापार यो साल गरिन्छ कि भन्ने लागेको थियो । तर, अब व्यापार होला जस्तो लागेको छैन ।

कोरोना महामारी भन्दा पहिला व्यापारको सिजनमा दैनिक दुई लाख भन्दा बढी व्यापार हुन्थ्यो । जब कोरोना आयो, घरको भाँडा समेत तिर्न हम्मे हम्मे भएको छ । हामी व्यापारीको समस्या बुझ्ने को नै छ र ? बैंकमा दिन प्रतिदिन ऋणको व्याज खातामा चढेको हुन्छ । कोरोनाको कारण व्यापारमा लकडाउन लाग्दो रहेछ, बैंकको ऋणको व्याजमा लकडाउन नहुने भएकाले हामी व्यापारीहरु निकै मारमा परेको अहिलेको अवस्था छ ।

पसलमा कर्मचारीलाई बिदा दिनुपर्ने अवस्था आईसकेको छ । कोरोनाको दोस्रो लहर आउन साथ व्यापार ५० प्रतिशत घटेको छ । अझ लकडाउन हुने भन्ने हल्ला सुनिएको छ । कोरोना बढेपछि लकडाउन त गर्नुनै पर्ने हुन्छ । सवैभन्दा पहिले मानिसको स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने कुरा राम्रो पनि हो । तर, सरकारले वा सम्वन्धित निकायले पनि दैनिक काम गरेर घर चलाउने व्यापारी, कर्मचारीले कसरी गुजारा गर्ने भन्ने कुरामा पनि त ध्यान जान जरुरी छ । बैंकबाट ऋण लिएर चलाएको व्यवसायलाई एकाएक बन्द गर्दा ऋणको व्याजमा पनि त सहुलियत दिनुपर्ने कुरामा ध्यान जानुपर्ने हुन्छ भन्ने मात्र हामी व्यापारीको गुनासो हो ।

बागलुङको हकमा हेर्ने हो भने अझै पनि केही बिग्रिएको छैन । स्वंयम् हामी नागरिक सचेत बनेर दैनिक आफ्नो कामकाजलाई निरन्तरता दिने, भिडभाड नगर्ने, स्वास्थ्य मापदण्ड अपनाउने र स्थानीय सरकारले जिल्ला प्रवेशमा कडाईका साथ लाग्ने हो भने लकडाउन गर्नुनै पर्छ भन्ने अवस्था नआउन पनि सक्दछ । तर, मानिसहरुले पनि लापरबाही गरेर हिँड्ने र सरोकरवाला निकाय पनि मौन बस्ने हो भने लकडाउनको अवस्था आउन सक्दछ । र त्यसको को प्रत्यक्ष असर हामी व्यापारी र दैनिक काम गरेर आफ्नो घर चलाउने मानिसहरुलाई पर्न जान्छ ।

विदेश श्रेष्ठ
सञ्चालक
धौलागिरी ग्लास हाउस तथा महालक्ष्मी हार्डवयर तथा ग्रील उद्योग

कोरोना महामारीले धेरैजसो व्यापारीलाई प्रत्यक्ष रुपमा असर परे पनि अहिलेको समयमा निर्माण सामाग्रीको व्यवसायलाई त्यति असर गरेको छैन । कोरोनाले अन्य कामहरु बन भएता पनि निर्माणका काम र विकास निर्माणका कामहरु बन्द भएको छैनन् अहिले सम्म । तर, आज मात्र बागलुङको हकमा कुरा गर्दा बागलुङ कोरोना महामारीको उच्च जोखिममा परेको भन्दै टिपर चालकले सामानहरु ढुवानी नगर्ने कुरा गरेको भन्ने पाईएको छ । यस्तो अवस्था आएमा हामी निर्माण सामग्रीका व्यापारीहरुलाई भने असर पर्न सक्दछ ।

गत वर्ष लकडाउन नै भएर केही हद सम्म हाम्रो व्यवसाय पनि प्रभावित भएको थियो । अहिले पनि लामो समय लकडाउन हुने हो भने प्रभाव पर्न सक्दछ । अन्य व्यवसायीलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको हामीले देखिरहेका छौ ।

अहिले कोरोना महामारी निकै तिव्र गतिमा फैलिएको अवस्था छ । त्यसकारण हामी नागरिकहरु स्वंयम सचेत हुन आवश्यक छ । कोरोना महामारीले गर्दा असर त सवै व्यत्तिः र क्षेत्रलाई परेको छ । सम्वन्धित निकायले सजगता अपनाएर कसरी कोरोना संग बच्न सकिन्छ भनेर योजनाबद्ध ढङगाले अगाडी बढ्न अहिलेको अवस्थामा आवश्यक छ ।

ओम प्रकाश गौतम
सञ्चालक
गौतम इलेक्टोनीस

कोरोनाले गर्दा अहिले लगभग ७० प्रतिशत व्यापार घटिसकेको अवस्था छ । कोरोना अहिले बढेकै कारण मानिसहरुको बजारमा भिडभाड कम भएको छ । हामी इलेक्ट्रोनिक्स व्यापारीले अनलाइन मार्फत पनि व्यापार गर्ने भएकाले कहिलेकाही अनलाइनबाट पनि व्यापार राम्रो हुन्छ । तर, अन्य व्यवसाय गरेका व्यवसायीलाई भने कारोनाले चपेटामै पारेको अवस्था छ । लकडाउन पछि चल्न थालेका पसलहरु अहिले सुनसान छन् । लकडाउन हुने भनेर हल्ला चलिरहँदा मानिसहरु गाउँ जाने तयारीमा छन् ।

बागलुङ बजारमा चल्ने भनेको गाउँबाट आएर आफ्ना बालबच्चा पढाउन बजार झरेका मानिसहरुले चल्ने हो । तर, विद्यालय बन्द हुदाँ साथ परिवार सहित मानिसहरु गाउँतिर छिरेको अवस्था भएकाले अहिले व्यापार कम छ । सबै व्यापारीहरु कोरोनाले गर्दा मारमा परेका छन् । ऋण लिएर व्यापार सुरु गरेका मानिसहरु धेरै हुनुहुन्छ । उहाँहरुलाई निकै कठीन समय हो अहिले । घर भाँडा, ऋण लिएको पैसाको व्याज र घर खर्च चलाउनकै लागी कठीन थियो । अहिले झन् लकडाउन हुन लागेको छ । भर्खर सुरु गरेका व्यापारीहरु सडकमा पुग्ने अवस्था नआउला भन्न सकिदैन । त्यस कारणले सम्वन्धित निकायले सबैलाई मध्यनजर गरेर बैज्ञानिक तबरले कोरोना नियन्त्रण गर्ने उपाय अपनाउँदा राम्रो हुनेछ ।

कोरोना बढेको अवस्था छ । यसलाई नियन्त्रण गर्नका लागी हामी सवै लाग्नुपर्ने समय हो । कोरोना बढ्न नदिनका लागी स्वंयम् नागरिक सचेत हुने हो भने लकडाउन पनि गर्न नपर्ला । व्यापारीले पनि आफ्नो पसलमा आएका मानिसहरुलाई स्वास्थ्य सुरक्षाका साथ व्यापार गर्ने, भिडभाड नगर्ने, सामाजिक दुरी कायम गर्ने, माक्स सेनिटाइजर प्रयोग गर्ने, ज्वरो नाप्ने जस्तो सबै खालका विधि अपनाएर व्यापार गर्ने हो भने पनि कोरोना फैलिनबाट रोक्न सकिन्छ । स्वंयम् नागरिक सचेत भएमा कोरोनालाई हामीहरुले परास्त गर्न सक्दछौ भन्ने मलाई लाग्दछ । तर मानिसहरुले लापरबाही गरेको अवस्था भने अहिले पनि बिद्यमान छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *