राम सुवेदी
जस्ता पार्टी, नेता र राजनीति हामीबीच छन्, त्यस्तै राज्य व्यवस्था सञ्चालन हुन्छ् । राजनीतिक दल, त्यसका नेता र नेताले बनाएका नीतिमै खोट पैदा भएपछि गतिलो राज्य व्यवस्थाको भ्रम छर्नु, मिथ्या बकवास मात्र हो ।समाजको अग्रणी पात्र हो नेता । नेता सही पात्र बन्न सक्यो भने यसको पहिलो प्राथमिकता नीति स्पष्ट बनाउने हुन्छ । सही नेता र नीतिको समागमबाट बल्ल सही दिशा निर्दिष्ट हुन्छ ।
सैद्धान्तिक हिसावले, राजनीतिमा नीति र नेतृत्वमा नीतिको सही कार्यान्वयन पक्ष राजनीतिको मुख्य आधार हो । हाम्रो समग्र दृष्टि राजनीतिमा जान्छ । त्यसको नेता गौण जस्ता त्यो भन्दा पनि नेताले गरेका काम कारबाही राजनीति भनेर बुझ्ने कयौं बौद्धिक जमात समाजमा छन् ।
देशमा कम्युनिष्ट पार्टीको एकता र त्यसको जनबलमा व्यवस्था चल्यो । व्यवहारिक र प्राविधिक हिसावले सरकार प्रमुख बन्ने भनेको त्यो पार्टीको नीति अनुसरण गर्ने, त्यही पार्टीले चयन गरेको नेतृत्व राज्य प्रमुख बनाइएको हुन्छ । राजनैतिक नीति सिद्धान्त पार्टीका नेता अनुकुल हुँदैनन् । त्यो त देश र जनता अनुकुलका अर्थात् जनस्वार्थका हुन्छन् । सोही अनुसार नेतृत्वको कार्यशैली निर्माण भएको हुनुपर्दछ । सैद्धान्तिक हिसावले जनताको हित, रक्षा र भावनाको कदर गर्ने अझ भन्दा गरि खाने वर्गको पक्षपोषणमा उत्तरदायी कम्युनिष्ट राज्य सत्ताको मूल ध्येय हुनुपर्दछ । मूल्य, मान्यता, निष्ठाले यही भन्छ ।
यसै अनुरुप जनताले विश्वास गरेको कम्युनिष्ट पार्टीको नेतृत्व र जनमतको जगमा सञ्चालित राज्य व्यवस्था, त्यस राज्यको संवैधानिक प्रावधान त्यो देशको मुख्य नीति हो । यसले आफू अनुकूल ऐन, कानुन र नीतिको व्यवस्था सुनिश्चित गर्छ । त्यसैगरी नीति, राजनीति, पार्टी र नेताको सिमा निर्धारण गर्दछ भन्ने बुझाउँछ ।
नेपालको राजनैतिक परिवेश सिद्धान्तहिन, नैतिकहिन, मूल्य, मान्यताहिन बन्नु, यहाँ भएका नेताले पार्टी र त्यसको दर्शनलाई आफू अनुकुलको परिभाषा गर्ने अनैतिक हैसियत राख्दारहेछन् भन्ने सचेत नागरिकलाई अब थाहा भएको हुनुपर्दछ । अचेतहरु, सिद्धान्त, मूल्य मान्यताको आदर्श भत्काएर व्यक्ति पूजाको आराधाना गर्दा रहेछन् भन्ने तीनका शुभचिन्तकहरुका अनुहार पढे स्पष्ट हुन्छ ।
नेपालको राजनैतिक इतिहासलाई अध्ययन गर्ने हो भने पछि यहाँको प्रजातान्त्रिक राजनीतिक अभ्यास विवादबाट शुरु भएको भेटिन्छ । नेपालमा जहिले पनि त्रिकोणात्मक शक्ति संघर्ष देखा परेको स्पष्ट छ । त्यसमा भारतीय शासन सत्ता जहिले पनि तथाकथित मध्यस्थताका स्थानमा भेटिन्छ । देशमा सही व्यवस्था सञ्चालन गर्ने शासक नेतृत्व नरहनुमा समन्वयकारी शासन पद्धति अगाडि बढाउने नेताको खोजी हुनु स्वाभाविक मानिएला तर आन्तरिक व्यवस्थापनमा बाह्य शक्ति गुहार्नु र त्यसको बलमा देशमा राजकाज गर्नु, मालिकको असल चरित्र भएको एक गोठालो नै हो । जसले आफ्नो आचरण नाटकीय ढंगले अराजक मालिकको जस्तो देखाउँछ र देखाउँदै आएको वर्तमान राजनीति हेरे फरक पर्दैन ।
आजको राजनैतिक अभ्यास हेरौं । पार्टी भनेकै नेता, नेता भनेकै सत्ता, सत्ता भनेकै मनमौजी निर्णय, जनभावनासँग कुनै मतलब नराख्ने, राज्यको साधन स्रोतको नेताबाट ब्रह्मलुट, प्रशासन र राजनैतिक साठगाँठमा भ्रष्ट हुने, यस्तो नेतृत्वको शैली विकास कसरी भयो ? यसको खास कारण सिद्धान्तहिन, भ्रष्ट, अनैतिक गतिविधिको ढाकछोप, मैखाउँ मैलाउँ मनमत्त मनोवृत्ति, समाजमा हिंसा, अराजकता, बेइमानी, घोटाला र अराजनैतिक कार्यकर्ताको भिडबाट सिकार भएको राजनैतिक पार्टीहरुको गतिविधि हो ।
आजको पार्टी नेतृत्वमा राजनीतिक संस्कार अभाव छ, अराजकता छ । त्यसको ज्वलन्त उदाहरण संसदीय पद्धतिका विकृति, विसंगति र अराजनीतिक अपराधहरु हेरे पुग्छ । अपराधकर्मलाई राज्यसँग कन्भर्ट गरिदिने र चोख्याउने पेशा राजनीति भएको छ । विचौलियाको फन्दामा पार्टी नेतृत्वको दयनीय अवस्था देखिन्छ ।
हामीले भनेको, खोजेको र रोजेका मान्छेहरु के हामीले रुचाएको राजनीतिमा रहेछन् होला ? स्वार्थले स्वीकार गरेको आफ्नो राजनीति विभिन्न अशोभनीय दलदलमा फसे पनि बोल्न, लेख्न र भन्न नसक्ने हैसियत राखेर हामीले गरेको समर्थन असली अर्थमा नाजायज नै हो । असल राजनीतिको मूल आधार जनपक्षीय शासन हो । आर्थिक पारदर्शिता, प्रशासनिक सुशासन, जनसमावेशिता र सहभागिता हो । तर, मुलुकमा स्थापित राजनीतिक पार्टीहरु के काम गर्छन् ? हाम्रा नेताका भाषाहरु, कर्महरु कसरी समय अनुकुल परिवर्तित हुँदै जान्छन् भन्ने सवालमा हेक्का नराख्ने पार्टीका समर्थकहरु असली मूर्ति हुन् । जो कँुदिएर राम्रा स्वरुपमा हुन्छन्, हलचल गर्दैनन् ।
पार्टी नेतृत्व सामूहिक निर्णयमा नचल्दा सरकार वा सत्तामा जो स्थापित भए पनि सरकार वा सत्तामा बस्ने नेतृत्व आफू खुशी चल्न चाहने र निरंकूश शैलीको हुँदोरहेछ । त्यसको ज्वलन्त उदाहरण प्रधानमन्त्री ओलीले गर्नुभएको असंबैधानिक कदम हो । जो थाहा पाएर पनि नपाए जसो गरि ओली बा हाई हाई भन्ने राज्नैतिक आचरण कमजोर राजनैतिक बुझाई भएकाहरुको भिड हो । जुन भिड बोकेर मैमत्ता राज्य व्यवस्था चलाउन खोज्नु वा पार्टीमा समेत अनुपर्युक्त स्वभाव दर्शाउनु कालान्तरमा नेतृत्वको अराजक शैली र निरंकुशता हो । यत्ति भन्न नसक्ने समर्थकहरु र त्यहाँका तल्लो ओहोदाका नेतृत्वप्रति आज होइन, भोली पनि अवश्य प्रश्न उठ्नेछ ।
राजनैतिक पार्टी र नेताका सल्लाहकार तथा नेताहरुको संकिर्ण मानसिकताले कस्तो दुर्घटना निम्त्याउँदो रहेछ भन्ने राजनैतिक दुष्टि आजको परिणतिले देखाएको छ । सत्य कुरो लुकाएर असत्यलाई सत्य सावित गर्दै जाने परम्पराले नेपाली राजनीतिक नेतृत्वको चरित्रमा खिया र कालो धब्बा बढ्दै गएको छ । नेपालको एक मात्र होइन प्रायः समग्र पार्र्टी अनुशासन, आचारसंहिता र पद्धतिगत राजनैतिक अभ्यासलाई यसरी नै जोखिममा पार्नु बुद्धिमानी हुनेछैन ।
राज्यका कुनै पनि नीति निर्माण गर्दा विधि, पद्धतिलाई अनुसरण गर्नु आवश्यक हुन्छ । पार्र्टी पद्धतिको राजनीतिमा राजनैतिक पार्टीका शक्तिका मुख्य स्रोत जनताहरु नै हुन्छन् । त्यसकारण नीति निर्माण, कानुन तयारीका विषयमा आन्तरिक पार्टी सांगठनिक तहमा खुला रुपमा बहस गर्नु गराउनु पार्टीका नेताहरुको कर्तव्य र प्रजातान्त्रिक दायित्व हुन सक्नुपर्दछ । नेतृत्व सबै पार्टी तहमा जनतासंग छलफल गराउन डराउनु हुँदैन । तत्कालिन राजनैतिक परिवर्तन वा फेरवदल आएमा कार्यकर्ता वा समर्थकसँग सरसल्लाह र परामर्श विना त्यसका नेताले बनाएका धारणाहरु नै नेतृत्वका हिसावले अप्रजातान्त्रिक र तानाशाही बन्छन् । बिमतिहरु त्यहीबाट पैदा भएका हुन्छन् ।
उदाहरणका लागि नेकपा फुट्नुमा कार्यकर्ताको केही दोष छैन । नेतृत्वले सही छलफल तल्लो तहसम्म चलाएको भए वा पार्टी कार्यकर्ताको राय र मत अनुसार पार्टी चल्ने पद्धतिलाई चलायमान बनाएको भए यस्तो परिणति आउने थिएन होला । त्यत्ति मात्र होईन, छँदाखाँदाको करिव दुई तिहाई बहुमत सहितको राज्य व्यवस्था नीति, पद्धति र कम्युनिष्ट पार्टीको मूल्य मान्यता दर्शन अनुसार सञ्चालन गरिदिएको भए बुर्जुवा व्यवस्था जस्तो सत्ता स्वार्थले भुईभरी छताछुल्ल हुने गरि बेइज्जतिको हिमायती हुनु पर्दैनथ्यो होला । त्यो पछि पनि जनभावना र जनाधार भएको एमाले अहिले जुन हालतमा मरेर जिउँदो हुँ भनेको छ । त्यो सबै नेतृत्वदायी क्षमतामा देखिएको कैफियतको कर्तव्य मुद्धाको जञ्जिरमा जगडिएको छ ।
दलहरुका साझा राजनीतिक प्रतिबद्धता चाहिन्छ । त्यसो नभएर हामीकहाँ राज्यपक्ष र प्रतिपक्ष दुवै थरीले सरोकारवाला जनतालाई धम्काउने, राजनैतिक स्वार्थ केन्द्रित प्रवृत्तिबाट नागरिक शिकार हुनु परेको छ । केही निहित स्वार्थी पदाधिकारीको स्वर्गको राज सिर्जना भएको होला तर राजनैतिक नेता तथा पार्टी पद्धति माथि नै दुर्घटना तर्फ उन्मुख हुने खतरा उत्तिकै बढेर गएको छ ।
राजनैतिक वृत्तमा सानो भए पनि राम्रै छवि बोकेको राष्ट्रिय जनमोर्चा लामो समयसम्मको कार्यनैतिक पथ संसदीय खेलबाट गण्डकी प्रदेशमा अनेकन प्रश्नहरुको चाँङ माथि उभिएको छ । यहाँ नेतृत्वको निर्णयमा त्रुटि देखिन्छ । संविधान विपरितको कदम उठाएर केन्द्रमा केपी ओली संसद विघटन गरे पश्चात भिन्न मत राखेको राष्ट्रिय जनमोर्चाले त्यसको समर्थक सरकार लुम्बीनी प्रदेश र गण्डकी प्रदेशमा समर्थन कायम राख्नुको औचित्य पुष्टि त्यसवेला नै थिएन । जतिवेला केन्द्रमा राजमोले दिएको समर्थन फिर्ता लिएको थियो, त्यस बखत सबै प्रदेशमा समर्थन फिर्ता गर्ने र सरकारमा नजाने निर्णय एकैसाथ नगर्नु, संसदीय व्यवस्थामा ढुलमूले नीति थियो र हो । त्यसवेला सत्ता ढाल्ने र राख्ने खेलमा राजमो जाँदैन भन्ने तर्क अहिले एकाएक फेरबदल हुनु, तल्लो तहमा भएका कार्यकर्तामा मात्र होइन, नेतृत्व तहमा समेत असन्तोष पैदा गर्ने अस्वभाविक प्रतिक्रिया र बालहठ निर्णय हो । यसको परिणामले आज अनेकन आशंकाहरु प्रति फेस सेभिङ गर्नुपर्ने अर्को परिस्थिति सिर्जना भएको छ ।
राजनैतिक पद्धतिले नै नेता, नीति, राजनैतिक पार्टीहरु सुदृढ हुने हुन् । जस्ता पार्टी, नेता र राजनीति हामीबीच छन्, त्यस्तै राज्य व्यवस्था सञ्चालन हुन्छ् । राजनीतिक दल, त्यसका नेता र नेताले बनाएका नीतिमै खोट पैदा भएपछि गतिलो राज्य व्यवस्थाको भ्रम छर्नु, मिथ्या बकवास मात्र हो ।
पहिलो राजनैतिक पारदर्शिता चाहिन्छ । सफा र सदाचारी नेतृत्वलाई राजनीतिमा ल्याउन सक्नुपर्दछ । साथमा नीति स्पष्ट हुनु पर्दछ । जसको कार्यान्वयन प्रष्ट भएको हुनुपर्दछ । तब मात्र त्यो राजनैतिक नेताका आचरण अनुसार देशको कार्यकारिणी, न्यायपालिका, व्यवस्थापिका र संवैधानिक आयोगमा फरक–फरक जनशक्तिले उपर्युक्त वातावरणमा न्यायिक राज्य व्यवस्था सञ्चालन गर्न सक्दछ ।