लकडाउनसँगै नियन्त्रणको अपरिहार्य कदम

सम्पादकीय
कोरोना झन् भन्दा झन् जटिल संकटको रुपमा आएको छ । मानव सभ्यताकै कठीन संकटको रुपमा विश्वव्यापी रुपमा देखिएको कोरोनाले फेरि महामारीको रुप लिन थालेको छ । जसका कारण दैनिक संक्रमण दर मात्र होइन, मृत्यु दर समेत बढिरहेको छ । आइतवार मात्रै २४ घण्टाको अन्तरालमा गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भयो । होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो । देशव्यापी कोरोनाको संक्रमण र मृत्यदर हेर्दा पनि अवस्था कहाली लाग्दो बन्ने संकेत देखिन थालेको छ ।

गत वर्ष पहिलो लहरको कोरोना संक्रमण सुरु हुँदा बढिजसो ज्येष्ठ नागरिक प्रभावित थिए । अहिले युवादेखि बालबालिका सम्म कोरोना संक्रमण र अकालमै मृत्युवरणको सिकार बनिरहेका छन् । यस सकसपूर्ण घडीमा यो देशका केन्द्र र प्रदेश सरकार आफै अस्थिरताका भूमरीमा फसेका छन् । र सत्ता जोगाउने र गिराउने खेलमा देशका नेताहरु बिना लज्जाबोध मैदान उत्रिएका छन् । जसका कारण कोरोना महामारी फैलिँदो क्रममा छ, सहर र समुदायमा अस्तव्यस्तता छ । कोरोना रोकथाम, उपचार र नियन्त्रणका पहल र प्रयासहरु निकै फितला देखिएका छन् । नेपालका पाँचौ र छैठौं संक्रमित बेहोरेको बागलुङमा पनि कोरोना संक्रमण बढ्दो छ । अहिले सम्म कोरोनाकै कारण १३ जनाले ज्यान गुमाइसकेका छन् । शनिवार मात्रै जिल्लाको जैमिनीका २८ वर्षिय युवाले कोभिडकै कारण ज्यान गुमाएका छन् ।

संक्रमण र मृत्यु दर समेत बढ्दा पनि सरकार र सरोकारवालाको तयारी चुस्त छैन । नागरिक पनि कोरोनासँग संवेदनशील सचेत देखिदैनन् । जसका कारणले जोखिम बढेको छ । पछिल्लो एक साताको संक्रमित संख्या हेर्दा १ सय हाराहारीमा देखिन्छ । तर, भित्रै भित्रै लक्षण देखिएर पनि परीक्षण नगर्ने, घरमै बस्ने संख्या पनि ठुलो भएको अनुमान छ । अर्को तर्फ संक्रमित भएकाहरु धेरै मानिसको सम्पर्कमा भएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई बढी देखिएको छ । संक्रमण जोखिम बढे पछि बागलुङ उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालयलाई एक हप्ता लकडाउन गर्न अनुरोध गरिसकेको छ । त्यसैले अब लकडाउन गर्न ढिला नगरौं । तर, यो लकडाउनका बेला स्थानीय सरकार, सरोकारवालाले थप कोरोना जोखिम रोकथाम, उपचार र नियन्त्रणका लागि यथेष्ट तयारी गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *